स्कुले ग्याङको कुरा..



लामालामा स्टाटसका पत्यारलाग्दा दृश्यहरुबाट भागेर म ट्विटरमा छिरेँ । ३÷४ सय साथीले पछ्याएका छन् । तर, त्यही रमाइलो लाग्छ । अरुका जस्तो लाखौं फलोइङ हुँदो हो त २४ घन्टालाई बढाएर २५ बनाइसक्दो हुँ ।

धेरै दिनपछि फेसबुकमा झुल्किँदा ‘नोटिफिकेसन’ मा एउटा म्यासेज देखा प¥यो – यु ह्याब मेमोरिज् विथ्..... ।

फेसबुकले अचेल पुराना दिनहरु फिर्ता ल्याउन सहयोग गर्छ । बितिगएका दिनहरु निर्जीव उभिन्छन् । तर, उनीहरुले बोकेर ल्याएका सम्झनाहरु सजीव उभिन्छन् – कतै दुखाउँछन्, कतै हसाउँछन् । नोस्टाल्जिक बनाउँछन् ।

चाहे काँडा कै किन नहोस्, हिँडी आएको बाटोले त हो गन्तव्यसम्म पु¥याउने । विगतीय सम्झना पनि त त्यस्तै हुँदा रै’छन् । स्क्रोल गर्दागर्दै टक्क रोकिएर भन्न मन लाग्छ – ती क्या दिन थिए यार ! 

फेसबुकले ७ वर्षअघिको समयमा फर्कायो  !

एसएलसी दिने बेला समय थियो त्यो । उच्छृंखलै भए पनि सरकारी स्कुलका ‘जान्ने’ विद्यार्थी भएपछि ‘सात खुन माफ’ हुन्थ्यो । मस्ताराम उदाइरहेका जवानीमा हराइरहेका हामीले त्यो अवसर छोड्ने कुरै थिएन । ग्याङ बुनेर हिँड्थ्यौं । ग्याङकै सल्लाहमा बन्थ्यो – कसलाई कुट्ने ? कुन मास्टरसँग ‘ल्याङ’ गर्ने, कुन मास्टरको कक्षा हाप्ने ?

घरदेखि स्कुल, स्कुलदेखि घर यात्रा चहारेका हामीलाई बाह्य संसार थाहा हुने कुरै भएन । त्यही स्कुलको रेखांकनभित्र बिताएका दैनिकी नै त हो अहिले हामीले सम्झिने ! आकासे नीलो सर्ट, गाढा निलो पाइन्ट – सरकारी स्कुलको राष्ट्रिय पोशाक ।

झोलाभरि किताब बोकेर सायदै गइयो होला स्कुल । सरकारी स्कुलको विद्यार्थी । हातमा केही किताब, सर्टको टाँक खुल्लै । स्कुले पोशाक पनि कमै लगाइयो । कलमको नाममा साथीले दान दिएमात्रै त हो ।

एसएलसी दिने बेलामा स्कुलमा टाईबेल्ट आइपुग्यो । कसैले कहिल्यै नलगाएका हामीलाई ‘बाँदरको हातमा नरिवल’ झैं थियो त्यो । घाँटीमा टाई, खुट्टामा चप्पल कथा त सामान्य भइगए ।

संगीतको खुब ठूला फ्यान थियौं । प्रायः नोकियाको १ जिबी ¥यामवाला ट्वाकट्वाके मोबाइल हुन्थ्यो । नजिकैको मोबाइल पसलमा प्रतिगीत ३ रुपैयाँका दरले गीत भरिदिन्थ्यो । बाठो थियौं – एउटाले गीत भर्ने अनि साराका सारा साथीको ब्लुटुथबाट सेयर गर्दै बस्ने ।

त्यतिबेला एकन, इमिनेम, टु पाक, भुमिया, योयो हनी सिंह, लाउरे, यमबुद्धहरु खुब चलेका थिए । हिन्दी फिल्म रावनमा एकनले छम्मकचल्लो गाएपछि एकाएक झनै फ्यान भइएथ्यो । अंग्रेजी नबुझ्ने, त्यही पनि फुल भोल्युममा सुन्दै, सुनाउँदै हिँडेपछि त थेप्चा नाक पनि किलो मिटर भइजान्थ्यो । 

फेसबुकको चर्चा भर्खर उकालो लाग्न सुरु हुँदै थियो । 

फेसबुकमा अनेकन तस्वीर राख्थे टाढा सहरका साथीहरु । जसलाई देख्यो उसलाई साथीत्व आग्रह पठाउँदा १०÷१२ देशका साथी भइसकेका थिए । पछि कसरी छुटिए थाहा छैन । तिनै साथीहरुबाट हामी बल्ल फेसन नक्कल गर्न सुरु ग¥यौं ।

खुट्टामा कन्भर्स, प्यारेलल पाइन्ट । कन्भर्सको टुना पनि फरक फरक रङको चाहिन्थ्यो । एउटा कालो, अर्को सेतो – ब्ल्याक एन्ड ह्वाइट बनाएका रे !

फोटो त्यतिबेलाको पोज भनेकै कि इमो कि पंक खाल्को थियो । 

ग्याङ पनि त्यही अनुसार बन्थ्यो । आँखा छोप्ने गरी केही लामो कपाल पालेर ठाडो पार्दै हिँडे पंक, ओरालो लगाएर एउटा आँखा छोप्दै हिँडे इमो । दुवै खुट्टालाई बांगो बनाएर घोप्टो परेर खिचेपछि इमो भइन्थ्यो । खै किन हो फोटो पनि अचाक्ली सुन्दर आयो झैं लाग्ने । (अहिले हाँसो लाग्छ, त्यो फरक कुरा हो ।)

पंक ग्याङ गजेडी ग्याङ हुन्थ्यो । पढाइमा कमजोर, हल्लाखल्लामा रुचि राख्ने । मुखमा गुटका, हातमा चुरोट उडाउँदै स्कुल आउनेको ग्याङ नै त थियो – पंक ग्याङ । 

हामी स्कुलको इमो ग्याङमा थियौं ।

इमो ग्याङका साथीहरुलाई सम्झिन चाहें – मनोज, केशव, तारा, शुशिल, चुर्ण, लक्ष्मण, सीमा, चित्रा, संगीता.......

हैट् बड्डा कडा ...

Comments

Popular posts from this blog

‘भाडाका गर्लफ्रेन्ड’

कार्यकर्ता होइन, नागरिक भएर सोच्नुपर्छ – नत्र रैती भइन्छ !

आँखा र आँखा हस्पिटल