विकल्पको वैकल्पिक खोजी यात्रा


विकास रोकामगर
(समाधान दैनिकमा प्रकाशित)
पोखरा, २ जेठ
विद्यालयमा पढ्दा बाटै चञ्चले थिए, उनी ।

नयाँ कुराको अवलोकन र सोंचले नै उनलाई केही फरक रहन र गर्न प्रेरित गथ्र्यो । तनहुँ जिल्लामा जन्मिएका उनी सानै देखि विज्ञान तथा प्रविधिसँग अथाह रुची राख्दथे । नेपालमा पाइने कच्चा पदार्थ बाटै उत्पादन हुनुपर्छ भन्ने सपनाको विकल्पमा थिए । त्यसैको लागि दिनरात मेहेनत पनि गर्थे ।

सानै देखि बाल क्लब बाट आफ्नो कुरा राख्दै आएका उनी अचेल युनाइटेड आइडियाज नेपालको रिसर्च कोर्डिनेटर, रोट्रयाक्ट क्लव अफ लेकसाइडको व्यक्तित्व विकास प्रमुख, एभरेस्ट टेक्नोमेनिया प्रा.ली.को सिस्टम डेभलपरका रुपमा सक्रिय छन् ।

उनी अर्थात विकल्प ढुंगाना (१९), टिनएज सकिंदै गरेको एक यूवा । यो उमेर भनेको रमाईलोमा भुल्ने या फजुलतामा रमाउने समय हो । तर यही यही समय र यही उमेरबाट युवा वैज्ञानिकका रुपमा उदाएका छन्, विकल्प । उनी सम्भावनाका अर्का राम्रा विकल्प पनि हुन् ।

साना तथा राष्ट्रियस्तरका पुरस्कार तथा सम्मान पाइसकेका उनी पर्यावरणीय महत्वका धेरै प्रविधिको खोज तथा अनुसन्धानमा व्यस्त छन् ।

विद्यालय जीवनबाटै विज्ञानसँग नजिकको सम्बन्ध राखेर नयाँ नयाँ प्रविधिको आविस्कार गरेका छन् । कुलत र कुसंस्कारलाई अंगालेर भविष्य अध्याँरो बनाईरहेका लाखौं नेपाली युवामा ढुंगाना एउटा राम्रो विकल्पको रुपमा उभिए । साधारण मान्छेले सोचे भन्दा फरक वैज्ञानिक उपकरणको आविस्कार गरेर सानै उमेरमा विभिन्न सम्मान तथा पुरस्कारबाट पुरस्कृत पनि भए ।

अहिले उनी युवालाई आफूले जानेका, भोगेको कुरा सुनाउँदै र सिकाउँदै हिँड्छन् ।

कुनै एकदिन परिवारसँग बसेर टिभी हेर्ने क्रममै मैले पनि केही गर्नुपर्छ भन्ने लागेको उनी सुनाउँछन् । ‘टिभी हेर्दै गर्दा एउटा साइन्स प्रोजेक्टको प्रोग्राम आयो, पछि ममीले पनि हाम्रा छोराले पनि यस्तो काम गर्नसक्ने भए कस्तो राम्रो हुन्थ्यो भन्नु भो,’ उनले स्मरण गरे, ‘त्यसपछि मैले साइन्सतिर बढी लगाव लगाउन थालें ।’ अरुले गर्छन्, गरे , आफू पनि मान्छे त हो बनाउन सकिन्छ भन्ने लागेर नै विकल्पको खाजीमा लागेको उनी सगर्व बताउँछन् ।

विद्यालय स्तरमा पढ्दा उनले पहिलो पटक इलेक्ट्रिक डोजर बनाए । जस्ले दुर्घटनामा परेका सवारी साधनलाई तत्काल उद्दार गरेर सम्भावित क्षतिलाई कम गर्न मद्दत पुग्छ । त्यसबेला नै विश्व विज्ञानले ओगेटेको छ भन्ने बुझे र आफ्नो देशको बारेमा जान्न खोजे । तर आफ्नो देश विज्ञान प्रविधिमा विकशित नभईसकेको उनले पत्ता लगाए ।


