कुची, क्यानभास, कला र उनीहरु
![]() |
२ दिदीबहिनीसँगै चित्र कोर्दै |
(समाधान दैनिक र नेपाल लाइभमा प्रकाशित)
पोखरा
ज्योति गुरुङ । उनलाई चित्र मन पथ्र्यो बनाउँथिन् पनि । तर चित्रमै लाग्छु भन्ने सोच भने थिएन । बिबिएस पढ्थिन् । उनलाई लाग्थ्यो – भविष्यमा कुनै बैंकको घुम्ने कुर्चीमा बसेर जागिर गर्दै हुनेछु ।
...
हेमाकान्ति भने सानैदेखि चित्रमा रुचि राख्थिन् । साथीहरु पनि चित्र बनाउँथे । भविष्यमा के बन्ने ? भन्ने प्रश्नमा कोही ‘डाक्टर’ भन्थे त कोही ‘पाइलट’ । उनी एक्ली थिइन् ‘चित्रकलामा नै लाग्छु’ भन्ने । उनले चित्रकलालाई यति प्रेम गरिन् कि ‘त्यो भइनँ भने के भन्छु होला ?’को उत्तर कहिले खोज्नतिर लागिनन् ।
...
पोखरा महेन्द्रपुलबाट पूर्वीदक्षिण बाटोको सानो गल्लीमा छिरेर केही मिनेट हिडेपछि बाहिर ‘बुद्धिज् एटेलिएर’ लेखेको सेतो घर छ । घरमा भित्र छिरेर जब पहिलो कोठामा छिरिन्छ – सबै भन्दा पहिले नजर क्यानभासमा पोतिएका चित्रमा ठोकिन्छ । अमुर्त चित्र छन् । यसैयसै मन बहलाउने चित्रैचित्रको कोठा छ । त्यो घर हो– पोखरालाई ‘स्कुल अफ वाटर कलर’को रुपमा चिनाउन सफल कलाकार बुद्धि गुरुङको ।
कोठाको भूईंमा छरिएका थिए । रंगाउँदारंगाउँदै पोखिएका रँग । ती रंग नयाँ बिहान पर्खेर उड्न लागेका चरा जस्ता थिए – आकर्षक । कलाकारको हातबाट भूँईं झरेको रंगपनि चित्रै बन्दोरहेछ । त्यो कोठामा चित्रैचित्रको सुभास थियो । सम्मोहान थियो । सायद यहाँ प्रथम पटक पुग्ने जो कोही लाई पनि कुनै भव्य ‘चित्रकलाको स्वर्ग’ पुगेझैं आभास हुन्छ ।
यो त्यही घर पनि हो जहाँ परिवार नै कुचीमा रमाउँछन् । ‘कलाकार बन्न सक्नु कसैको विचार र मस्तिष्कसँग खेल्न सक्नु पनि रहेछ,’ गुरुङ परिवारले त्यो कला जानेको छ । बाबु बुद्धि गुरुङ सबैभन्दा पाका चित्रकार हुन् त्यो घरका । त्यसपछि पालो आउँछ उनका तीन छोरीका हेमाकान्ती, ज्योती र कृति गुरुङ । आमा सद्भाव र प्रेमको चित्र कोर्छिन् ।
...
सानोमा बाबाले चित्र बनाएको हेर्दाहेर्दै कति बेला रंगसँग माया बस्यो थाहा भएन उनीहरुलाई । रंगसँगै अविजित प्रेम गरे । हातमा कुची समाएर रंगसँग खेल्न थाले सानै उमेरदेखि । विद्यालयमा हुने चित्रकला प्रतियोगिताहरुमा भाग लिए । लगाव बढ्दै गयो । झुकाव गहिरियो । बुवाले बेलाबेलामा चलाउने वर्कसपमा सहभागी हुन आउने महिला कलाकारसँग उनीहरुको चिनजान भयो । सम्बन्धको कुची चलिरह्यो । यतिबेलासम्म उनीहरु राम्रो चित्र बनाउने सक्ने भइसकेका थिए ।
पंक्तिकार उनको घरमा पुग्दा बुद्धि आफ्नै क्यानभास वरिपरि थिए । २ छोरी आफ्नै कोठामा । परिवारकी जेठी छोरी कृति अध्ययनका लागि जापान छिन् । कृतिकै अनुपस्थिति खड्कियो । कुराकानीका क्रममा २ बहिनीले कलाकारितामा आउँदाताका पुराना दिन सम्झिए ।
उनीहरुका अनुसार सानोमसँगै चित्र कारेका साथिहरु हराइगए । तर ३ बहिनीका लागि यसरी क्यानभासमा पानी परेर चित्रको अनुहार हराए जसरी साथीहरु हराउनुको कुराले दुख्थ्यो । उनीहरु सोच्थे, ‘बरु सँगै सहकार्य गरेर पोखरेली नारी कलालाई बाहिर चिनाउन पाए हुन्थ्यो ।’ कुची रंग र क्यानभासको दुनियाँ नै सबथोक लाग्ने उनीहरुको सोचमा चित्र कोर्ने र पोखरालाई बाहिर चिनाउने मात्र थियो ।
