वसन्त – एक गुपचुप सेलिब्रेटी


विकास राेकामगगर
(समाधान दैनिक र नेपाल लाइभमा प्रकाशित)
पोखरा, १४ बैशाख

पोखराको पृथ्वीचोकमा एउटा क्लब छ ‘सहारा क्लब’ ।

फुटबललाई मुख्य रुपमा अगाडी बढाइरहेको यस क्लवले नेपाली खेलकुद जगतमा अतुलनीय सहयोग गरेको छ । यही क्लवले धेरै समय अगाडीबाट खेलाडीलाई प्रशिक्षण पनि दिँदै आएको छ ।

खेलाडीको जमघट हुने पोखरा रंगशालामा खेलाडीलाई खेल क्षेत्रबारे सिकाउँदै गरेको अवस्थामा एकजना उमेरले बाजे भन्न मिल्ने मान्छे भेटिन्छन् । कपाल आधाउधी फुलिसकेको तर तन्दुरुस्ट अनुहारमा प्रशिक्षण दिइरहेका व्यक्ति हुन् – वसन्त थकाली ।

ती व्यक्ति सहारा क्लब पोखराका संस्थापक अध्यक्ष समेत हुन् ।

पोखरामै जन्मेका उनलार्ई आजको पुस्ताले कि चिन्दैनन् चिनेपनि खेल प्रशिक्षकका रुपमा चिन्छन् । धेरैले चिने खेलाडीका रुपमा चिन्छन् । तर होइन्, तिनै व्यक्ति कुनै बेलाका चर्चित लोक गायक पनि हुन् । ति व्यतिm तिनै हुन् जसले स्वर सम्रात नारायण गोपाल, गोपाल योञ्जन लगायतकासँग एउटै एल्वमका लागि काम गरेका छन् । बिहीबारको भेटमा थकाली हर्षित र उत्साहित अनुहारमा देखिन्थे ।

कारण थियो पोखरामा शनिबार हुन लागेको आफ्नो एकल साँगीतिक प्रस्तुती ।

बच्चै देखि नै खेलकुद, नृत्य र गीतमा रुचि भएको थकालीले सुनाए । उनि सम्झन्छन्, ‘पढाइमा पनि राम्रै थिएँ तर बढी नाच्ने गाउने भयो कि मेरो नाम आइहाल्थ्यो ।’ तर त्यतिञ्जेलसम्म पनि सोचिसकेको थिएनन्, ‘कुनै दिन खेल खेल्ने छु र खेलाडी बन्ने छु या गीत गाउने छु र गायक बन्ने छु ।’

पछि जन्मस्थान ढिकुरपोखरीबाट पोखरा आइसकेपछि भने उनको संगत नै नाच्ने गाउनसँग भयो । साथीसँगको माहोलले नै उनलाई गीतसंगीतमा लाग्न प्रेरित गरेको उनी सगर्व सुनाउँछन् ।

त्यतिबेला गीतसंगीतमा रुचि भएपनि अहिलेको जस्तो गाउन सजिलो थिएन । पहिले पहिले उनको पालामा रेडियो नेपालमा पनि गाउन गाह्रो हुन्थ्यो । एउटै गीत रेकर्ड गर्न दिनभरी लाग्थ्यो । एउटा बाजाले बीचमा ‘मिस्टेक’ खाएपनि सुरु देखि नै गर्नुपथ्र्यो । उनी अहिले आफ्नो पुराना दिन सम्झिन्छन् ।

उनी भन्छन्, ‘म्युजिक क्षेत्रमै लागेर केही गर्छु भन्ने अवस्था थिएन । तर पनि रहरले गीत गाउँदै हिडिन्थ्यो ।’ उनको सम्झनामा त्यतिबेला एउटा मात्र गीत रेकर्डिङ स्टुडियो थियो – रत्न रेकर्डिङ संस्थान ।

थकालीको कुनै बेला ‘घर त पोखरा, तिम्रो पो सबै छन् मेरो को छ र’ बोलको गीतबाट नेपाली कलासंगीतको क्षेत्रमा चर्चामा आए । उनको पहिलो गीत नै यही थियो – रेकर्डेड । ‘रत्न रेकर्डिङ संस्थानबाट पहिलो पटक यही बोलको गीत रेकर्ड गरेर नै साँगीतिक दनियाँमा प्रवेश गरें,’ उनले भने ।

पोखरामा त्यतिबेला  रत्न रेकर्डिङ संस्थानले तत्कालीन पश्चिमाञ्चल लोकगीत सम्मेलन गरेको थियो – २०४० सालमा । त्यहाँ उनले पनि भाग लिए । लोकगीत प्रतियोगिता पनि भएको थियो । जसमा २५÷३० जनाको संख्यामा प्रतियोगी थिए । त्यसबाट १० जना छानेर काठमाडौं लैजाने भएको थियो । ‘काठमाडौं जाने टप १० मा म पनि परेको थिएँ, र त्यतैबाट मैले गीत रेकर्ड गरेको थियो,’ उनले रचनागर्वको बारेमा सुनाए ।