‘हाम्रो देश त साइन्समा जिरो नै रहेछ, हामीले केही गरौं भन्दा पनि जिरो लेवल देखि नै सुरु गर्नुपर्ने,’ उनले भने ।
‘पहिलो पटक अविस्कार गरेपनि देखाउने ठाउँ नै हुन्थेन्, त्यसले हामीमा निराशा ल्याउँथ्यो,’ उनले पुराना दिन सम्झिए । तर त्यतिबेला तनहुँकै एक बाल क्लबमा आबद्ध भएर त्यसै मार्फत आफ्नो प्रतिभालाई बाहिर ल्याए ।

विज्ञानसँग सम्बन्धित कार्यक्रम गर्न थाले । जसबाट उनले नयाँ साथिहरुको पनि साथ र हौसला पाउँदै गए । विकल्प मुस्कुराउँदै भन्छन्, ‘मलाई त अगाडी आउनु थियो, साथसाथै अरुलाई पनि बाहिर ल्याउनु थियो ।’

इलेक्ट्रिक डोजरसँगै विज्ञानको बाटोमा प्रवेश गरेका उनी त्यस यता सोही क्षेत्र मै मेहेनतका साथ लागि परे ।

उनको उत्साह अहिले पनि घटेको छैन । उनी एकपछि अर्को गर्दै निरन्तर आविस्कारमै क्रियाशील छन् सफलता पनि पाई रहेका छन् । उनलाई अर्झ नयाँ के गर्न सकिन्छ भन्ने कुराको भोक छ ।


पछि उनले पुलिस रोबट बनाए । त्यो उनको लागि पनि महत्वपूर्ण थियो नै सँगसँगै ट्राफिक प्रहरीका लागि पनि अत्यन्तै महत्व बोकेको अविस्कार थियो, पुलिस रोबट । ‘मैले रोबट बनाउने बेला  देशमा आन्दोलन भइरहेको थियो । जताजतै घाइते र मरेको समाचार मात्र आउँथ्यो,’ उनले अविस्कारको पृष्ठभूमिका बारेमा भने,‘ अनि त्यसको पनि विकल्प खोजेर पुलिस रोबट बनाउनतिर लागें र सफल पनि भएँ ।’ रोबटले भीडलाई रोक्न र दंगा हुन नदिन सहयोग गर्ने ढुंगानाले बताए ।

पहिले पहिले ढुंगानाले फुटवल खेल्ने रोबट, जमिन, पानी र आकासमा चल्ने गाडी, म्यानुअल लोडिङ एन्ड लिफ्टिङ रोबटका दुई प्रकार, घाँस काट्ने रोबट, वातावरणमैत्री सवारीसाधन, भ्याकुम क्लिनिङ रोवटका दुई प्रकार, हेलिकप्टर, केवलकारको नमुना, ¥यापिड बम डिस्फोजल रोवट, डोर अलर्टिङ सेन्सर लगायतका प्रविधि बनाए ।

धेरै प्रविधिको अविस्कार गरिसके पनि सन्तुष्टीको बाटोमा उनी जान सकेनन् । बरु नयाँ के गर्न सकिन्छ भन्ने कुरामा रातदिन खोज गर्न थाले । यो कुरा थियो नेपालमाथि भारतले लगाएको नाकाबन्दीको समय । घन्टौं लाइन लागेर पेट्रोल डिजेल लिनेहरुको लाइन उनले पनि मज्जाले भोगे र सोचे, ‘अव यसको पनि विकल्प खोजिनुपर्छ । हामी कसैको गुलाम होइनौं । समस्याको समाधान हामीसँग पनि छ ।’

जुन सोलार घरको छानामा, भित्तामा घरको वैकल्पिक उर्जाको रुपमा बालिन्छ, त्यही उर्जालाई सवारीसाधनमा राखेर पनि चलाउन सकिन्छ भन्ने उनले सुरुमा पत्ता लगाए । यसको लागि नेपाल अक्याडेमी अफ् साइन्स एन्ड टेक्नोलोजी (नास्ट) मा केही महिना सोलार सम्बन्धि अध्ययन पनि गरे । धेरैले सोलार स्कुटरको प्रोजेक्ट राम्रो छ, गर्नु प¥र्यो भनेर उनलाई प्रोत्साहन गरे तर सहयोग कसैले गरेनन् ।

