युद्धपछिको बोनस जिन्दगी
![]() |
Photo Yunish Gurung/samadhan |
राइफलदेखि घन र बेल्चा सम्मको यात्रा
विकास रोकामगर
(समाधान दैनिक र नेपाल लाइभमा प्रकाशित)
उनलाई लाग्छ–भाग्यमा लेखेर ल्याएपछि जुन बाटोमा हिडेपनि अन्तिममा आइपुग्ने एउटै गन्तव्य रहेछ । विश्राम त्यहीं मिल्दोरहेछ । ससाना मात्र होइन ठूलाठूला भूकम्प पनि आइरहन्छन् मान्छेको जीवनमा । सक्नेहरु जितको उत्सव मनाउँछन्, नसक्नेहरु बिलाउँछन् कतै हराई जान्छन् ।
उनलाई जित्नु थियो । आफ्नै दुःखहरु बिर्सन पुग्ने सफलता प्राप्त गर्नुथियो । कुनै पहाडको सबैभन्दा उचाइमा पुगेर एकआराम जिन्दगी सुस्ताउनु थियो ।
‘युद्धका ती आँधीमय घाउहरुले अहिले ससाना दुखहरु त्यसै बिर्साइदिन्छ । घाउले नै घाउ निको बनाउँदो रहेछ,’ यी विचार हुन्, पश्चिम रोल्पाबाट कास्की पोखरामा आएर निर्माण व्यवसायमा लागेका व्यवसायी प्रसाद बुढा मगर ‘सुन्दर’का ।
परिवारसहित पोखरा लेखनाथ १२ रानीपौवा, पुरानोधारामा बस्दै आएका उनी एक क्रियाशील समाजसेवी तथा राजैतिक छवी भएका १ व्यक्तित्व हुन् ।
सामान्य मजदुरीबाट पोखरामा संघर्ष सुरु गरेका बुढामगर अहिले लाखौँको लेनदेनमा दिन बिताउँछन् र यस्का साथै सामाजिक कार्यहरुमा पनि अग्रसर छन् । उनलाई देख्नेहरुलाई अपट्यारिलो लाग्न सक्छ उनको विगत ।
‘कुनै नाटक जस्तो लाग्छ मलाई आफ्नो जीवन,’ उनी भावुक हुँदै भन्छन् । उनको बारेमा जान्नको लागि कोठामा पुग्दा काममा जानको लागि तयार भइसकेका थिए ।
...
रोल्पाको तत्कालीन जेल्बाङ गाविसमा जन्मिएका सुन्दरको बाल्यकाल गाउँकै पाखापखेरीमा बित्यो । तिनभाइबैनामध्ये माइला सन्तानका रुपमा जन्मिएका उनको बाल्यकाल अहिले जस्तो सुन्दर भने थिएन । एक दिदी र एक भाइ छन् उनका ।
कमजोर आर्थिक स्थिती भए पनि अरुजस्तो खानलाउनको लागि रुनुपर्ने अवस्था थिएन बुढा परिवारको ।
विकट गाउँ पढ्न लेख्न मुस्किल पर्ने र गाईगोठाला जानु पर्ने उनको बाध्यता थियो । दिदीले ‘म पढन पाएन तँ हरु (दुईभाई) चैँ पढ्नुपर्छ’ भनेको शब्दनै उनको प्रोेत्साहनको बाटो बन्यो ।
निर्माण व्यवसायी सुन्दरको बाल्यकालमा यो बन्छु भन्ने खास सपना थिएन । तर मगर संस्कृतिमा व्याप्त लाहुरे परम्पराले भने उनलाई लाहुरे बन्ने हुटहुटी जगाएर ल्याउँथ्यो । लाहुरे बनेर धेरै धन कमाउने र सम्पन्न जीवन गुजार्ने उनको एक मात्र रहर थियो । सायद सपना पनि त्यही थियो ।
झोलामा रोटी सातु, र पिठो तरकारी बोकेर गाउँ भन्दा परको अर्को गाउँमा पढ्न जान्थे – घण्टौंघण्टा हिडेर । स्वयं उनलाई पनि थाहा छैन एक्लै त्यो बाटोेमा कति हिँडे । कति काँडाहरु बिझ्यो खुत्तामा । कति दुखे एकान्त ति जंगलमा । कति चिच्याए एक्लै । आफ्नै आवाज फिर्ता बोलाएर साथी हुनुको भ्रममा ।
साथिभाइबीचमा आफ्नो मनको कुरा निर्धक्क भन्ने र मन नपरेको कुरामा तत्काल विद्रोह जनाइहाल्ने उनको स्वभाव थियो । गोजीभरी चक्लेटको सट्टा ओखर बोकेर गाउँ चहारी गुच्चा खेल्न निस्कन्थे र विभिन्न बहानामा साथिहरुसँग झगडा गर्दथे ।
आफैंलाई सम्झिँदै भन्छन्, ‘म बाबा बाट आएको थिएँ रे, झगडालु स्वभावको थिएँ त्यसैले मलाई कसैले राम्रो मान्दैथिए ।’ अहिले ति बालापनका स्मृतिले गज्जबको झंकार ल्याउँछ उनमा
...
