बालापन सम्झिएर....


दाङमा हाम्रो घर छेउ ठूलो चौर थियो । त्यही चौर बालबालिकाको खेलमैदानदेखि गाइवस्तु टहलाउने एउटा राम्रो ठाउँ पनि बनेको थियो । त्यही चौरको पूर्वी कुनामा ४ वटा ठूलाठूला खाल्डा थिए । जसको आकार लाम्चो थियो ।
त्यही खाल्डो वरिपरि बालापन एउटा सुनौलो समय बित्यो । कहिले लुकामारी त कहिले चोरपुलिस । हामी केटाकेटी जे बन्न चाहन्थ्यौं खाल्डो त्यहीत्यही बन्थ्यो । ठूलो वरपीपलको छहारीमा भएकाले त्यो खाल्डोमा गर्मीयाममा पनि खास्सै समस्या पर्थेन । केको लागि खनिएको थियो त्यो खाल्डो ? थाहा थिएन ।

तर, ठूला मान्छे भन्थे, ‘त्यो खाल्डो बंकर हो ।’

बंकरको अर्थ खाल्डो नै थियो हाम्रो लागि । त्यसका अनेक अर्थ खोज्नु हाम्रा लागि स्वाभाविक नै थिएन । हप्तादिनको पर्खाइपछि घुमेर आएको एउटा शनिबारमा रमाइलो गर्ने एउटा राम्रो हाम्रो ‘घर’ थियो त्यो । जहाँ दर्जन जतिको संख्यामा जम्मा भएर रमाइलो गथ्र्यौं ।

पछिपछि त्यो खाल्डो पुरियो । घर ठडिए । हाम्रो खेल्ने ठाउँ स¥यो । तर, सरेको नयाँ ठाउँमा त्यो खाल्डोमा जत्तिको मजा कहीं कतै पनि आएन ।

धेरैधेरै वर्षपछि थाहा पाएँ, त्यो खाल्डो माओवादीले जनयुद्धताका खनेका रहेछन् ।

आइतबार दिन सबैको अनुहार निन्याउँरो देखिन्थ्यो । ती निन्याउरा अनुहारमध्ये एउटा अनुहार मेरो पनि हुन्थ्यो । शनिबारे बिदाको त्यो रौनकले हिर्काइरहेको मष्तिष्कमा स्कुले कक्षा लिन आउनुपर्दा कम्ता महाभारत हुन्थेन हामीलाई । तर, त्यही आइतबार शनिबारको समय तालिका सिकाएर जान्थ्यो ।

हप्तादिन कुरेपछि शनिबार आउँछ । त्यही शनिबार झिसमिसे उज्यालोमै हातमा गुच्चा, चुंगी लिएर साथीका घरघरमा पुग्थ्यौं । अरु दिन थाहा छैन । तर, शनिबारको दिन एउटा प्रतियोगिता नै चल्थ्यो, ‘को छिटो उठ्छ, त्यही खेलमा अगुवा हुन्छ ।’

बालापनमा हामीले हाम्रो अगुवा÷नेता छिटो उठ्ने जाँगरिलो साथीलाई चुन्थ्यौं । जो चुनिन्थ्यो उसले दिनभरि हाम्रो खेलमा अगुवा भएर खेल्थ्यो । अगुवा साथीलाई अगुवा हुनुको फाइदा पनि हुन्थ्यो कि ऊ प्रत्येक खेलमा पहिलो स्थानमै खेल्न पाउने र बिगारे दोस्रो पटक ‘चान्स’ पाउने । अगुवालाई हामीले अघोषित शक्ति दिएका हुन्थ्यौं ।

०००

भित्री मधेशमा पर्ने दाङ । गर्मीमा अचाक्ली गर्मी र जाडोमा अचाक्ली जाडो । मौसम अनुसार हाम्रो खेल हुन्थ्यो । गर्मी याममा गुच्चा, चुंगी, पोस्टरकार्ड खेल्थ्यौं । जाडोमा कबड्डी र चोर पुलिस् या यस्तै यस्तै ।

जब अहिले म गाउँ फर्किन्छु – चोरपुलिस खेल दिमागमा ताजा भएर आउँछ । एउटा गोलाकार रेखा वा सानो खाल्डोमा हाम्रा जुत्ताचप्पल राख्थ्यौं । अगुवा साथीलाई त्यही रेखाभित्र राख्थ्यौं र चोर्न तम्सन्थ्यौं । चोर्दा फलाक्थ्यौं, ‘राजाको घरमा चोर पस्यो रे......।’

साथी राजा भएर हाम्रा चप्पलको सुरक्षा गथ्र्यो । तर, चोर भइसकेका हामी आफ्नै चप्पल उसको चंगुलबाट निकाल्न खोज्थ्यौं । चप्पल निकाल्दा उसले जसलाई छोयो त्यही अर्को राजा हुन्थ्यो र चोरहरुको सामना गर्नुपथ्र्यो । खेलको नियमै त्यही थियो ।

पछिपछि हातमा हात मिलाउँदै गोलो घेरा लगाएर अर्का खेल खेल्न थाल्यौं । गोलो घेराभित्र एकजना साथी हुन्थ्यो । बाहिर गोलाकार उभिएका हामीहरु सुनाउँथ्यौं, ‘यत्तियत्ति पानी बम्बै रानी... ।’

त्यतिबेला रेडियो र पत्रपत्रिका बम्बैमा बेचिने महिलाको कथा धेरै आउँथ्यो । साथीसँग मनका कुरादेखि लिएर स्थानीय एफएम रेडियोले पनि बम्बैकै कथा सुनाउँथे । हामीले खेलमा बम्बै प्रयोग ग¥यौं ।

 तर, यो पनि धेरैपछि थाहा भयो, ‘बम्बै रानी होइन, गंगा रानी पो रहेछ !’

