कार्यकर्ता होइन, नागरिक भएर सोच्नुपर्छ – नत्र रैती भइन्छ !

विकाश रोकामगर

घान्द्रुकको चिसोमा थिएँ । पातलो लुगामा उकालो उक्लिएकाले हातखुट्टा ठिँहि¥याइरहेको थियो । धन्न यसपालि हिउँदमा हिमालहरु कालै थिए र पो !


फेसबुक स्क्रोल गर्दै थिएँ । एक्कासि आँखा सञ्जिव उप्रेती र नारायण वाग्लेमा पुगेर रोक्कियो । कोही प्रहरीको पञ्जामा थिए, कोही पानीको फोहोराभित्र । क्याप्सन पढें – शान्तिपूर्ण नागरिक आन्दोलनमा प्रहरी दमन !


डरपोक शासकको जत्थाले आफ्नो कमजोरी लुकाउन हतियार प्रयोग गरेको थियो । त्यो व्यक्तिमाथिको दमनमात्रै थिएन, सत्यमाथिको तानाशाही प्रवृत्तिको दमन थियो । 


हिमालको नजिक उभिएको छु भन्ने पनि बिर्सिएँ – आवेगले नजिकै आगो बलेझैं शरीर तातो भएर आयो ।


०००


गाला चाउरिसकेको छ । कपालमा सेतै हिउँफुल फुलिसकेको छ । तर, पनि उस्तै जोशजाँगरले सडकमा उत्रिएका छन्, अग्ला नान दाइ, डा केसी, कुन्साङ काकाहरु ...


उहाँहरुका अघि हामी युवा निर्जाँगर सेलाइसकेका रहेछौं । 


यत्रो संविधानमाथि ’कु’ भइरहेको छ । म के गरिहेछु त ? फेसबुकमा स्टाटस ? ट्विटरमा ट्विट ? एउटा मैमत्त जोकर शासकलाई घुँडा टेकाउन म बबुरोको एउटा स्टाटसले काम गर्ला ? 


साह्रै आत्तिएँ । मनमा बेचैनी भरिएर आयो । बाहिर गएँ, भित्र आएँ । त्यही क्रमउपक्रम दोहो¥याइरहेँ । घान्द्रुकको रसरमाइलोभन्दा पनि मनमा प्रिय लेखकहरुमाथि प्रहरीले गरेको दमन दृश्यमात्रै आँखामा नाच्न आइरहेको थियो ।

 

राजनीतिदेखि बेखबर साथीहरुसँग थिएँ, त्यहाँ । एक जना नजिकका दाइलाई भनें, ‘नान दाइ, सञ्जिव दाइहरुको टोलीले त प्रहरीले कुटेछ नि ! हाम्रै उमेरका एकजना निर्ग नवीन भन्ने साथीको त झनै टाउकै फुटाएछन् ।’


केही सकारात्मक ढाडस चाहन्थें ती दाइबाट । तर, अर्कै जवाफ पाएँ ।


‘वाग्लेहरु को हुन् र ? उनीहरु पनि पैसा खाएरै समाचार लेख्ने हुन् । पैसा खाएरै सडकमा उत्रेका हुन् ।’

म चकिताम्म चुप भएँ । 


कोठामा फर्किएर प्रकृति बस्नेत भट्टराईले नेपाल लिटरेचर फेस्टिभल र विभिन्न सञ्चारमाध्यममा युवाहरु किन राजनीतिमा रुचि राख्नुपर्छ भनेर राखेका विचारहरु हेरें । सुनें ।


पोखरा फर्किएर फेरि अर्का दाइसँग फेरि त्यही प्रसंग उप्काएँ । 


फेरि तीतै जवाफ पाएँ – ‘नान वाग्ले आफू सम्पादक हुँदा के ग¥याथ्यो र ? कान्तिपुरमा एक वर्ष पनि नतिकेर गया होइन ? अहिले सडकमा चिच्याएर के हुन्छ ?


