...जब मन प्रश्न गर्न थाल्छ


164449_abstract-fantasy-art-running-crows-photomanipulations-branches-1920x1200-wallpaper_wallpaperswa.com_76

थकानको चाप थियो – मस्तिष्कमा । 

दिमागको चाप मनलाई के थाहा होस् ? सबै कुराबाट बेखबरजसरी एक साँझ मनले मलाई सोध्यो, ‘तँलाई एउटै कुरा गरिरहन झ्याउ लाग्दैन ?’ जबकी त्यो साँझ थकानबाट विरक्त चाँडै निदाउने योजनामा थिएँ ....

तर, मनले सुत्नुअघि एउटा प्रश्न सोधिहाल्यो, ‘तँलाई एउटै कुरा गरिरहन झ्याउ लाग्दैन ?’ प्रश्नको आशय ‘दोहो¥याइरहनु’तर्फ सोझिएको थियो । 

यो मन छ नि मन.... जब सुत्नुअघि आफूमा प्रश्न खेलाउँछ । तब निद्रा पर्छ कहाँ ? चैन हुन्छ कहाँ ? सन्तुष्टि हुन्छ कहाँ  ? 

मुला मन पनि शाषकजस्तो छ – घुमाउरो उसको कुरालाई सही आशयमा बुझेर उत्तर दिनुपर्छ । तर, उसले सोधेको झ्याउ प्रश्नको झ्याउ उत्तरबारे म त बेखबर पो रहेछु । आधारातमा उठेर उत्तरको खोजीमा लागें ।

प्रविधिको युग छ – टक्क स्मार्ट फोनमा औंठा छाप दियो । फ्याट्ट मोबाइलको ढोका खुल्छ । केही बाँकी बचेका प्रश्नहरु गुगल गरिन्छ । च्याप्प उत्तर भन्छ । चाहे त्यो इतिहास, भूगोल, वर्तमान वा भविष्य होस् । 

तर मनले मलाई सोधेको प्रश्नको उत्तर गुगलमा भेटिँदैन । उसको प्रश्नको उत्तर त उहीसँग छ । जानीजानी पश्चतापको भूमरीमा धकेल्न आँखामा पट्टी बाँधिदिँदै जो थियो....... । 

गुगलमा नभेटिने हजार उत्तर आफैंमा हुन्छन्, वश खोज्ने सामथ्र्य हुनुप¥यो । 

०००

‘साँच्चै सधैं एउटै कुरा दोहो¥याइरहँदा के म खुसी छु त ?’ यसो सोचें, ‘जिन्दगी साँच्चै कुनै गणितीय हिसाबको सुत्रजस्तै त चलिरहेको छैन ?’...... हैट् बड्डा ......... त्यसपछिका मनोवार्ता कति डरलाग्दो...... कति बेचैनी ..... !

आमाले हुर्काएको, हिर्काएको आँगन, भान्सा छोडेर सहर पसेको पुगनपुग ७ वर्ष हुनै आँटेछ । यही ७ वर्षको बीचमा ५ वटा कोठा फेरिएछ । ‘साहु’ नै फेर्न सक्ने आँट पनि त कहाँ रहेछ र मभित्र ? साँझमा अफिसबाट थकित हुँदै कोठा पुग्ने बाटो फेरेछु, कोठा सँगसँगै जोडिएका छिमेकी फेरेछु । पर्तिरको झ्यालमा देखिने अनुहारहरु फेरेछु । 

त्यसबाहेक अरु त उही, उस्तै त रहेछन् । 

पछिल्लो पटक सरेको कोठाभित्र छु । अस्तव्यस्त छ । हेर्छु, बडो प्रेमले नियाल्छु, ‘कसरी पो बस्न सकेको छु है यहाँ यहाँ ? रातरातभर आउने मुसाको कट्कट्... साङ्लाको आतंक..... र थुप्रिएका फोहोरको दूर्गन्ध......उस्स्स्स्स्स......’

पछिल्लो कोठालाई सजाएको छैन –‘सजाय’को छु । 

कोठाको दक्षिणी भागमा खाली भित्ता छ – जुन कोठामा पसेसँगै आँखामा ठोक्किन आइपुग्छ । त्यही भित्तामा टाँगेको छु – बाबाआमा उभिएको एउटा बालापनको फोटो । 

(अहिले त त्यसरी फोटो खिच्ने मौका नै पो कहाँ मिल्छ र ? पुरानै फोटोमा बुढ्यौलीले छुँदै गएका बाआमालाई राखेको छु । कहिलेकाहीं कुनै काम बिगारेर आत्मग्लानीले कोठामा छिर्दै गर्दा तिनै बाआमाले सम्झाउँदै गाली गरेको आभास जो लिन्छु । काम सपारेर आउँदा शीरमा हात थप्थपाउँदै दिएको स्याबास जो लिन्छु ...)

