‘मीरा राई’जस्तै बन्ने सपना छ
विकास रोकामगर
३० जेठ, पोखरा
समाधान दैनिक र अनलाइनखबरमा प्रकाशित
रहर क्षणिक हुन्छ । आउँछ, जान्छ । तर त्यही रहर जब शौख र सपनामा परिवर्तन हुन्छ । तब त्यसले कसरी जिन्दगीमा अमिट छाप बनाउँछ भन्ने कुरा उनलाई राम्ररी थाहा छ । रहर गर्दैगर्दाको पाइला अचानक सपनामा बद्लिएपछि उनको जीवनले उद्धेश्य नै बद्लेको छ ।
विदेशीलाई नेपालको अनुहार चिनाउँदै हिँड्ने एउटी पथप्रदर्शक हुन्, अनिता कुलुङ (राई) । पोखराको थ्री सिस्टर्स कम्पनीसँग आवद्ध भएर पथप्रदर्शक भइहिँडेको पनि वर्षौं भइसकेको छ । उच्च हिमाली भेगका प्रत्येक उकाली र ओरालीको लेखाजोखा उनीसँग छ ।
‘ट्रेकिङ गाइड भएरै अन्नपूर्ण सर्किट, उपल्लो मुस्ताङ, सगरमाथासम्म पटकपटक घुम्ने मौका पाएँ,’ उनले सुनाइन् ।
पहिले राईमा घुम्ने, रमाउने रहरले डेरा जमाएको थियो । उनी त्यही रहरको फेरो समाएर सन् २००८ मा भोजपुरबाट पोखरा आइपुगेकी हुन् । पोखरा आइसकेर के गर्ने उनलाई थाहा थिएन । तर, डाँडाकाँडा उक्लदैं हिँड्ने इच्छाको गतिलो साथ भने थियो ।
‘पोखरा त आइयो के गर्ने भन्ने थाहै भएन । गाउँले आफन्त र नातागोता पर्ने सबै पर्यटन व्यवसाय मै लागेका थिए । काम पनि पाइने घुम्न पनि पाइने मैले पनि त्यही काम गर्ने निधो गरें,’ राईले पोखरामा सुरुताका दिन सुनाइन् ।
‘जागिर’मा ‘ज्वाइन’ भइसकेपछि कैयौं पटक पर्यटकका भारी बोकर उचाइ चढिन्, ओरालो झरिन् । त्यसपछि त हो उनी चिनिएको ‘टुरिस्ट गाइड’ का रुपमा ।
तर, पथ प्रदर्शकमात्रै भने राईको पूर्ण परिचय होइन । उनी एउटी कुशल हाइअल्टिच्युड धावक पनि हुन् । उनले अहिलेसम्म २ चोटी अन्नपूर्ण म्याराथन, २ चोटी ट्रेल मास्टर, एक चोटी स्तुपा म्याराथन कप र २ चोटी तेञ्जिङहिलारी एभ्रेस्ट म्याराथनमा सहभागी भइसकेकी छिन् ।
राईले २०१७ मा भएको स्तुपा कप ट्रेल मास्टर पनि जितिसकेकी छिन् । त्यतिबेला उनले १० किलोमिटर दूरी १ घण्टा १८ मिनेटमा पूरा गरेकी थिइन् ।
‘त्यो दिन ठूलै पानी परेको थियो । दौडिन पनि एकदमै गाह्रो भइरहेको थियो,’ विजेता हुँदाको ‘त्यो दिन’ सम्झिइन् । २०१७ कै तेञ्जिङ हिलारी एभ्रेस्ट म्याराथनमा उनले निर्धारित दूरी साढे ६ घण्टामा पूरा गरेकी थिइन् । उनले केही समयअघि भएको तेञ्जिङ हिलारी म्याराथनमा छैठौं स्थान ल्याएकी थिइन् ।
‘रहरले छिरें, सपना बन्यो’
राई गाउँघरमा पनि कुद्थिन्, ‘घरदेखि करेसा । करेसादेखि घर । तल्लो घरदेखि माथ्लो घर । माथ्लो घरदेखि तल्लो घर । स्कुलदेखि घर । घरदेखि स्कुल ।’
तर त्यो सामान्य कुरा थियो किनभने उनले कहिल्यै सोचेकी थिइनन् कि कुनै दिन लामालामा दूरीका म्याराथनमा पाइला चालिरहेकी हुनेछु ।
ट्रेकिङ एजेन्सीमा ‘जागिर’ गर्न पोखरा आइसकेपछि सुरुमा राईले एउटा प्रतियोगितामा लहैलहैमा भाग लिइन् । रमाइलै भयो । फस्ट, सेकेन्ड, थर्ड... टेन्थ, एलाभेन्थ केही भइनन् । उक्त प्रतियोगितामा भाग लिने धेरै थिए । हो उनी त्यो प्रतियोगितामा धेरैको पछि परिन् ।
तर त्यही ‘रहर’ प्रतियोगिताले राईमा नयाँ सपनाको विजारोपण गरिदियो । हिले उभिन सिकिन् आफ्नै जोडी खुट्टामा । त्यसपछि हिँड्न सिकिन् । हिँड्दाहिँड्दै कुद्ने रहरले लखेट्यो, कुदिन् । तर त्यतिले पुगेन कुद्नुमा नै आफ्नो खुसी भेटिन् । त्यसपछि उनले आफैंलाई चिनिन्, ‘दौडनु त मेरो खुबी रहेछ !’