दोस्रो पटक चकिताम्म चुप भएँ ।


०००


प्रतिगमनविरुद्ध देश उर्लिरहेकोबेला पोखरा चुप थियो । बरु यहीबेला विभिन्न राजनीतिक दलले आफ्नो सभा गरेर गए । पोखरेलीले नागरिक भएर होइन, कार्यकर्ता भएर ताली पिटे ।


विभाजित नेकपाका दुवै समूह आयो । दुवैले ‘नेकपा, सूर्य हाम्रै हो’ ठोकेर गए । विधि, विधान, कानुन कसैले प्रसंग उप्काएनन् । पोखरेली फेरि नागरिक भएर होइन, कार्यकर्ता भएर ताली पिटे ।


नेकपाकै एउटाले खेमाले त झन् ‘प्रदेश सभा’ हलमै आम सभा ग¥यो । राज्य कोष, सम्पत्तिको दुरुपयोग भइरहँदा पनि कोही बोलेनन् । श्री ५ बडामहाराजधिराजलाई ‘तिमी’ सम्बोधन गर्ने ‘विभिन्न पेशा व्यवसायमा आवद्ध पत्रकार’हरु त्यहाँ भने स्वर्ग पुगे । नर्क पुगेनन्, किनकी उनीहरु त्यहाँ रिपोर्टिङमा गएकाहरुले प्रदेश सभा हलमा कुनै अमुक पार्टीले पार्टी कार्यकर्ता भेला गरिरहेको देखेनन् ।


त्यहाँ उनीहरु नागरिक भएर होइन, पत्रकार भएर होइन – कार्यकर्ता भएर ताली पिटे ।


जलवायु परिवर्तनले हो कि खै के ले हो ? यसपालि पोखराबाट देखिने हिमालमा हिउँ देखिएनन् । दृश्यहरु चिसिए पछि पोखरा पनि चिसै रह्यो । प्रगिगमनविरुद्ध तातिएन ।


तर, त्यहीबेला उठे – सुदर्शन पौडेल, हेमन्त पहारीहरु ।


रातको करिब साढे १० बजेतिरको समयमा सुदर्शनले म्यासेज पठायो – हौ बड्डा ।


लगत्तै एउटा लामो म्यासेज पठायो । लेखिएको थियो – प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलन पोखरा । प्रेस विज्ञप्ति ।


‘थोरै भाषा हेर्दिनू न !’ सुदर्शनको यो म्यासेज आउँदासम्म म विज्ञप्तिमै आँखा डुलाइरहेको थिएँ । उत्ति नै खेर फेरि हेमन्त पहारीले पनि उही म्यासेज गरे ।


गर्वले छात्ती फुल्यो । युवाहरुमा राजनीति प्रति वितृष्णा भो सोचेको, होइन रहेछ । साथीहरु अझै शसक्त ढंगमा आलोचनात्मक वैचारिक चेतसहित उभिएको पाएँ । उमेर भर्खर पहिलो बीसको सुरुआतमा रमाइरहेका उनीहरुले प्रतिगमनविरुद्ध उभिनेमात्रै छनौं, नेतृत्व गर्न तयार छौं भन्नु सानो मजाकको विषय थिएन । 


शनिबार (माघ १७) महेद्रपुलमा रहेको सहिद भीमसेन दाहालको सालिक अघि उभिएर प्रश्न नै ग¥यो – ‘४६ सालमा बाजे पुस्ता पञ्चायतविरुद्ध लडे, ६२÷६३ मा बा पुस्ताहरु राजाविरुद्ध लडे । अब त शान्ति पायौं भन्नेबेला नाति पुस्ता उही कुराका लागि फेरि सडकमा उत्रनु परेको छ । कहिलेसम्म लडिरहनुपर्ने हो ?’


थाहा छैन जवाफ कसले दिने हो ? कहाँ पाइने हो ? कहिले पाउने हो ?


०००


केही मूर्ख साथीहरु पनि छन्, जसलाई प्रतिगमनको विरोध गरे नेकपाकै प्रतिगमनविरुद्ध उभिएको समूहको पक्ष भइन्छ भन्ने डर छ । राजनीतिप्रति अरुचि भएका उनीहरुको तर्क छ – आखिर जो आए पनि उस्तै त हो । सबैले खाने त हुन् !


