नथिया नाकमा कि नाइटोमा ?
![]() |
photo google |
विकास रोकामगर
(अनलाइनखबरमा प्रकाशित)
मेरो हातमा आइपुगेको थिएन ‘नथिया’ । तर पढ्नुको उत्सुकताले मनमा डेरा जमाएर बसेको थियो । ०७४ फागुन २० मा काठमाडौंमा विमोचन भएको ‘नथिया’ पोखरामा भने फागुन २७ मा विमोचन भयो–गृह विमोचन । संयोग यो पनि थियो कि दुवै विमोचनमा म पनि उपस्थित थिएँ ।
विमोचन हुनुभन्दा अघि नै चर्चाको बाटो समाइसकेको थियो नथियाले । जसले पाठकलाई एकपटक भए पनि पढ््नुपर्छ भन्ने हुटहुटी जगायो । त्यसमध्ये म पनि एक थिएँ–‘पाठक’ । प्रोमो तथा सामाजिक सञ्जालमा चर्चा चुलिँदो थियो । प्रकाशन नहुँदै ‘वरिष्ठ’ एवं ‘राष्ट्रिय’ लेखकहरुको वालमा ‘नयाँ पाठक’हरुलाई पढ्नका लागि एक हिसाबले सिफारिस प्राप्त कृति जस्तो भइसकेको थियो । खास कस्तो छ त ‘नथिया’को भित्री गुत्थी ? पाण्डुलिपि पढ्नेहरुलाई मात्र थाहा थियो ।
पश्चिम नेपालको दाङ जिल्ला । तत्कालीन राप्ती अञ्चलको एक मुख्य व्यापारिक, आर्थिक, भौगोलिक केन्द्र । तराई(भित्री मधेस) को एक जिल्ला हो दाङ । जहाँ मौसमले सताउँछ, कहिले रापिलो घाम भएर त कहिले धमिलो हुस्सु बनेर ठिहि¥याइदिन्छ–दैनिकीहरु ।
त्यही दाङ – ‘पक्रैया’(हालको घोराही शान्तिनगरटोल) ठाउँको वादी समुदायको बारेमा लेखिएको एउटा उपन्यास हो – ‘नथिया’ । ‘सामली’ पात्रलाई मुख्य पात्र बनाएर लेखिएको यो उपन्यासकी लेखक कवि सरस्वती प्रतिक्षा हुन् । यस उपन्याससँगै उनको नामको पछाडि ‘कवि’ सँगै ‘उपन्यासकार’ पनि जोडियो । वाहवाही सँगै आलोचकहरुबाट आलोचनासमेत पायो–कृतिले ।
...
मैले ‘नथिया’ पढिसकाएँ । बाहिर खोलमा लेखिएको थियो उपन्यासको मुख्य ‘कोटेसन’,‘वदिनीको छोरी हुनु भन्याको आफू मात्त दुःखी हुनु रह्याछ ! आफ्नो कारन्ले अरु सप्पै खुसि हुनु रह्याछ !–सामली’ ।
यसअघि पनि कुनै स्थान र भूगोललाई मानक बनाएर नेपाली उपन्यास नलेखिएका भने होइनन् । विभिन्न समयान्तरमा विविध भूगोल एवं संस्कृतिमाथि कृति लेख्ने काम हुँदै आएको छ । नयनराज पाण्डे, बुद्धिसागर, यज्ञश, विवेक ओझा, राज सरगम, अमर न्यौपाने यिनै हुन् मैले पढेका नामहरु कुनै भूगोलको भाषा, संस्कृति, रहनसहनलाई ‘इस्यु’ बनाएर लेखेका लेखकहरु ।
...
पढिसकेपछि वादी समुदायमाथि लेखिएको एउटा प्रतिवेदन जस्तो लाग्यो ‘नथिया’ । पश्चिम नेपालको दाङ त्यस वरिपरिका जिल्लाहरुमा बसोबास गर्ने वादी समुदायको यथार्थ चित्रण छ – कृतिमा ।
२०३६ देखि ४५ को मितिलाई प्रमुख समय मानेर लेखिएको यो उपन्यास इतिहासको एउटा उत्खनन् पनि हो । सत्य र तथ्य कुराहरु पनि उपन्यासमा समावेश छन् । पुरातन, रुढिवाढी र पुरुषवाढी सोचमाथि धावा बोल्ने काम गरेको छ उपन्यासले । वादी समुदाय र त्यस बेला उनीहरुले गर्ने देहव्यापार तथा समाजको दृष्टिकोणको अभिलेख पनि हो ‘नथिया ।’
वादीहरुको पक्षमा उभिएको कृति पनि हो –उपन्यास । जसले सत्यको वकालत गरेको छ ।
अन्तिम पेजमा जब सामली विद्रोहका साथ नथिया लगाएर राजधानीतर्फ लाग्छे सायद त्यो नै कृतिको खास सुन्दर पक्ष हो । नारीहरु कहिल्यै पुरुषको खेलौना मात्र बनि बस्दैनन् भन्ने ‘सेन्स’ उपन्यासको अन्तिम पेजले दिन्छ ।
‘सामली ओ ! सामली !’
