सरस्वतीको आँखामा त्यो पोखरा यो पोखरा
विकास रोकामगर
(समाधान दैनिक र नेपाल लाइभमा प्रकाशित )
‘पहिलेको फेवाताल हेरेर त अहिले के के हो के के भइसकेको जस्तो लाग्छ,’ उनी भन्दै थिइन्, ‘दिउँसै डरलाग्ने ठाउँमा अहिले घरैघर बनेर हराइएला भन्ने डर ।’
पहिले पोखरा आउँदा कुनै दिन भव्य सहर हुन्छ र यहाँ टाउको उल्टो उठाएर आकाश हेरे जस्तो घरको छत हेर्नुपर्छ भन्ने लागेकै थिएन सरस्वती बस्नेतलाई(५१) ।
ससाना पक्की घरले सहरको रुपमा मात्रै चिन्न सकिन्थ्यो । घरमा आर्थिक अभाव भएपछि घर बनाउने काम पाइन्छ भनेर परिवार सहित पोखरा आएकी थिइन उनी ः २०५४ सालमा ।
...
पहिले ज्यालामा घर बनाउने काम गर्दा उनको दैनिकी ७ रुपैयाँको चामलले धान्थ्यो । उनी सम्झिन्छिन्, ‘त्यतिबेलाको महङ्गो चामल भनेकै १७ रुपैयाँ प्रतिकेजीको चामल थियो ।’ त्यति रुपैयाँको चामल किन्न पनि नसक्ने र महङ्गो लागेको उनले स्मरण गरिन् । १७ रुपैयाँको चामल खान पाउनु घरमा चिठा नै परेको जस्तो भान हुन्थ्यो उनलाई ।
...
पोखरा आएको २१ वर्षको अवधिमा ५ ठाउँ डेरा सरिन् उनी । कहिले कता त कहिले कता बिरालो जस्तो बालबच्चा बोकेर स्थानान्तरण गरेको बताउँदा उनी हाँस्दै थिइन् ।
अहिले बाराहीघाटमा पसल थापेर बसेको मात्रै १५ वर्ष भइसक्यो ।
‘पहिलेपहिले यहाँ धेरै फुटफाट पसल थिए । तर पछि बाराहीघाट संरक्षण समिति र नगरले हटाएपछि म मात्रै भएको हुँ,’ उनी भन्छिन्, ‘समितिका स्टाफलाई खाना खुवाउन मलाई पसल खोल्न छुट भएको हो ।’
बस्नेतका ४ छोराछोरी छन् । एउटा छोरो बाहिर देश छ । उनकै शब्दमा भन्ने हो भने अरु छोराछोरी लालापाखा लागेकाछन् । श्रीमान उतै घर(धरान) मा छन् । कहिलेकाही पोखरा आउँछन् र श्रीमतीलाई सघाउँछन् ।
जीवनमा धेरै दुखको आयतन नापी सकेकी बस्नेतलाई पैसा नै सबथोक हो भन्ने लाग्छ । ‘पैसाले नै जीवन सिकाउँछ । मैले जीवन पैसाकै अभावले सिकेकी हुँ,’ उनले समाधानलाई भनिन् ।
पोखरा आएर ज्यामी काम धेरै समय गरिन् । त्यतिबेलाको सजिलै पाइने काम पनि त्यही थियो । पछि ढुंगा बोकिन् । कान्छो छोरा जन्मे पछि गह्रौं काम गर्न सकिनन् । खानु त प¥यो नै ।
उनले थालिन्, अरुको घरमा गएर भाँडा माझ्ने, लुगा धुने काम । जिन्दगीमा सबै दुखको अनुभव गरिसकेपछि पनि कुनै गुनासो छैन उनलाई । चाउरिन सुरु गरिसकेका गालामा हल्का मुस्कान ल्याउँदै भनिन्, ‘जे छ भगवान ले नै दिएका हुन् । अब मान्नु परिहाल्यो ।’