मगर जनजातीहरुको बाक्लो बस्ती भएको एउटा जिल्ला हो – रोल्पा । श्री ३ जंग बहादुर राणाको समयबाट सुरु भएको बेलायती सैनिक भर्ती लहडले रोल्पाली जनजातीहरुलाई पनि छपक्क अंगालो हालेको छ ।
यही लहरको अंगालोमा पर्ने एकमा थिए – प्रसाद बुढामगर ।
वर्ष दिनको एकपटक छुट्टीमा आउने ब्रिटिस तथा सिंगापुर लाहुरेको रहनसहन गज्जबकै हुने गर्दथ्यो । रवाफ र शानको त झन के कुरा गर्नु र ? चिट्टिक्क कपडा र राम्रो राम्रो खानेकुरा देख्दा कस्लाई रहर नहुँदो हो लाहुरे जीवन व्यतित गर्न ?
तर, भर्ती देखाउन पाएनन् उनी । उनलाई नपुग्नु रहेछ गोराहरुको देश । आफ्ने स्वदेशको माटो टेकेर उक्लनु रहेछ – सफलताको उचाई । राजनितीकै कारणले लाहुरेमा भर्ती हुन नपाएपनि अहिले कुनै छैन गुनासो छैन उनको समयसंग । बरु जे भयो राम्रैका लागि भयो भन्ने सन्तुिष्टको बाटो समाएकाछन् ।
कक्षा ८ पढ्दापढ्दै राजनीतिमा लागेका हुन् उनी । तत्कालिन राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठनमा पाइला राखेर राजनितीमा प्रवेश गरेका हुन् ।
‘त्यो बेला राप्रपा पञ्चायत पक्ष र जनमोर्चा जनपक्ष थियो । पढाईमा पनि आफूले कुनै न कुनै हाँगा समाउनै पथ्र्यो, मैले जनमोर्चा समाएँ’, उनले सुनाए । त्यतिबेला गाउँमा पञ्चायतको दादागिरी रवाफ भनिनसक्नु हुन्थ्यो । सोझासाझा जनतालाई दुख दिएर बाँच्न हम्मेहम्मे पारिएको थियो ।
त्यतिनै बेला गाउँमा एउटा घटना घट्न पुग्यो । वि.सं. २०५१ मंसिरमा पञ्चायत सुक बहादुर बुढाको हत्या भयो (जो राल्पाली इतिहासमा सुके काण्ड ले चर्चित छ ।) । त्यसमा उनको पनि नाम आयो । तर त्यतिबेला आफू गाउँ भन्दा पर गजुलमा अध्ययनको लागि बस्ने गर्दथे ।
आफूलाई फसाउने मनसायले नै आफ्नो नाम किटेको उनी सुनाउँछन् । ‘विपक्षी पार्टीको विद्यार्थी संगठनमा लागेको भएरै फसाइयो मलाई’, उनले भने ।
त्यति नै बेला पहिलो चोटी भूमिगत भएका हुन् सुन्दर । जंगलमा लुकेर बस्नुपर्ने,खानाको नाममा आफूसँग भएको सातु र कोही बाहिरी मान्छे आएपनि समाउन नै आएको भन्ठानी लुक्नुपर्ने बाध्यता । गाउँसंगको लामो बिच्छेद खुब दुख्थ्यो उनलाई । तर सुनाउने कसलाई त्यो अनकन्टार जंगलमा ?पछि त्यहाँबाट भागेर काठमाडौँ हान्निए श्रीमतीसँग – ०५३ सालमा ।
त्यतिबेला सिन्धुपाल्चोकको धुलिखेलमा एउटा ठूलो हस्पिटल बन्दै रहेछ । त्यहीं काम गरे ४ महिना दिनको ८० रुपियाँ ज्यालाका दरले । काम गर्दागर्दै कसैको सुराकी प¥र्यो । प्रहरी आयो र थुन्यो – एकदिन एकरातको हिरासतमा ।
