कोही त छ माया गर्ने, साथ दिने....
![]() |
Photo: Dhurba Kc |
विकास रोकामगर
२२ बैशाख, पोखरा
(अनलाइनखबर र पोखरेली न्युजमा प्रकाशित)
मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्नेदिन ।
आँगनमा एउटी महिला छिन् । उनको काखमा एउटा सानो बच्चा देखिन्छ । ती आमा बच्चालाई शरीरभरि तेल लगाइदिन्छिन् । बच्चा रुन्छ । फकाउँदै फकाउँदै स्तनपान गराउँछिन् ।
शनिबार मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन पोखरा छोरेपाटनस्थित मानव सेवा आश्रममा देखिएको दृश्य हो यो । त्यहाँको होहल्ला र भीडभन्दा केही पर बसेकी उनी चुपचाप थिइन् । उनलाई कुनै कुराको मतलब थिएन । वास्ता थिएन । थियो त केवल आफ्नै सन्तान स्याहार्नुमा ।
पछि थाहा भयो उनको त्यो सन्तान बलात्कारपछि जन्मिएको रहेछ । आश्रमले केही समय अघि उनलाई सडकबाट उठाएर त्यहाँ ल्याएको रहेछ । ती महिलाले सन्तान पनि त्यही आश्रममै जन्माएकी रहेछिन् । उनले बच्चा जन्माएको पनि केही महिनामात्रै भएको रहेछ ।
०००
आश्रम छिर्ने गेट छेउको शीतल छायाँ भागमा बसेर एउटी बूढी आमा अर्को आमासँग बात मार्दै थिइन् । ‘आज त आमाको मुख हेर्ने दिन हो रे नि ! मेरो त छोरो आउँछ होला,’ भन्दै थिइन् ।
ती आमाको कुरा सुनिरहेकी अर्की आमाको टाउको मुडुलो थियो । अर्थात कपाल सबै खौरिएको । छोरा आउने प्रसंग नसकिँदै उनले पनि जवाफ दिइन्, ‘मेरो नि आउला नि । त्यसो भए । आज मेरैमा बस है । घर नजाऊ ।’
दिउँसोको पारिलो घामबाट बच्न शीतल छायाँमा बसेका थिए – ५÷७ जनाका आमा समूह । उनीहरुका सन्तान हातमा फलफूल या उपहार लिएर त्यहाँ आउँछन् आउँदैनन् थाहा भएन । तर, उनीहरु अत्यन्तै आशावादी देखिन्थे । गेटबाट भित्र जोकोहीको अनुहारमा पनि आफ्नै सन्तानको छायाँ खोजिरहेको भान पथ्र्यो ।
ती आपसमा गफ चुटिरहेका महिलाको झुन्डभन्दा अलि पर ठूलो स्टेज थियो । त्यहाँ एउटा संस्थाले मातातीर्थ औंशीको अवसरमा फलफूल वितरण गरिरहेको थियो । आश्रमका कर्मचारी उनीहरुलाई सघाइरहेका थिए । फलफूल र बिस्कुट पाइसकेपछि उनीहरुको अनुहारमा खुसीको अर्कै चमक प्रष्टै देख्न सकिन्थ्यो ।
छेउछाउमा उनीहरुजस्तै धेरै वृद्धवृद्धा थिए । अनेकअनेक हर्कत गरिरहेका । उनीहरुलाई हेरेर सहजै अनुमान लगाउन सकिन्थ्यो कि उनीहरु मानसिक रुपमा विक्षिप्त छन् । त्यही भीडबाट अर्को एकजना अधवैंशे पुरुष बोल्छन्, ‘ह्याँ त सब्बै बौला आइचन् । म पनि बौला भैचु ।’ टाउको कन्याउँदै उनी शौचालयतिर लागे ।
मानव सेवा आश्रम तिनै सडकमा वेवारिशे भेटिनेहरुको आश्रय बनेर उभिएको छ । माया र साथको अभावमा भौतारिरहनेहरुलाई साथ दिन उभिएको छ । माया गर्न उभिएको छ ।
आश्रमको केन्द्रिय कार्यालय हेटौंडामा छ । पोखरामा भएको आश्रम त्यसैको शाखा हो । जुन शाखाले चैत १७ गतेमात्रै स्थापना भएको पहिलो वार्षिकी मनायो । पोखरा तथा यस वरिपरिका सडकमा वेवारिशे नागरिकलाई उद्दार गर्न खुलेको यस संस्थामा हाल ५६ जना नागरिक छन् । जसमध्ये ४३ जना पुरुष, ४१ जना महिला र २ जना बालक छन् ।
