साउन १ – ‘बयलघारी’ सम्झना..




मेरो बिहे हुने नै भो । दुलाहाको भेषमा सजिने नै भएँ ।


तुलसी बोट छेउको आँगनमा मण्डप तयार भो । साथीभाइको आउजाउ बढ्यो । छिमेकीहरु रमाउँदै हाम्रो बिहेमा आए । बाहिर उनीहरुको हल्ला सुरु भइसकेको थियो । भित्र म दुलाहाको भेषमा तयार हुँदै थिएँ ।

टाउकोमा ढाका टोपी लगाएँ । मैलिएकै सही कपडाले आफू अनुकुल सुहाउने गरी मिलाएँ । मुख धोएँ र लागें मण्डपतिर । बाहुन बाजे आफ्नै धुनमा खै के मन्त्र फलाक्दै थिए । दुलही आइहाली ।

रातो सारी, रातै घुम्तो । हरिया चुरापोते बजाउँदै मेरो छेउमा आएर बसिन् । लजाउँदै उनीतिर हेरें, एक्कासी लाज उर्लेर आयो । ध्यानले हेरें उनी पनि लाजले रातो भएकी थिइन् । सधैंको खेल्ने साथी थियौं ऊ र म । तर, आज बिहे नै हुन लाग्दा किन यसरी लजाइरहेछौं ? थाहा थिएन ।

म मण्डपलाई खै कति घुम्ती हो (याद छैन) घुमेर उसको सिउँदोमा सिन्दुर लगाइदिएँ । बिहेबारी सकियो । जन्त, पाहुनालाई तरकारी र खिर खुवाएर बिदाबारी भइयो ।

त्यसपछि ऊ आफूले लगाएको सारी उतारी । हरियै रङको कुर्थामा उत्रिई । मसँग त्यसरी फेर्ननलाई केही थिएन । टाउकाको छिमेकी बस्नेत बाजेले दिएको ढाका टोपी फकालें ।

र, हामी आआफ्ना घरघर लाग्यौं ।

त्यतिबेला डाँडामाथि पुगेर घाम अस्ताउने तर्खरमा थियो । सिमसिम पानीमा खेतबारीमा खेतालाहरु मेलो सक्ने ध्याउन्न मै थिए । झमक्क साँझ परेपछि छिमेकमा (जहाँ हामीजस्तै बिहे गर्ने अरु पनि थिए)को घरमा नाचगान सुरु भयो ।

यो ६३ साल साउन १ गतेको कुरा हो ।

०००

दाङतिर यसलाई ‘बयलघारी’ भन्छन् । यसमा रित पुराएरै बिहे गर्ने खेल खेल्नुपर्छ । नेवारी समुदायको बेलविवाहजस्तो ! तर, यहाँ बेहुला बेल हुँदैन, बेहुला मान्छे नै हुन्छ ।

साउन १ गते मनाइने यो प्रचलन अरु ठाउँमा छ या छैन थाहा छैन । तर, हामी बसेको ठाउँमा अचाक्ली थियो । हातभरि मेहेन्दी, हरियो पोशाक लगाएर साउनको स्वागत गर्थे महिलाहरु । चाहे ती साना हुन् या ठूला उमेरका । साउन अर्थात हरियो मौसम ।

गाउँका मन मिल्ने ६÷७ जनाको समूह बनाएर बयलघारी खेल्थ्यौं । बिहे भोजका रुपमा खिर पकाउँथ्यौं । त्यही खिर हामी आफैं र आएका दर्शकलाई थोरै थोरै पुग्ने गरी खुवाउँथ्यौं ।

त्यतिबेला दूध १० रुपैयाँ प्रति मानो थियो ।

२० रुपैयाँको दूध, केही चिनीपानी उमाल्यो कि मीठो खिर तयार भइसक्थ्यो । अरु के चाहियो त्यो बालसुलभ हृदयमा त्यसरी रमाइलो गर्न पाउनुभन्दा पर ... ?

खिर कसले पकाउने ? दूध कहाँबाट ल्याउने ? चिनी कसले ल्याउने ? दुलाहादुलही को बन्ने ?

यी यावत ‘प्लान’हरु एकहप्ता अगावै भइसक्थे । टाढाको स्कुल थियो । करिब एक घन्टाको बाटो तताएपछि स्कुलको दर्शन गर्न पाइन्थ्यो । त्यही एक घन्टे यात्रामा तयार हुन्थे हाम्रा योजनाहरु ।

त्यही एक घन्टे यात्रामा रिसाउँथ्यौं, खुसाउँथ्यौं, झर्किन्थ्यौं, मिल्थ्यौं । खासमा त्यो यात्रा बाटोको मात्रै थिएन । जीवन सिकाइको यात्रा थियो । हामीले बाटामा हिँड्दै गर्दा धेरै कुरा सिक्यौं ।