‘टे«ेकिङ गर्दागर्दै म्याराथनबारे सुनें । म्याराथन लामो दूरीको दौड हो भन्नेमात्रै थाहा थियो । त्यसमा कस्तो हुँदो रहेछ भनेर रहरले भाग लिएकी हुँ,’ राईले सुनाइन्, ‘पहिले रहरले छिरेपनि अहिले त धावक बन्ने सपना नै भइसक्यो ।’
पहिले सामान्य ट्रेकिङ गाइड भएरै जीवन गुजारा गर्ने राईको सपना थियो । तर, जब उनी ट्र्याक लगाएर ‘ट्र्याक’मा दौडिन थालिन् । त्यसपछि भने उनमा नयाँ ऊर्जा थपियो । भन्छिन्, ‘अब त राष्ट्रिय, अन्तराष्ट्रिय खेलमा नेपालको प्रतिनिधित्व गर्दै दौड्ने सपना देखेकी छु । र त्यही अनुसार मेहेनत पनि गरिरहेकी छु ।’
सुरुमा हाइअल्टिच्युडमा दौड्दा गाह्रो भएको राईको अनुभव छ । ट्रेनिङ नलिएरै एक्कासी उचाइमा दौड्दा अप्ठेरो भएको उनले सुनाइन् ।
‘सुरुमा त एकदमै गाह्रो भयो । ट्रेनिङबेगर हाइअल्टिच्युडमा कुद्नु भनेको ठट्टाजस्तो पनि होइन फेरि !’ भन्छिन्, ‘तर ट्रेनिङ लिएकालाईचाहिँ सजिलै हुन्छ भन्ने लाग्छ ।’ पटकपटक सुनेकी छिन्, मीरा राईको नाम । तर, अहिलेसम्म भेटको अवसर जुरेको छैन ।
‘मीरा राईको नाम कैयौं पटक सुनेकी छु । तर भटेको छैन,’ अबको ५ वर्षपछिको योजना सुनाउँदै अनिताले भनिन्, ‘म्याराथन दौड्ने पहिले रहर थियो । तर अहिले ५ मीरा राईजस्तै बन्ने सपना बुनेकी छु ।’
दैनिक ट्रेकिङकै लागि भागदौड गर्नुपर्ने अवस्था छ, राईलाई । यो उनकोे बाध्यता पनि हो । तर, त्यसैबाट समय मिलाएर दौडको अभ्यास गरिरहेकी हुन्छिन् ।
‘समयको तलामेल मिलाउन सकिरहेको छैन । मसँग पर्याप्त समय हुँदो हो त राम्रै गर्थें होला भन्ने लाग्छ । दौडेरमात्रै हुँदैन । काम पनि गर्नुप¥यो,’ उनले दुखेसो पोखिन्, ‘खेलमै एकचित्त भएर पनि लाग्न सक्ने अवस्था छैन । यो हामी सबैको बाध्यता पनि हो ।’
अनिता आफूलाई साहसिक मान्छिन् । त्यसैेले त उनलाई साहसिक खेलप्रति असाध्यै रुचि छ छ । रक क्लाइम्बिङमा पनि राम्रो दख्खल राख्छिन् ।
‘अरुभन्दा केही फरक गर्नुपर्छ भन्ने मेरो चाहना हो । त्यही चाहनाकै कारण म पृथक पृथक काममा रुचि राख्छु,’ उनले सुनाइन् ।
अर्काइभ
Comments
Post a Comment