‘भेट्नुपर्ने सबै मन्त्री र मान्छे भेटें तर कहींबाट कुनै रेस्पोन्स आएन र ४ महिनापछि आफ्नै खर्चमा तयार पारें,’ उनले दुखेसो पोखे । कसैले आर्थिक सहयोग नगरे पनि उनलाई पनि गर्न सक्छु भन्ने आत्मविश्वास भयो र प्रोजेक्टमा लागे । उनले सोलार स्कुटर पूर्ण रुपमा तयार हुन १ वर्षको समय गएको बताए ।

सोलार स्कुटर तयार भइसकेपछि पनि कुनै राजनैतिक पार्टी र मिडियाले साथ नदिएको उनी बताउँछन्, उनको नजरमा मिडिया भनेका राजनैतिक पार्टीका पछि लाग्ने मात्रै हुन् । त्यतिबेला तत्कालिन विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाले थिए । उनले उद्घाटन गर्ने मितीको २ दिन पछि आएर सुभारम्भ गरिदिएका थिए । सरकारले विज्ञान तथा प्रविधि मात्र होइन, युवालाई समेत महत्व नदिएको उनी खिन्न देखिन्थे ।

ढुंगाना ९ वर्षकै उमेर देखि विज्ञान क्षेत्रमा प्रवेश गरेको हुन्, त्यतिबेला उनी जम्मा ४ मा पढ्थे । अहिले उमेरले १० वर्ष विज्ञान क्षेत्रमै बिताएका छन् । त्यस अवधिमा धेरै उतरचढाव आए, जसरी आए त्यसैगरी नै उनले हल गरे । विज्ञान क्षेत्रमा आइसकेपछि सबैभन्दा धेरै आर्थिक संकट भोग्नुप¥यो उनले ।

आर्थिक संकट र विज्ञानमा औधी रुचि भएकै कारण औपचारिक शिक्षालाई एकातिर राखेर दिनरात प्रविधिको प्रेममा छन्, विकल्प । ‘यो खुसी र सुखी हुनुको अर्को विकल्पको खोजी पनि हो,’ उत्साहित हुँदै उनले भने ।

नेपालमा दिनहुँ सडक दुर्घटनाको खबर आउँछ । पत्रपत्रिकामा पनि यस्ता समाचारले नै कभर गरेको हुन्छ । एकदिन विकल्पले खास किन हुन्छ त यो दुर्घटना अनुसन्धान गर्न तिर लागे । उत्तर पत्ता लगाए – मादक पदार्थ सेवन । उनको डाटामा सबैभन्दा बढी दुर्घटनाको कारण नै माधक पदार्थ सेवन थियो ।

अव विकल्प के त ? उनले नयाँ खोजमा हात हाले । आम मानिसले सोचे भन्दा फरक । सबैलाई रोकथाम गर्न नसकिए पनि केही मात्रामा कमी पक्कै गर्न सकिन्छ भन्ने उनलाई लाग्यो । र गर्न सक्छु भन्ने कुरामा उनी ढुक्क थिए । सबै अध्ययन र प्रयोग गरिसकेपछि एउटा नवीन टेक्नोलोजी डिभाइस अविस्कार गरे र नाम दिए सोबी एन्टी अल्कोहल भेइकल प्रोटेक्टिङ सिस्टम (साभ्प्स्) ।

साभ्प्स् एउटा यस्तो डिभाइस हो, जसलाई चालकले प्रयोग गरेपछि मदिरापान अथवा हेल्मेट लगाएको छैनभने सवारी साधन स्टार्ट नहुने हुन्छ । यसले धेरै दुर्घटना रोक्न सक्ने उनी विश्वास राख्छन् । साभ्प्स्लाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पनि मान्यता दिएको छ ।

दमौलीकोे व्यास गुफामा भजन गाउँदा बत्ती बल्ने प्रविधि पनि जडान गरेका छन् । ढुंगानाको यस्ता कुराले मठमन्दिरको प्रचारप्रसार हुने र पर्यटकको संख्या बढ्ने विचार थियो । उनले कृषि क्षेत्रमा प्रयोग तथा उपयुक्त हुने उपकरण पनि निर्माण गरेका छन् । मकै भाच्ने, बिउ छर्ने लगायतका काम गर्न सक्ने उनले बताए ।