मुखबाट भने अनायसै अर्कै शब्द फुस्कियो–
‘बघिनी ओ ! बघिनी’ (पेज नं. २७८)
सामलीको अनुहारमा बघिनी देख्नु र बघिनीको अनुहारमा सामली देख्नु साँच्चै एउटा विद्रोहको अनुहार देखिनु हो । सामली घाइते थिई–यो समाजबाट, यो कानुनबाट, यो पुरुषवादी सोचको कुण्ठा पालेर बसेका मान्छेहरुबाट । सबैले सुन्दै आएको कथन नै छ कि घाइते बाघको झम्टाई मात्र नभएर गर्जन पनि डरलाग्दो हुन्छ ।
पुस्तकको पेज नं ८९देखि पेज नं ९४ सम्म समावेश वादी समुदायमाथिको ‘मिथक’ र ‘प्रतीक’ले कम्तीमा यो पुस्तकले इतिहासको भूमिका निर्वाह गरिदिने छ । आउँदो पुस्ताले समेत पुस्तक पढेर नजिकबाट चिन्नेछन्–वादीहरुलाई । त्यो समयलाई । त्यो परिवेशलाई ।
तर
उपन्यासकारले कृति विमोचन समारोहमा धेरैपटक प्रयोगमा ल्याएको शब्द र बोलेको कुरा हो – ‘९५ प्रतिशत तथ्यमा आधारित ।’ अलिअलि बाहिर आएको हो पनि कुरा कि खोज र अनुसन्धानका लागि लेखक १८÷१९ दिन पश्चिम नेपालको विभिन्न ठाउँमा गएकी हुन् । सत्य उनैलाई थाहा होला ।
भाषा मान्छेको चिनारी हो । ‘नथिया’को पनि आफ्नै भाषा छ–कविताको काव्यिक भाषा । यहाँ भन्न खोजेको भाषा पात्रहरुको हो, त्यस ठाउँको हो, त्यस पक्रैयाको हो, दाङको हो, राप्तीको हो, मध्यपश्चिमाञ्चलको हो ।
तर नथियाका पात्रको लवज त्यो भूगोलको होइन, जहाँको सेटिङमा उपन्यास लेखिएको छ । दाङकै र त्यहाँ पुगेका कसैले नथियामा दाङको भनेर भनिएको लवज र भाषा भेट्न सक्दैन । ‘वदिनीको छोरी हुनु भन्याको आफू मात्त दुःखी हुनु रह्याछ ! आफ्नो कारन्ले अरु सप्पै खुसि हुनु रह्याछ,’ भनेर जसरी सामलीलाई बोलाइएको छ । त्यसरी दाङका कुनै समुदाय बोल्दैनन् ।
दाङका वादी समुदायले बोल्ने लवज भनेको सल्यानी लवज हो । ‘वदिनीको छोरी हुनु भन्याको आफू मात्रै दुखी हुनु रह्याउछ, आफ्नो कारनले सप्पै सुखी हुनु रह्याउछ,’ यो वाक्य हुन सक्थ्यो उपन्यासमा ।
दाङतिर बोलिने लवजमा हेक्का नराख्दा पाठक भ्रमित हुन्छन् । गलत लवजको प्रयोग एउटा मुख्य समस्याको रुपमा देखा परेको छ । यसले पााठकलाई गलत सूचना पनि प्रदान गरेको छ । दाङको लवज भनेर अन्तैको लवज राख्दा कसरी यथार्थपरक मान्न सकिएला ? लेखकका कमजोरी भाषा सम्पादकले सच्याइदिएको भए पनि हुने ! लेखकले संवादहरुको सन्दर्भमा स्थानीय वादीकै ‘भ्वाइस रेकर्ड’ छ भनिन्, के यो सम्भव हुन सक्ला ?