सानो छ कोठाको आकार । 

त्यही कोठामा २ वटा बेड अटाएका छन् – जुन असरल्ल छन् । तर, देब्रे भित्तामा एउटा ठूलो ऐना राखेको छु । त्यही ऐना त हो, ‘बिहान बिदाइ गर्ने । साँझमा स्वागत गर्ने ।’ कहिलेकाहीं लाग्छ – ‘एक्लोपनको साथी........आफैं पनि होइँदो रहेछ !’ 

एउटा ऐना छ –
कोठाको ठीक देब्रे भित्तामा झुन्डिएको ।

त्यहाँ बास बस्छ – एउटा आकृति
जो
म बाहिर निस्किँदा सँगै निस्किन्छ – बिदाइ गर्छ
भौगदौड र होहल्लाबाट थकित थकित
भित्र पस्दा सँगै पस्छ – स्वागत गर्छ ।

एउटा ऐना छ –
कोठाको ठीक देब्रे भित्तामा झुन्डिएको ।

आश्चर्य त यो छ कि –
ऐनामा देखिने त्यो आकृति पनि 
नमुस्कुराएको वर्षौं भएछ ....

०००

चञ्चल छु । भावुक छु । रिसाहा र सन्की छु । कसरी बस्न सक्छु एउटै ठाउँमा एकाग्र भएर ? अचम्म लाग्छ । तर, बाँचिएकै छ त ..... बसिएकै छ त..... !

बिहानै उठ्यो ।  साँझको भाँडा धस्कायो । भात पकायो । खायो । अफिस गयो । काम ग¥यो फर्कियो । फेरि भाँडा धस्कायो । भात पकायो । सुत्यो । .... र अर्को दिन कुनै क्रमभंग हुँदैन । हिजो कै घटना दोहोरिन्छ । 

यिनै, उहीं, उही, त्यहीं, त्यही र तिनै कुरामा त अल्झिएको छु म । कस्तो गाह्रो ..... हैट् बड्डा...... !

बाटोमा तिनै भेटिन्छन्, नमस्ते गर्नुपर्ने । तिनै मालिक भेटिन्छन्, शीर निहुराउनुपर्ने । 

उही अफिस त हो दिनहुँ पुग्नुपर्ने । उही एउटै बाटो त हो – कोठा आउने÷जाने । तिनै अनुहार न हुन् दिनहुँ भेटिने । त्यही कुर्ची त हो बसेर मजदुर गर्नुपर्ने । त्यही कम्प्युटर । त्यही माउस । त्यही फोल्डर । त्यही इमेलबक्स । त्यही ठेगाना........

नयाँ चरा पनि आउँदैन सहरमा – गाउँजस्तो ....
नयाँ सम्बन्ध पनि बन्दैन सहरमा – गाउँमाजस्तो .....
नयाँ फूल पनि फुल्दैन सहरमा – गाउँमाजस्तो.....

कस्तो गाह्रो ? चञ्चले मन सुत्रजस्तो जिन्दगी कसरी बाँच्न सक्दो छु ? त्यही साँझ मनले सोधेको प्रश्नले हिर्काइरहेको छ, ‘के तँलाई एउटै कुरा गरिरहन झ्याउ लाग्दैन ?’ त्यही प्रश्नको उत्तरको खोजीमा छु । 

तर छ नि.... लामो समय लगाएर बडो दुखले आफूलाई यिनै, तिनै र उनैमाथि अभ्यस्त बनाएको छु । आफैंसँग हारे फेरि जितूँला । तर, मनैसँग हारे .... ?????

ए मन 
आधारातमा घरीघरी सोधेर एउटै प्रश्न
अर्कोचाहिँ झ्याउ नगर् ल ...

विकास रोकामगर

Comments

Popular posts from this blog

‘भाडाका गर्लफ्रेन्ड’

कार्यकर्ता होइन, नागरिक भएर सोच्नुपर्छ – नत्र रैती भइन्छ !

आँखा र आँखा हस्पिटल