चित्रकला केहो त ? प्रश्नको जवाफमा हेमकान्ति एकछिन हाँसेर भन्छिन्, ‘डिप्रेसन होस् या ह्यापिनेस् दुबैलाई पोख्न सकिने एउटा बाटो हो, पाटो हो ।’ उनले चित्रकलामा कुनै रोकतोक नहुने र स्वतन्त्र हुन पाउनाले नै आफूलाई यो विधा प्रिय लागेको बताइन् ।
‘अनि तपाईंको विचारमा ?’ यो प्रश्न तेर्सिएको थियो ज्योतिलाई । अलिक शान्त पारामा भनिन्, ‘दिल दिमाग र सोचको कुरालाई ‘एक्सप्रेस’ गर्ने अन्तिम एउटा ठेगाना नै चित्रकला हो । चित्रको फिलिङ्समा डुब्न चित्रकार हुनु जरुरी छैन ।’
सुरुताका महिला कलाकार कम हुनु र पुरुषसँगै काम गर्नु उपलब्धि र चुनौती दुबै थियो । सिनियर सबै पुरुष सोच हाबी भएका हुन्थे । चित्रकला प्रर्दशनी होस् या तालिम पुरुषहरुले महिलालाई हेर्ने दृष्टिकोणमा विस्तारै नकारात्मक पाउन थाले उनीहरुले । कला र कलाकारिता नबुझेको यो सहरलाई ‘नारीले पनि केही गर्न सक्षम छन्’ भन्नु सजिलो थियो । तर गर्न गाह्रो । गरेर देखाउनु थियो ।
‘महिला चित्रकलालाई अघि बढाउन संगठनको जरुरत थियो,’ हेमकान्तिले भनिन्, ‘क्यानभासमा रंग पोतेर मात्र हुँदैन । रंगहरुले महिलाको पक्षमा पनि वकालत गर्नुपर्छ ।’
र उनीहरुले खोले ‘सिर्जनशील कलाकार समूह ।’ समूहकै अग्रसरतामा पहिलो पटक ३ बहिनीले पोखरामा चित्रकला प्रदर्शनी गरे– ‘थ्री सिस्टर्स आर्ट एक्सिबिसन’को नाममा । ‘महिला चित्रकला त्यो पनि एउटै परिवारको ३ जना दिदीबहिनी एउटै मञ्चमा चित्रकला प्रदर्शन गर्दा सबै अचम्म परेका थिए,’ ज्योतीले सुनाइन् ।
‘फ्यामिली’ परिवारको जन्म
ती तीन बहिनीलाई पोखराका महिला कलाकार अझै एकीकृत गर्नुपर्छ भन्ने भान भयो । र सबै पोखरेली महिला कलाकार जम्मा गरेर खोले ‘पोखरा वुमेन आर्टिस्ट फ्यामिली ।’
३ बहिनी सँगसँगै अलिता गुरुङ, मीना गुरुङ, लिना गुरुङ, सोफिया गुरुङ, ओसुवा गुरुङ, अलिता गुरुङ, क्यान्डी इयोङ वेङ सान पनि सामेल भए । साँच्चिकै एउटा राम्रो परिवार भयो । महिला कलाकारलाई नै लक्षित गरेर पोखरामा खुलेको यो संस्था पहिलो थियो ।
फ्यामिलीले पोखरा र काठमाडौंमा बेलाबेलामा चित्रकला प्रदर्शनी तथा तालिम सञ्चालन गर्दै आइरहेको छ । प्रकृति नै सुन्दर चित्र जस्तो लाग्ने पोखरा सहरमा आर्टिस्ट फ्यामिलीले क्यानभासमा प्रकृति उतार्ने कामको थालनी गरेको हो ४ वर्षअघि । फ्यामिलीले ‘नेपालको मुहार’ शीर्षकमा चित्रकला प्रर्दशनी गरेर पोखराको नारी कला क्षेत्रमा उपस्थित जनायो । १
० जनाबाट सुरु भएको फ्यामिलीमा अहिले ४ जना थप भएका छन् । सबैलाई कलाका माध्यमबाट १ गराउने काम फ्यामिलीले गर्दै आइरहेको छ । त्यसैगरी फ्यामिलीले सन् २०१४ बाट २०१८ सम्मको लागि ‘कल्चर एक्सचेञ्च आर्ट वर्कसप’ अभियान चलाइरहेको छ । जसबाट प्रत्येक वर्ष उल्लेख्य मात्रामा राम्रा कलाकारको जन्म भइरहेको छ । रंग कुची र क्यानभासमा जीवनको रंगीन चित्र कोर्दैछन् ।