नथिया पढ्दै गर्दा वादी समुदायको नकारात्मक कुरा मात्र ल्याइयो, रुन्चे साहित्य लेखेर वादी समुदायलाई ‘विचरा’को सूचीमा राख्न खोजिएको हो कि जस्तो पनि लाग्छ । समाधानको बाटो स्पष्ट देखाइएको छैन । अझ मुख्य कुरा त एक जीवनको एक अध्याय नै लुकेको छ–उपन्यासमा ।
लाग्छ–यो कुनै धारावाहिक सिरियल हो र यसको अर्को शृंखलामा खास जवाफ आउने छ । चर्चित हिन्दी फिल्म बाहुबली जस्तै यो उपन्यासले पनि एउटा रहस्य छोडेको छ ।
अन्तिम अध्यायमा सामलीलाई समाजको मूल्य र मान्यतासँग विद्रोह गरेर राजधानी गएको देखाइएको छ र सुरुमा विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि लिने प्रथम वादी महिलामा सुजाता वादी । सुजाता सामलीकै छोरी भएको पनि स्पष्ट छ । त्यसबीचको भाग भने लुकाइएको छ ।
सामलीले राजधानी या अन्त कतै गएर पनि पक्कै दुःखहरु गरिन् होला । संघर्ष गरिन् होला । फेरि जुधिन् होला समस्याहरुसँग त्यो स्पष्ट देखाइएको छैन, के विद्रोह गरेर अप्ठेरो समयमा गृहत्याग गर्नु मात्रै सामलीको सफलताको कथा हो ? नथिया भाग–२ को तयारी हुँदै छ ? आम महिलाले जस्तै सामलीले अरु दुख गरिन् होला पनि भन्न सकिदैन । किनभने उपन्यासमा नै यौन पेसाबाट मुक्ति अरु उपाय नभेटाए पछि फेरी उही धन्धामा लाग्नुपर्ने ‘सिन’न पनि छ ।
...
‘अक्सर पे्रम नाममा र कहिलेकाहीं विवाहको नाममा झुक्काइको खेल बडो रोचक ढंगले चल्थ्यो ।’ (पेज नं २१) झुक्काइको खेल कहिलेदेखि रोचक खेल हुन थाल्यो ? झुक्काउने खेल आफैमा डरलाग्दो खेल हो । आफैमा घातको कुरा हो । झक्काइ र रोचकबीच कुनै सम्बन्ध छैन ।
पेज नं ६४ मा नाउसँग कपाल काट्ने प्रसंग आएको छ, जुन गलत हो । त्यतिबेला नाउको नाममा १÷२ बाहेक धेरै पसलहरु थिएनन् । त्यस्तो चेतनाको विकास नभई सकेको बेला वादीहरु नाउकहाँ कपाल खौरिन जान्थे भन्ने कुरा मिथ्या लाग्छ ।
पेज नं. ५६ मा युवा भिक्षुको प्रसंग आएको छ । लेखकले प्रष्ट पारेका छैनन् ती भिक्षु आखिर कुन समुदायका माहिलो सन्तान हुन्,थकाली, तामाङ, गुरुङ या मगरका ? कसरी दाङ पुगे ? यसले पाठकलाई दुविधामा पार्ने काम गरेको छ ।
नयाँ प्रयोगका नाममा कतिपय कुराहरुलाई बढी नै महत्व दिइएको छ–उपन्यासमा । जबर्जस्ती दर्शनका कुरा राखेर शब्द मात्र पेल्नु लेखकको कमजोरी भइदिएको छ । यो आरोप लाग्ने नेपाली लेखकहरुमा सरस्वती प्रतिक्षा मात्र पनि होइनन् । अहिले नेपाली साहित्यमा देखिएको सबैभन्दा ठूलो समस्या नै कथा भन्न हतार गर्नु र पात्रहरु चुन्न नसक्नु रहेको छ, यसबाट उठेर कहिले आउँलान मौलिक अनुहारमा नयाँ लेखकहरु ? अब यस्तो लाग्दैछ ।
उपन्यासमा अर्को झर्को लाग्ने डाइलग पनि बारबार दोहोरिरहन्छ त्यो हो–‘आदेश र आग्रह’ सायद यो शब्द लेखकको प्रिय शब्द होला । बारम्बार आईरहने शब्द प्रायः प्रिय भित्रै पर्ने गर्दछ ।
पेज नं.१२६ मा सामली र रेञ्जर १५÷१५ दिनको अन्तरालमा वादीबस्ती जाने प्रसंग छ फेरी पेज ३१ मै सामलीलाई आमाभाई कस्तो होलान्, हुरी खोला कस्तो होला भन्ने ? प्रश्नले गाँजेको छ । यतिबेला कथा आफैमा दोहोरो भूमिकामा आइदिन्छ । कस्को कुरा सहि हो भन्ने दुविधामा पार्छ ।
सामली हुन् उपन्यास की मुख्य पात्र तर ऊ संगै जोडिएर आउने अन्य पात्रहरु पनि कम महत्वका थिएनन् । तर लेखकद्वारा सामली मुख्य हुन देखाउनकालागि नै भए पनि बलजफ्टी गायब पारिएकाछन् कतिपय पात्रहरुलाई । प्रेम आफैमा सुन्दर कुरा हो ।
जय नेपाल संगको प्रेमलाई सामलीले किन नकारी ? दिवाकरसंगको प्रेमले आजीवन एक्लै रहन सक्छे भने जयनेपाललाई नअंगाल्नुको कारण चाहिं धन हो कि अर्थोक केही ?