उनलाई पहिलेका कलाकार नै वास्तविक कलाकार लाग्छ  । अहिले प्रविधीले धेरै सहयोग गरेपनि मौलिकपनामा ह्रास आएको उनले बताए ‘अहिलेका त के कलाकार ? एउटा कम्प्युटरले नै कलाकार बनाइदिन्छ,’ उनी भन्छन्, ‘अहिले संगीतमा कसैको मतलव नै छैन । आजभोलि गाएको हेर्दा एकछिनको लागि रमाइलो गरेको जस्तो लाग्छ ।’


अहिलेका कलाकार बिग्रनुमा मिडियाले राम्रो गीतसंगीत चिन्न नसक्नु पनि एक रहेको उनको भनाइ थियो । गीत चल्नु भनको मिडियामा धेरै बज्नु हो भन्ने भान स्रोतालाई दिइएको छ । यसविषयमा उनी खिन्न छन् । जति धेरै बज्यो उति धेरै चर्चित हुन्छ भन्ने धारणा बदलिनुपर्छ भन्ने उनले विचार व्यक्त गरे ।

‘नेपालमा बक्सको स्थापना गरेर बजारमा चलेको गीत एकातिर र शब्द,संगीत, सुर, ताल, गायन र प्रस्तुती राम्रा भएका गीत अर्कातिर राख्नुपर्छ बल्ल ठिक मुल्याङ्कन हुन्छ,’ उनले थपे, ‘बजारमा चलेको गीत सेलिब्रेटी मात्रै हुन्छ । उत्कृष्ट कहिल्यै हुँदैन ।’

गीतसंगीतकै लागि पढाइकै माया मारी काठमाडौंमा धेरै समय बसे थकाली । काठमाडौंमा रहँदा नारायण गोपाल, गोपाल योञ्जन, पूर्ण नेपाली लगायतका संगीत क्षेत्रका हस्तीसँग सँगत गर्ने मौका पाए उनले । ‘नारायण दाई भन्दा पनि गोपाल दाईसँग मेरो धेरै सँगत भयो । मान्छे मजाको हुनुहुन्थ्यो ।

सरल र मिलनसार भावना थियो उहाँमा,’ उनले किस्सा सुनाए, ‘संगीतमा हुनुपर्ने सबै गुण योञ्जन दाईमा थियो । अब कोही अर्को योञ्जन जन्मिन सक्दैन ।’ उनको नजरमा नारायण गोपाल पनि गायनका साँच्चिकै सम्राट थिए ।
४२ सालसम्म राजधानी मै निरन्तर संगीत क्षेत्रमा लागे ।

त्यसताका आर्थिक समस्याले सताउनु सतायो ।  गीत भनेर पढाइ छोडेका उनी फेरी अर्थकै लागि गीत छोड्नु बाहेक अर्को उपाय थिएन । किनभने उनलाई एकिन भइसकेको थियो, गाएर मात्र उनको जीवन चल्दैन । त्यसैले एकदिन फर्के फेरी पोखरा । व्यवसायमा गर्नतिर लागे ।

ती बीचका समयमा संगीत देखि टाढा बसे । गायन क्षेत्र हापेर बसिरहेका बेला २०४६ सालमा एकपटक तत्कालीन राजा विरेन्द्र पोखरा आएका थिए । त्यतिबेला एउटा गीत एनटिभीको लागि गाए । गीत थियो – माया सलल बोलको । गुणस्तरिय रेकर्डको सुविधा नभएका कारण पछि बजाउनै मिलेन भन्दै फालिदिए । उनी गीतको स्मरण गर्दै भन्छन्, ‘त्यतिबेला सरकार हजुरको यता सवारी भइबक्सेको थियो ।

त्यतिबेला नेपाल टेलिभिजनको क्यामेराम्यान रत्नहजुर सेनले खिचे । त्यतिबेला संगीतकार कृष्ण गुरुङ, स्व. प्रविण गुरुङ लगायतको उपस्थिती थियो,’ उनले खिन्न हुँदै भने, ‘पछि क्वालिटीमा समस्या आयो भनेर फालिदिएछन् खेज्दा भेटिन्न ।’

गीत गाएर नै जीवन धान्न सक्ने अवस्था त्यो बेला भएको भए आफू व्यवसाय वा खेलकुदमा आउने थिएनन् । उनी गीतसंगीत छोडेर बसेको अहिले २९ वर्ष भइसकेको छ ।

‘बुढेसकालले छोयो । अब सबैतिर भ्याउन सक्दिन बरु खेलकुद र गीत दुवैतिर पार्टटाइम जस्तो केही गर्छु,’ उनले आफ्नो योजना सुनाए । थकाली अहिले एउटा स्वदेश गानको तयारीमा छन् । गीत रेकर्डको तयारीमा छ । शनिबार आफ्नो साँझमा त्यो गीत पनि पस्कने योजना छ उनको ।
अर्काइभ

Comments

Popular posts from this blog

‘भाडाका गर्लफ्रेन्ड’

कार्यकर्ता होइन, नागरिक भएर सोच्नुपर्छ – नत्र रैती भइन्छ !

आँखा र आँखा हस्पिटल