त्यो बालापनमा आउने शनिबारको छुट्टै रौनक हुन्थ्यो । ननिको मन लिएर नुहाउनु पर्ने, सरकारी स्कुलका विद्यार्थी हामी । ‘होमक’ हुन्थेन । शनिबार भनेकै डुल्न र घुम्नकै लागि त हुन्थ्यो । प्रचण्ड गर्मी होस् या उस्तै जाडो कुनै फरक पर्थेन ।

भन्छन् नि, ‘केटाकेटीको जाडो बाख्राले खान्छ ।’ जाडोमात्रै होइन, गर्मी पनि अरु कसैले ने खाइदिँदो रहेछ ।

पढाइका कुरा हाम्रा दिमाग त्यसरी बसे÷बसेनन् थाहा छैन । तर, स्कुलको भित्तामा टाँगिएको पात्रोमा देखिने रातो अक्षरको शनिबार सधैं बस्यो । घर नजिकैको स्कुल र स्कुलको ठूलो प्रांगण हाम्रै लागि त थियो । शनिबारे छुट्टि मनाउनेहरुकै लागि त थियो ।

शनिबार बजार या शहरतिर उतै बसेर पढ्न गएका साथीहरु आउँथे । बजारमा व्यापार गर्न गएका छिमेकी आउँथे । प्रत्येक शुक्रबार उनीहरु आउँदा हामी केटाकेटी झुम्मिन पुग्थ्यौं । उनीहरु हामीलाई बजारदेखि ल्याएका कोशेली दिन्थे । शनिबार गाउँमा चाडपर्व जत्तिक्कै सुन्दर हुन्थ्यो । हप्तापछि भेटिएका आँखाहरु पनि वर्षौंपछि भेटिएका जसरी माया साट्थे ।

०००

गाउँ छोडेको करिब ६ वर्षपछि केही समयअघि फेरि गाउँ फर्किएँ । आकासबाट घाम पश्चिमी डाँडो हिँड्न थालेपछि बाहिर त्यही चौरमा निस्किएँ, जहाँ मेरा बालापनका कलिला पाउका छाप छोडिएका थिए । त्यहाँ उस्तै रौनकमा झुम्मिरहेका केटाकेटी थिएनन् ।

उहिले हामीले एकै ठाउँमा खेल्दाखेल्दै घाँस नै सुकाइदिन्थ्यौं । हिँड्दाहिँड्दै आफ्नै नयाँ बाटो बनाइदिन्थ्यौं । तर, अहिले त्यस्ता कुनै छाप देखिनँ । हामी खेलका ठाउँमा घास उम्रिएछ । आफैं सुकेछ । अब त्यो नयाँ पालुवाको पर्खाइमा थियो ।

सायद यही वसन्त ऋतुमा फेरि हरियो बन्नेछ ।

केटाकेटी अहिले गाउँमा नभएका भने होइनन् रहेछ । हातहातमा स्मार्टमोबाइल बोकेर आआफ्नै कोठामा संसार बसाल्दैछन् । उहिले हामीले प्रकृतिसँग खेलको चोरपुलिस अहिले उनीहरु ‘पब्जी’मा खेल्छन् । उहिले हामीले खेलको पोस्टरकार्ड उनीहरु अहिले स्मार्ट फोनकै ‘तीनपत्ती’मा खेल्छन् । उहिले हामीले खेलको गंगा रानी खेल उनीहरु अहिले युट्युबमा खेल्छन् ।

उहिले हामीले लड्दै, लड्दै साथी बन्थ्यौं । अहिले उनीहरु सामाजिक सञ्जालमा साथी बन्छन्, र लड्दै बस्छन् । उहिले हामी लोडसेडिङ भुलाउन साथी बनाउँथ्यौं । अहिले उनीहरु वाईफाईको पासवर्ड बाँड्न साथी बन्छन् ।

समयको घोडा कति चाँडै दौडेको ?

पोखरा फर्किएपछि आभास गरें – अहो ! मेरो त बालापन छैन । अबका शनिबार पनि व्यस्त हुनुपर्छ । जिन्दगी भनेको त बालापनमा हुँदो रहेछ । गइसक्छ बल्ल बुझ्न थाल्छौं । अबका शनिबार पनि उहिले बालापनमा जस्तो ‘मजा’ बोकेर आउँदैनन् ।

लाग्दैछ, सहरमा म व्यस्त होइन, अस्तव्यस्त बाँचिरहेछु ........................

विकास रोकामगर

Comments

Popular posts from this blog

‘भाडाका गर्लफ्रेन्ड’

कार्यकर्ता होइन, नागरिक भएर सोच्नुपर्छ – नत्र रैती भइन्छ !

आँखा र आँखा हस्पिटल