हो, अहिलेको नागरिक आन्दोलनले सयमा ७० प्रतिशत प्रचण्डमाधव समूहलाई बल पुग्ला । होला, उनीहरु हाम्रै आन्दोलनको सहारामा सत्तामा पुग्लान् । तर, हामी कसैका लागि होइन, हाम्रै लागि सडकमा उत्रेका हौं भन्ने स्पष्ट हुनुपर्छ ।

यो आन्दोलन सत्ताप्राप्तिका लागि होइन । संविधान, विधि, विधानको स्थिरताका लागि हो । हजारौं जनताको लाशमाथि टेकेर बल्लबल्ल टेकेर आइपुगेको यो संविधान एउटा कुनै अमुक व्यक्तिको इशारामा चल्ने हुनुहुँदैन । हामी त्यसैको सुरक्षा र नजीरका लागि आन्दोलनमा हौं भन्ने बुझ्नुपर्छ । 


एउटा आवाज बन्द भए, अर्को आवाज सुनिन्छ । आवाजको श्रृंखला त्यतिबेलासम्म बन्द हुँदैन, जतिबेलासम्म हामी चाहँदैनौं ।


योबेला भनेको ‘आखिर जो आए पनि उस्तै त हो । सबैले खाने त हुन् !’ भनेर दुविधामा अल्झेर बस्ने समय पक्कै होइन । हाम्रा दरसन्तानको अघि आजको यो समयको जवाफदेही हामी नै हौं । भोलि हाम्रा सन्तानले हाम्रा मुखमा थुक्नुअघि आजै शासकको मैमत्त विधिलाई खबरदारी गर्न सक्छौं ।


लोकतन्त्र साह्र्रै संवेदनशील कुरा हो । हजार वर्ष लडेर एक पटक ल्याइन्छ । दुई दिन नबित्दै शासककै कारण लोकतन्त्र खतरामा पर्छ । लोकतन्त्र ल्याउनमात्रै होइन, यसलाई बचाउन पनि उत्तिकै संघर्ष जरुरी छ । 


यो अहिलेको लडाइँ एउटा अमुक पार्टीलाई शासक बनाउन होइन, लोकतनन्त्र बचाउन हो । संविधान बचाउन हो । विधि, व्यवस्था बचाउन हो । यसमा कुनै दुविधा पाल्नु हुँदैन ।


अर्को समूह आउँछ भन्छ ः काम गर्न नपाए’सि ताजा जनादेशमा जानुको विकल्प हुँदैन ।


यो भन्दा कायरपूर्ण, हास्यास्पद तर्क अर्को हुनै सक्दैन । संसदीय व्यवस्थामा जित्ने भनेकै बहुमतले हो । त्यसो हुँदा कहिलेकाहीं राम्रा कुरा पनि अल्पमतमा पर्छन् नै । 


यही व्यवस्थालाई स्वीकार गरेर संसदमा जाने हो । आफू अल्पमतमा परेपछि हार स्वीकार्न जानुपर्छ । यतिबेला हार स्वीकारको प्रसंग राजीनामा हो, विघटन होइन । यो हुनु भनेको विधि, पद्धति र व्यवस्था माथिको धोका हो । 


मेरो सामान्य दिमागले यही भन्छ ।


केही साथीहरु एउटा ‘चोर’लाई बचाउन योयो, त्योत्यो कारण चोर्नु प¥यो फलाक्दै चोरलाई सज्जन कहलाउन लागिपरेका छन् । जुनसुकै हजार तर्क अघि उभ्याएपनि चोरको आखिर चोर नै हुन्छ ।


प्रतिगमनका छोराछोरीले

प्रतिगमनलाई प्रतिगमन भन्दैनन्,

बा भन्छन् ।

– कवि अर्जुन पराजुली


Comments

Popular posts from this blog

‘भाडाका गर्लफ्रेन्ड’

आँखा र आँखा हस्पिटल