एकोहोरो बयान र यातना दिने काम गर्दथ्यो प्रहरीले । झुठा कुरालाई पनि सत्य कबुल गराउन लागिपर्थे । त्यही समयमा कम्युनिष्टका तर्फबाट मनमोहनसिंह प्रधानमन्त्री थिए – आफ्नो ९ महिने कार्यकालमा । ५ जनाको नाम राखेर उनको सजाय आममाफी भयो ।
मजदुरी गर्दागर्दै जेठी छोरीको जन्म भयो । नाम राखे – क्रान्ति । र छोरी जन्मेको १० दिनमा रातारात रोल्पा गाउँ फर्किए ।
गाउँ फर्किसकेपछि फेरी सुन्दरले आफ्नो रोकिएको पढाई सुरु गर्ने निधो गरे र विद्यालय जान थाले । फेरी सोही समयमा अर्को घटना घट्न पुग्यो । रोल्पाको गाम गाम गाविसको असौजे मेलामा राप्रपा र जनमोर्चाको भीषण युद्ध चल्यो ।
सो युद्धको जनमोर्चा नेतृत्व थियो नन्द कुमार पुन ‘पासाङ’को । त्यही घटनामा नाम मुछियो उनको पनि । सरकारले ‘रोमियो’ अप्रेसन चलायो । त्यतिबेला थिए उनी सुलीचौरमा साँस्कृतिक जन कलाकारको साँस्कृतिक सम्मेलनमा । त्यहीबाट दोश्रो पटक भूमिगत हुनुपरेको उनले सुनाए ।
त्यतिबेला भोगेको यातनाको लेखाजोखा छैन उनीसँग । अहिले सम्झदा सपना जस्तो लाग्छ उनलाई । सम्झना नआए हुन्थ्यो लाग्छ ।
...
माओवादी लडाकुमा लागेका उनी पार्टीले नयाँ नाम सहित न्वारान गरिदियो – ‘सुन्दर’, अब उनी प्रसादबाट परिवर्तन भएर देश र जनताको आवाजका लागि लड्ने सुन्दर बने ।
जनयुद्धमा परेर सबैभन्दा बढी सहिद हुने गाविसबाट(हालको सुनछहरी गा.पा.–७) तत्कालीन सरकार पक्ष र माओवादी पक्षको यूद्धमा धेरै सामेल भएकाको गा.वि.स.बाट छापामार बने । क्रान्तिकारी बने । बिद्रोही बने । २०५२ सालमा माओवादीले युद्ध सुरु होलेरी सेना क्याम्प आक्रमण गरेर ग¥यो ।
सो युद्ध चल्दैचल्दै २०५३ सालमा आइपुग्दा वर्षमान पुन र किम बहादुर थापाको कमाण्डमा प्युठान ‘लुङचौकी’ आक्रमण गर्ने भयो । त्यही युद्ध चल्दै गर्दा उनको बाँया आँखामा गोली लाग्यो । अर्को घाँटी नेरै लाग्यो । अर्को पाखुरामा लाग्यो । लगातार ३ गोलीपछि उनी ढले । केके भयो थाहा भएन । होस आउँदा पार्टीको उपचार कक्षमा थिए ।
जिल्ला हेडक्वार्टरमा १ महिना बसेपछि उपचारको लागि लखनाउँ लगियो । दिल्ली पु¥याइयो त्यतिञ्जेलसम्म धेरै ढिलो भइसकेको थियो । ९ महिना उपचार पश्चात घर फर्कदा संसार हेर्न एउटा आँखा सदाको लागि बन्द भइसकेको थियो ।
२०५४ सालमा पार्टी सदस्यबाट माओवादी छापामारमा संगलग्न भएका उनी २०५५ मा पार्टी कमिटी सदस्य, २०५८ मा यरिया सेक्रेटरी हुँदै २०६१ मा रोल्पा जिल्ला सदस्य र १० नं यरिया इञ्चार्ज भए । यसरी उनी राजनीतिमा सक्रिय रहे कुनै बेला ।
...
