आकाश गड्गडाउँदै भइरहेछ वर्षात

चैतको सुरुआती समय हो, यो । घाम निधारमै आएर ताप दिने मौसम । तर, यो वर्ष त्यस्तो केही छैन । अझै चिसो हटिसकेको छैन । गर्मी पूरै सुरु भइसकेको छैन । ‘बिहान, साँझ जाडो । दिउँसो गर्मी,’ यही दुवैको बीचमा ‘अबस्ट्रयाक्ट’मा हिजोआजको समय ।

तर, आकाश गड्गडाउँदै भइरहेछ वर्षात ।

झ्यालको पर्दा आधा उघारेको छु । आधा खुलेको झ्यालबाट देखिन्छ कालो आकाश । र, मेघ गर्जनसहित परिरहेको पानी । झ्यालबाट भित्र पस्ने बतासले बिस्तारै हल्लाइरहेको छ पर्दालाई ।

मानौ दृश्य यस्तो भइदिएको छ कि पानीले अनौंठो संगीत गुन्गुनाइरहेको छ । पर्दा त्यही संगीतमा नाचिरहेको छ छम्मक.....छम्मक ..... ।

वसन्त ऋतुको सुरुआती मौसम पनि हो यो । सरदमा झरेका बोटविरुवाका नांगा हाँगामा पलाइरहेको छ हरियो पालुवा । ध्यान केन्द्रित गरेर हेरिहेछु हावाको मसिनो झोंकामा हल्लिरहेका ती पातहरुलाई । यस्तो लाग्दैछ, पात झरेर सुख्खा निर्र्जीवजस्तो भएको रुखमा केवल पातमात्रै पलाइरहेको छैन ।

त्यसले त सिकाइरहेको छ हरेक असफलता पछिको एउटा सफलता । एउटा जीवन । हरेद दुखपछि आउने सुखको अनुहार । आँशुपछिको मुस्कान । पलाइरहेको पातले देखाइरहेछ हजार सम्भावनाका बाटाहरु । मानौ देखाइरहेछ – आशाको नयाँ उडान... ।

तर, आकाश गड्गडाउँदै भइरहेछ वर्षात ।

बन्द कोठामा छु म । हातमा ल्यापटप छ । र मष्तिष्कमा छन्, हजार प्रसंगअप्रसंगका चिच्याइका हल्लाहरु । सम्झनाहरु । यादहरु । केही उत्तर पनि छन् । केही प्रश्न पनि छन् । खाली छु, तर, भरिएको छु ।

बाँकी अब पोखिन त हो ।

उसो त कहिल्यै ‘मन पर्ने’ मौसमको बुँदामा ‘पानी परिरहेको’ कहिल्यै परेन । सायद कहिल्यै पर्ने पनि छैन । पानी परिरहेको मौसम मन पराउने, भिझ्न मन पराउने गरी उतिसारो ‘रोमान्टिक’ रोमान्टिक पनि छैन म ।

बर्षाती समय मन नपर्नुको एउटा कारण डर पनि हो । जब पानी पर्न थाल्छ मनमा एकप्रकारको डर बास माग्न आइपुग्छ । थाहा छैन – बर्षात र यो डरबीच खै के फरक छ ! तर, यत्ति थाहा छ – पानी पर्दा मलाई डर लाग्छ । गड्याङगुडुङसँग डर लाग्छ । बिजुली चम्किँदा होश उड्छ ।

मलाई मन पर्छ त पानी परिसकेको मौसम । खुल्ला आकास । चिसो बतास । सेताम्मे देखिने बादल र प्रष्ट देखिने आकासको निलो रङ । जब उज्यालिन्छ मौसम तब न मनमा ऊर्जा मिल्ने हो ।

तर, आकाश गड्गडाउँदै भइरहेछ वर्षात ।

र, मलाई यो मौसम मन परिरहेको छैन । मनमा एकतमास उर्लिरहछ बेचैनीको भेल । अकारण छट्पटाएजस्तो गरिरहेछ हृदय । चुपचाप छु । तर, मनमा हजार कुरा खेलिरहेछन् । यहीबेला याद आइरहेछ – गाउँमा विरामी आमा । सन्तान पर्खिबसेको उनको निर्दोष आँखा । पदचाप पर्खिबसेको आँगन । न्यानो स्पर्श पर्खिबसेको उही आफ्नै अँध्यारो कोठो ।

मैलाई पर्खिबसेको तमामतमाम सम्झनाका बहीखाताहरु ....

अकारण टाढा भएकी प्रेमिका । अपूरा कवितांश । लेख्दालेख्दै बिर्सिएका गीति अन्तरा । कहींकतै राख्न खोज्दैखोज्दै पनि बिर्सिगएका, हराइगएका केही सम्झनयोग्य पल । बालापन । साथी सब्बैसब्बैको याद एकैचोटी हुदयमा बर्सिरहेको छ । सकुशल छु तर, बेस्मारी रगताम्मय घाइते पनि छु ।

मानौं शरीरका प्रत्येक भागबाट अनवरत बगिरहेछ रगत । रगतसँगै बिस्तारै बगिरहेछ जीवन । र, म मर्दछु बिस्तारैबिस्तारै .......

शरीर बन्द कोठामा किबोर्डमा औंला नचाउँदै बसिरहेको छ । तर, मन उडेर घरी समयको वल्लो किनार पुग्छ, घरी पल्लो किनार । म यहीं छु – तर भागिरहेको आफ्नै बेचैनी मनलाई समाउन दौडिरहेछु ।

रात परिसकेको छैन । तर, मौसमले रातको आभाष दिलाइसकेको छ । किनकी यहाँ वर्षात भइरहेछ ।

बर्षात हुँदा कहाँ पानीमात्रै बर्संदो रहेछ र ?

विकास रोकामगर

Comments

Popular posts from this blog

‘भाडाका गर्लफ्रेन्ड’

कार्यकर्ता होइन, नागरिक भएर सोच्नुपर्छ – नत्र रैती भइन्छ !

आँखा र आँखा हस्पिटल