संस्थाका पोखरा शाखा संयोजक होमनाथ तिमिल्सिनाका अनुसार १ वर्षे अवधिमा हालसम्म संस्थाले पोखराका २ सय भन्दा बढीलाई उद्दार गरिसकेको छ ।
‘हामीले सडकमा वेवारिशे अवस्थामा भेटिएका धेरैलाई उद्दार गरिसकेका छौं,’ तिमिल्सिनाले भने, ‘त्यसमध्ये कसैलाई पुनस्र्थापना, पारिवारिक पुनर्मिलन गरायौं भने कसैको यहीं मृत्यु भयो ।’
उनले पोखराका मात्रै नभएर तनहुँ र स्याङजाका सडकमा भेटिएका वृद्धवृद्धालाई पनि उद्दार गरिरहेको सुनाए । ७ रोपनी क्षेत्रफलमा उक्त आश्रमले प्रत्येक मंगलबार र शनिबार रात्रीकालीन सडक सेवा चलाइरहेको तिमिल्सिना बताउँछन् ।
‘हप्ताको २ दिन हामी सडकसडक गएरै वेवारिशेहरुलाई उद्दार गरिरहेका छौं । सडकमा भेटिनेहरु प्राय मानसिक समस्या भएकाहरु हुनुहुन्छ,’ उनले भने । उनले अहिले धेरैजस्तो वृद्धवृद्धालाई स्थानीय तहले नै सिफारिश गरेर पनि आश्रममा पठाइरहेको उनले खुलाए ।
आश्रमले पोखरा स्याङजामा ६३ रोपनी क्षेत्रफलमा अर्को आश्रम विस्तार गर्ने योजना बनाएको छ । यसको मुख्य उद्देश्य भनेको पोखरामात्रै नभइ गण्डकी प्रदेशलाई नै २०७८ सम्ममा सडकछाप मुक्त प्रदेश घोषणा गर्ने लक्ष्य रहेको तिमिल्सिना बताउँछन् ।
‘मुख्य समस्या भनेको सडक बालबालिका रहेछन् । उनीहरु सबै दूव्र्यसनी छन् । उनीहरुलाई पनि हामी उद्दार गर्छौं भनेर सोचेका थियौं,’ उनले भने, ‘तर गण्डकी प्रदेश सरकारले कुनै एनजिओसँग समन्वय गरेर जिम्मा लगाइसकेको रहेछ ।’
आश्रममा भएका व्यक्तिलाई सहयोगबाटै बास, गास कपास पु¥याइरहेको संयोजक तिमिल्सिना बताउँछन् । ‘हामी विदेशी दातृ निकायबाट सहयोग लिदिँनौं । जन्मदिन, ब्रतबन्ध, बिहे वर्षसाँठगाँठका अवसरमा दाताहरुले सहयोग गर्नुहुन्छ । त्यसैले पुगिरहेको छ,’ उनले भने । नेपालभरि २०८२ सम्म कुनै पनि व्यक्ति सडकमा भोकै र नांगै बस्नु नपरोस् भनेर अभियानै चलाइरहेको जानकारी उनले दिए ।
आश्रममा ‘अक्षर यात्रा’
नवनीत साहित्य सागर र गजल सन्ध्या पोखराले प्रत्येक महिनाको तेस्रो शनिबार गर्दै आइरहेको ‘अक्षरयात्रा’ कार्यक्रम पोखरा छोरेपाटनस्थित मानव सेवामा पुगेर रचना वाचन गरेका छन् । तत्स्थानीय रचना सिर्जना गरेर १ दर्जनभन्दा साहित्यकारले आआफ्ना रचना सुनाए ।
मानव सेवा र बद्लिँदै गएको नकारात्मक सामाजिक मानसिकता प्रति उनीहरुले साहित्य सिर्जनाबाटै व्यंग्य गरे । उनीहरुले साहित्यबाटै आमा र मातृत्वको गुणगान गाए । छोराछोरीलाई पहिले आमाले जिऊज्यान लगाएर हुर्काउने तर, पछि तिनै सन्तान हुर्किएर वेवास्ता गर्ने तीतो यर्थाथ पोखे ।
‘सानो हुँदै कहिल्यै काख नछोड्ने तिमीकति चाँडै ठूलो भएछौ ?कति सजिलै आमा छोड्ने भइसकेछौ ।’
कवि टीका क्षेत्रीले ‘छोरा’ कविताबाट आमा र छोराको बिग्रँदो सम्बन्धमा प्रहार गरिन् । मातातीर्थ औंशीकोे दिनमात्रै देखावटी रुपमा आमाको तस्वीर सामाजिक सञ्जालमा राखेर चाडका रुपमा मनाउने चलनबारे कवि डिल्लीराम भुषालले कटाक्ष गरे । उनले कविताबाटै भने, ‘आमाहरु अचेल ट्विट या फेसबुकमा स्टाट्समा मात्रै भेटिन्छिन् ।’
अर्काइभ
Comments
Post a Comment