त्यसो त बाबाआमाबाट कलाकारितामा प्रेरणा र प्रोत्साहन पाएका उनीहरुलाई संस्थागत रुपमा लाग्नुपर्छ भन्ने ज्ञान ‘वुमेन आर्टिस्ट ग्रुप अफ नेपाल’ले दिएको हो । काठमाडौैंबाट आउने राष्ट्रियस्तरका कलाकारसँग भेट पनि यही ग्रुपले जुराइदिएको हो । वरिष्ठ महिला कलाकार रागिनी उपाध्यायसँगको सहकार्यमा पाटनमा भएको चित्रकला प्रदर्शनी अविस्मरणीय उनीहरुको लागि । सोचेको भन्दा बढी दर्शकको उपस्थिति र राम्रो प्रतिक्रिया अहिले पनि सम्झन्छन् । समाज आधुनिक युगमा प्रवेश गरेको ढोङ देखाए पनि नारी माथि हेर्ने समाजको दृष्टि नफेरिएकोमा दुवै जनाले गुनासो गरे ।
रुची÷अभिरुची
हेमकान्ति अहिले पनि रोजाइकै क्षेत्रमा छिन् । बगरको एक निजी स्कुलमा ‘आर्ट टिचर’को रुपमा काम गर्छिन् । रंगहरुको समीपमा रम्न पाउँदा उनलाई खुशी लाग्छ । ‘कसैले डिस्टर्ब नगरिदिए हुन्थ्यो झैं लाग्छ,’ उनी भन्छिन् । त्यसैले घरमा चित्र कोर्दा पनि आ–आफ्नै धुनमा हुन्छन् ।
एकले अर्कालाई बाधा नपु¥याउने अदृश्य सहमति जस्तै छ । गीत सुन्न र नाच्न मन पराउने उनी कुनै बेला नाच कक्षामा पनि जान्थिन् तर चित्रकला जस्तो प्रेम भने नृत्यसँग भएन । उनी फर्किएर आर्टमै एकचित्त भइन् । हरर थ्रिलर उपन्यास उनको मुख्य मन पर्ने अध्ययन विधा हो । रंग बाहेक उनलाई थप नयाँ नयाँ कुरा सिक्न पनि खुब मजा लाग्छ । चित्र बनाउँदा रोमान्टिक पर्पल र गाढा नीलो रंग प्रयोग गर्न रुचाउँछिन् ।
खाली समयमा युट्युबमा घन्टौं झुम्मिने उनको बानीले नै उनलाई फरक बनाएको उनी भन्छिन् । कोरियन, डच, जर्मन, हिन्दी भाषामा दख्खल राख्ने उनले यी भाषाहरु फिल्म हेरेर सिकेकी हुन् । नेपाली आर्ट विधालाई विश्वमा चिनाउने लक्ष्य राखेकी हेमकान्ति अहिले पोखरेली युवा सांस्कृतिक परिवारको कला संयोजक हुन् ।
उसो त ज्योति पनि आर्ट टिचर नै हुन् । मन्टेसरीमा ससाना नानीहरुलाई जीवनको रंगको कला सिकाउँदा सिकाउँदै दिन बितेको पत्तो पाउँदिनन् उनी ।
ससाना बच्चाहरुको हातमा कुची र रंग पोतिएको दृश्य उनलाई सबैभन्दा प्रिय लाग्छ । पोखरामा फाइन आर्ट कलेज नभएको बेला पनि बाबानै आफ्नो लागि विश्वविद्यालय भएको बताउँछिन् उनी । स्कुलमा पढ्दा एउटा चित्रकला प्रतियोगितामा भाग लिइन् । दिदी कृति प्रथम र आफू द्वितीय भएकी थिइन् ।
कला र कलासँग सम्बन्धित विभिन्न समूह तथा संघसंस्थासंग आबद्ध उनी अबको बाँकी समय पनि कलाकारिता मै बिताउने सोचेकी छिन् । वाटर कलर उनको पहिलो रोजाइमा पर्छ । उनी भन्छिन्, ‘मलाई वाटर कलरमा बढी खुलेको महसुस हुन्छ ।’
पढाइको सन्दर्भमा भने लामो हाँस्दै किताब हे¥यो कि निद्रा लाग्ने बताइन् । तर हाल एकजना पोखरेली श्रष्टाकै कृति पढिरहेकी उनको मन त्यसैले तानेको छ ।
....
कलाको माध्ययमबाट पोखरालाई चिनाइरहेका यी २ बहिनी कलाकारलाई भनेसरकारी तवरबाट हालसम्म कुनै सहयोग नपाएको बताउँछन् । ‘बेलामौकामा आउने प्रायोजकको सहयोग र आफ्नै लगानीले नै वर्कसप र प्रदर्शनी गरिरहेका छौं,’ उनीहरुले भने ।
अर्काइभ
Comments
Post a Comment