लेखक सरस्वती प्रतीक्षाकृत नथियाले समग्रमा वादी समुदायको बारेमा नकारात्मक कुरा र दुखलाई मात्र अगाडी ल्याएको छ । स्पष्ट धारणाको अभावमा अलपत्र छ कथा । कहीं अत्याधिक शब्दहरु राखिएको छ त कहि वर्णन गर्नुपर्ने ठाउँमा पनि कञ्जुस्याईं । सामली मुख्य पात्र हुन् उपन्यासको ।
उपन्यासमा उपस्थिति धेरै ठाउँमा छ उनको । प्रमुख पात्र भएपछि आउनु पनि जरुरी नै छ । तर कतिपय ठाउँमा लेखकले आफ्नो कुण्ठा पोख्नका लागि जबरजस्ती ल्याएको जस्तो देखिन्छ । बुधे, रेञ्जर र जय नेपाल जस्ता उपन्यासबाट नै हराइजाने पात्रहरु वास्तवमा खास मुख्य पात्र जस्ता लाग्छन् ।
विद्रोही भनेर चित्रण गरिएकी सामलीको बिद्रोही चाल देखिदैन । बरु आत्मसमर्पण देखिन्छ । आधुनिक सोंचको देखाउन खोज्दाखोज्दै पनि उही पुरानै सीता,गीता जस्तो भक्ति भएकी छे ।
घोराहीको पक्रैयामा बस्थे पहिला वादीहरु । बहुदल आईसकेपछि रोल्पाबाट पहिलो पटक लाल बहादुर रोकाले सो वस्तीमा जग्गा किने । यही क्रम बढ्दै गएपछि क्रमशः बिस्थापित भएकाहुन् उनीहरु । त्यो ठाउँ पछि गएर लोहासुर÷शान्तिनगर भयो । अचेल धेरै जसो खोला नजिकैको ऐलानी जग्गामा बस्छन् ।
यसरी हेर्दै, पढ्दै र बुझ्दै जाँदा नथिया के लाग्छ भने नथिया नाकमा लगाईयो भने त्यो स्त्री सुन्दर देखिन्छे, सुन्दरी हुन्छे तर त्यही नथिया नाइटोमा लगायो भने ’भल्गर’ र कुरुप । आफ्नै आदिम सौन्दर्यमाथिको उपहास । म अझै स्पष्ट हुन सकिरहेको छैन खास नथियाले लगाएको नथिया नाकमा कि नाइटोमा ?
समग्रमा उत्कृष्ट छ नथिया । वादी समुदायको इतिहासको पर्दा खोलिदिएको छ । अबुझ र जानकार नभएकालाई एउटा राम्रो सुचना भएको छ । कम्तिमा पुस्तक पढ्नेले वादीहरुको संघर्ष पढ्नेछन् । दाङ चिन्नेछन् । युद्ध भन्दा भएंकर गुप्त इतिहास बुझ्नेछन् ।
आशा छ आउने दिनमा प्रिय कवि तथा उपन्यासकार सरस्वती प्रतिक्षाको अर्को कृति थप उत्कृष्ट र परिस्कृत रुपमा आउनेछ । कविहरुले आख्यान लेख्नु आफैले आफैलाई चुनौती थप्नु हो । पहिलो आख्यान एउटा पहाड हो भने त्यसलाई जितेर अर्को राम्रो कृति लेख्न सक्नु अर्को उचाईको पहाड । उक्लन नसकेर ओरालो झर्नेहरुको भीडमा सफलताको शुभकामना छ सरस्वती प्रतिक्षालाई !
अर्काइभ
Comments
Post a Comment