‘धेरै ठाउँको मन्दिरमा यो प्रविधि जडान गर्ने लक्ष्य राखेको छु, यसले पर्यटकको संंख्या बढ्छ,’ उनले सुनाए ।

ढुंगानाले नेपालमा स्मार्ट सिटीका चर्चा चलिरहँदा सबैले ट्राफिक लाइट र धुवाँधुलोमा ध्यान दिनुपर्ने बताए । उनी काठमाडौं लगायत देशका प्रमुख सहरमा बढिरहेका धुवाँ विशेष गरी पशुपति क्षेत्रको धुवाँबाट उनी केमिकल रि–युज गर्न सकिने प्रोजेक्टमा काम गर्दैछन् । उनका अनुसार यो काम पूरा भएमा अम्मलीले खाने चुरोटको धुवाँबाट पनि फाइदा लिन सकिने छ । उनको यो खोज अहिले जारी छ । चाँडै सक्ने तयारीमा छ ।

सानो उमेर मै प्रगतिको शीखरमा चढेका उनी सरकारले अझै प्रविधिको क्षेत्रमा सहयोग गरोस् भन्ने चाहन्छन् । विश्व नै प्रविधिमैत्री भइरहेको बेला देश पनि सोही अनुसार चल्नुपर्ने सुझाव दिन्छन् । आफूले जानेको काम सबैलाई सिकाउनुपर्छ भन्ने मान्यता रोट्रयाक्ट क्लव मार्फत स्वयम् सेवकका रुपमा सक्रिए छन् ।

ट्राफिक प्रहरीको सजिलोका लागि मास्क लगाएर सिटी बजाउन मिल्ने मास्क निर्माण गरेका छन् । यसलाई पनि ट्राफिक प्रहरी कास्कीले मान्यता दिएको छ ।

विकल्प नेपाल सरकारले दिने  २०७२÷७३को युवा प्रतिभा तथा उद्यमी पुरस्कार ,२०१७ को जुनिएर साइन्टिस्ट अवार्ड जस्ता धेरै अवार्डबाट सम्मानित भइसकेका छन् । ढुंगाना विज्ञान साँच्चै गाह्रो भन्दा पनि सरकारले नै गाह्रो वातावरण सृजना गरिदिएको भन्ने कुरामा विश्वास राख्छन् ।

‘खासमा विज्ञान गाह्रो कुरा होइन, सामान्य मानिसले पनि नयाँ कुरा पत्ता लगाउन सक्छन् ,’ उनले भने,‘सरकारले यता तर्फ वेवास्ता गर्नाले गाह्रो भएको हो ।’ उनको कुरामा सरकारले पनि सहयोग गरे हुन्थ्यो भन्ने भाव झल्कन्थ्यो ।

ढुंगानाले आफू जस्तै युवालाई आफूभित्र के प्रतिभा छ त्यो चिन्न आग्रह गर्छन् । ‘आफ्नो भित्री प्रतिभामा बगेर काम गर्दा कति मजा हुन्छ त ? त्यो चिने पछि मात्र थाहा हुन्छ,’ उनले भने । आफ्नो प्रतिभा चिनेर काम गर्दा काम काम जस्तो जलाग्ने उनको विचार थियो । धेरै नयाँ खोजको लागि आफूले रिसर्च गरिरहेको उनले सुनाए ।

समस्या देखि नभाग्ने बरु सधैं वैकल्पिक बाटोको खोजीमा रहने विकल्प साहित्यकार पनि हुन् । साहित्यमा रुचि राख्ने ढुंगाना धेरै अविस्कार खोजबाट बाँकी बचेको समय अध्ययनमा विताउँछन् । उपन्यास उनको मनपर्ने विधा हो ।

‘उपन्यास पढ्न खुब मज्जा आउँछ, लेख्छु पनि,’ उनी भन्छन्, ‘ मेरो चाँडै नै साइन्स फिक्सन उपन्यास बजारमा आउँदैछ ।’ उपन्यासको नाम भने अहिले नै सोचिनसकेका ढुंगाना बताउँछन् ।
अर्काइभ

Comments

Popular posts from this blog

‘भाडाका गर्लफ्रेन्ड’

कार्यकर्ता होइन, नागरिक भएर सोच्नुपर्छ – नत्र रैती भइन्छ !

आँखा र आँखा हस्पिटल