०००

को थिई बेहुली ? अहिले ठ्याक्कै याद छैन । किनकी प्रत्येक त्यसरी नै मनाउँथ्यौ । म कम्तिमा ४ पटक बेहुला भएँ हुँला । ४ पटक नयाँ बेहुली आए । प्रत्येक पटकमा बेहुली उमेर घट्दै घट्दै जान्थ्यो ।

सुरुमा मसँग बेहुली बनेकी साथी अर्को वर्ष बेहुली पाइनँ । मलाई छुकछुक भइरह्यो । उमेर बढ्दै गएपछि परिवारले रोक लगाएको रै’छ । अब उसको भाँडाकुटी खेल्ने उमेर कहाँ रह्यो ? यसरी प्रत्येक बयलघारीमा नयाँ नयाँ बेहुली पाएँ ।

म पुरुष हुनुको फाइदाले प्रत्येक वर्ष एउटै मण्डपमा थरिथरि बिहे गरिरहें । केटी साथीहरु बढ्दै गरको उमेरले अनुभव सिकाएन । बरु बन्धन भइदियो ।

केही वर्षमै पहिलो पटक मसँग बेहुली साथीले बिहे गरी । सायद त्यतिबेला ऊ जम्मा १४ या १५ वर्षकी हुँदी हो । बयलघारीमा मसँग नक्कली बेहुली साथी साँच्चिकै कि बेहुली भई । त्यसबेला पनि उसको आँखामा हेरेको थिएँ – अब उसको आँखा लज्जा थिएन । डरले रातो भएको थियो ।

डोली अन्माइसकेपछि मसँग जस्तै ऊ बेहुली भेष बद्लेर फेरि घरकै बाटो फर्किइन । घर घर रहेन । अर्काले टाउकोको सानो धर्कामा २ चिम्टी सिन्दुर लगाइदिएकै भरमा घर तत्काल माइतीमा फेरियो ।

अब फर्किन उसँग आफ्नो घर बाँकी रहेन । अर्काको घर आफ्नो बन्यो र आफ्नो पराई....

०००

प्रत्येक वर्ष बाटो नबिराई साउन १ गते टुप्लुक्क आइपुग्छ । प्रत्येक पटक नै म बाल्यकाल सम्झन्छु । ती साथीहरु, ती भाँडाकुटी, ती प्रेमिल सम्बन्धहरुको स्वप्निल कोलाज... म केवल सम्झनमात्र सक्छु ।

अहिले पनि साउन १ गते आएको छ । मलाई पूरापूर थाहा छ अहिलेका केटाकेटीलाई बयलघारी खेल्ने, दुलाहादुलही चुन्ने, खिर पकाउने, खुवाउने र सम्बन्धको नवीकरण गर्नेमा ध्यान छैन ।

अब उनीहरु प्रविधिमा माथि माथि पुगिसके । हातमा स्मार्टफोन समाएर उनीहरु डिजिटल दुनियाँमा छन् । रौनक र मजाको परिभाषा पनि उनीहरुले बदलिसके होलान् । उनीहरु त्यसैमा खुसी छन् ।

तर, दुखी त मात्रै रहेछु – प्रत्येक पटक त्यही साउन १ जस्ता कयौं सम्झनाका गल्छेंडाहरुमा अल्झिरहेको एउटा पात्र । तिनै बाल्यस्मृतिको भूमरीमा आफूलाई यसरी घुसारेको छु कि अब सायद म चाहेर पनि त्यहाँबाट बाहिर निस्किन सक्दिनँ होला । सोच्छु – निस्कन पनि नपरोस् ।

यो भूmठको सहरमा झूठ र धोकाका सम्झना राखेर पनि के हिँड्नु ? यी सम्झनाहरु पनि के सम्झना ?

०००

धेरै पछि साथीले फेसबुकमा साथीत्वको आग्रह पठाएकी छे । वास्तविक दुनियाँमा हामी साथी नै छौं । तर, प्रविधिको दुनियाँमा फेरि नयाँ साथी बन्यौं ।

उमेरले २१÷२२ तर, हेर्दा ३०÷३२ कि भइछे । प्रोफाइलमा छोराछोरीसहितको फोटो राखेकी छे । वालमा गएँ भखैरै नयाँ फोटो हालेकी रहिछे – श्रीमानसँगको भिडियो च्याट ।

‘बयलघारी खेलेको याद छ ?’ सुरुमै म्यासेज लेखेकी छे । एक्कासी १४÷१५ वर्ष अघि फर्किएँ । आँखामा जम्मैजम्मै यादहरुको किरिङमिरिङ बादल लाग्यो । तर, म उसलाई म्योसेज रिप्लाई गरेको छैन ।

बरु, ती सम्झनाहरु बटुलेर ब्लग लेख्न बसेको छु........

विकाश रोकामगर

Comments

Popular posts from this blog

‘भाडाका गर्लफ्रेन्ड’

कार्यकर्ता होइन, नागरिक भएर सोच्नुपर्छ – नत्र रैती भइन्छ !

आँखा र आँखा हस्पिटल