२०६२ सालमा रोल्पाबाट आँखाको उपचारको लागि भनेर पोखरा आए उनी – आफ्ना परिवार लिएर । आँखा गुमाउनुको पिडा र घाइते मनमा पनि अझै तत्काल सरकार पक्षको ज्यादती र त्यसमाथि घाइतेअपांगहरुलाई पार्टीले हेर्ने दृष्टिकोणमा फरक पाएपछि पोखरा हान्निएका हुन् ।
‘गाउँमा अझै परिवर्तन आएको थिएन । युद्धले सबै विस्थापित भइसकेका थिए । गाउँमा बस्नेहरु त अति विपन्न वर्ग मात्र थिए । जसको बाँच्नकोलागि कोही थिएनन् । मर्नको लागि पनि काल बनेर आएन युद्ध पनि’, उनले भने, ‘छोराछोरीको लागि शहर आइयो र आफू बाँच्नको लागि पनि ।’
पहिलोपल्ट पोखरामा पाइला टेक्दा पोखरा अहिलेको जस्तो थिएन र पनि उनलाई भव्य लागेको थियो परिवारलाई पाल्नु पर्ने भार आफूमा आइलागेपछि नै हो उनले राजनिती छोडेर मजदुरीको मजबुरी बाटो समाएको ।
‘पोखरामा बजारमा कति दिन भोकभोकै बसेँ । कति दिन चाउचाउ मात्र खाएर गुजारा चलाएँ मलाई नै थाहाछैन’, उनी सम्झन्छन् । कोठा भाडामा नमिल्नु, मिले पनि धेरै सदस्य संख्यालाई पुग्दो कोठा नमिल्नुको पीडा एकातिर छ ।
अर्कातिर रामघाटमा दिनभरी बालुवा चालेर साँझ लखटरान पर्दापनि के खाउँ के लाउँ को समस्याले छोडेन । रामघाटमा वालुवासँग केही समय खेलेपछि उनले शुरु गरे जगको लागि खाल्डो खन्ने कठिन काम ।
चैत बैसाखको टन्टलानपुर घाममा असिनपसिन काम गर्नु पर्ने । समयमा नै खनी सक्नु पर्ने दवाव । तरपछि ठेकदारहरुसंग उनको चिनजान बढ्यो र फेरी नयाँ काममा हात हाले–घर निर्माण मजदुरीको ।
श्रीमतीहरुलाई समेत लगेर काममा जाने उनले शुरुमा यो काममा समेत दुख पाए । भनेको समयमा ज्याला नमिल्ने तथा बढी समय खटिएर काम गर्नु पर्ने तर धेरै समय यही क्षेत्रमा काम गरेपछि भने यो काममा उनको दक्षता बढ्दै गयो । ‘घरको नक्सांकन तथा नापमा अलिअलि परिचित हुन थालेँ, अब त आफै पनि गरिन्छ कि झैँ लाग्यो’, उनले भने ।
त्यसपछि आफै केही गर्नुपर्छ भन्ने लागेर २०७० सालमा पहिलो पटक बिरौटामा एकजना घर ठेकदारको नाइकेका रुपमा खटिन थाले । जुन उनको लागि टर्निङप्वाइन्ट बन्न पुग्यो । त्यसपछिका दिनहरुमा उनले आफै ठेक्काहरु लिन थाले र दर्ता गरे ‘सुन्दर निर्माण सेवा’ को नामबाट ।
सुरुमा आफ्नो साईट मा जाँदा पुरानो साईकल चढेर जाने उनलाई घर मालिकहरुले साइकल चढ्नेले पनि के घर बनाउला जस्ता कुराहरु पनि गर्दर्थे । तर यस्ता कुरालाई नसोचेर उनले आफ्नो कार्यमा एकचित्त भएर लागे ।
साइकल चढ्ने उनी अहिले मोटरसाइकल चढ्छन् । आफ्नो मात्र जिविकोपार्जन नभई आफ्नो निर्माण कम्पनिबाट सयभन्दा बढीलाई प्रत्यक्ष सोही मात्रामा अप्रत्यक्ष रुपमा रोजगार दिइरहेका उनले अझै पनि नेपालमा दक्ष कामदार पाउन गाह्रो रहेको गुनासो गर्छन ।
‘सामान्य श्रमिकहरु त पाईन्छन् तर काममा निपुण कामदार पाउन एकदमै गाह्रो छ,’ उनले सुनाए ।
अर्काइभ
Comments
Post a Comment