उमेरको गाडी विस्तारै बुढ्यौलीतिर लम्कन थालेपछि मात्रै होटल व्यवसायमा आएकी थिइन् बस्नेत । ‘दुखले काम सिकायो र कामले पैसा चिनायो,’ उनी भन्छिन् ।
५४ सालको पोखरा र अहिलेको पोखरामा के फरक पाउनु भएको छ त? भन्ने पंक्तिकारको प्रश्नमा रोकिदै भनिन्, ‘के फरक छैन बाबु ? सबै फरक छ । हामी आउँदा यहाँ (फेवाताल) एउटा मात्रै काठले बनेको डुंगा चल्थ्यो । अहिले त गनिनसक्नु छ ।’ पहिलेको तुलनामा अहिले गन्नै नसकने गोराहरु आउने गरेको उनको अनुभव छ ।
कहिलेकाहीं फेवातालमा बस्नेतपनि आउँथिन् परिवारसँग । दिउँसै हिड्न डर लाग्थ्यो । सुनसान ठाउँमा भएको ताल वरिपरि गाँजा खाने केटाहरु दिनदहाडै रल्लिरहेका हुन्थे ।
‘दिउँसो नै खाउँला जस्तो गर्थे अहिलेको जस्तो रातबिरात उ बेला हिड्न सकिनन्थ्यो,’ उनले विगत फेवातालको स्मरण गरिन् । पहिले भन्दा अहिले धेरै रमाइलो रहेको उनको भनाइ थियो ।
नेपाली धेरै र शौखमा खान आउने विदेशीहरुबाट दिनमा कहिले १ र २ हजार मात्र कमाई हुन्छ त कहिले ४÷५ हजारसम्म । जे होस् कमाई राम्रै भइरहेको छ भन्ने कुरामा उनी खुशी थिइन् ।
पहिले ज्यालामा काम गर्दाताका बस्नेतलाई खान लाउन नै हम्मेहम्मे थियो । थोरै ज्याला र थोरै मूल्यका सामान पनि महङ्गो परे जस्तो ।
उनले भनिन् ‘पहिले पैसाको मूल्य धेरै थियो, अहिले घट्यो ।’ धनको पनि धन थपघट हुने रहेछ भन्ने अर्थशास्त्रीय दर्शन उनलाई थाहा छ । यद्यपि बस्नेत पढेकी भने होइनन् ।
ओखलढुंगा माइत भएकी बस्नेत पोखरा आएर पनि धेरै दुख पाइन् । पेटमा माड हाल्न कहिले काखको छोरा च्यापेर इट्टा उठाउनु पथ्र्याे त कहिले मसला (बालुवा र सिमेन्टको मिश्रण) बोक्नु पथ्र्यो । भारी बोकेर ठाउँमा पु¥याउँदा धेरै शीतल महशुस हुन्थ्यो । जिन्दगीले सधैं भारि बोकिरह्यो उनको । कहिले बिसाएन ।
‘सायद बिसाउन पाएको भए आनन्द हुन्थ्यो,’ उनले भावुक मुद्रामा भनिन् ।
बस्नेतलाई दुखले जहाँ पनि लखेट्छ भन्ने लागेपछि बीचमा धरान घर नै गइदिऊँ र कुनै अर्को काम गरिदिऊँ भन्नेपनि नलागेको होइन । जाने लगभग निर्णय भइसकेको बेला कताकता मनमा कुनै दिन त आफ्नो नाममा होला नी भन्ने लागेपछि रोकिइन् । गइनन् कतै न माइत न घर ।
बस्नेत भन्छिन्, ‘अहिले सम्झँदा नगएर ठिकै गरेकी रहेछु भन्ने लाग्छ ।’
बाराहीघाटमा झुप्रो जस्तो देखिने सानो होटल चलाएर बसेकी उनी । त्यहाँ विहान खाना पकाउँछिन्, दिउँसो तिर चिया र अन्य नास्ताका परिकार तयार पार्छिन् । यताउती सबैतिर ठूलाठूला होटल र रेस्टुरेन्ट खोलिएको देख्दा कुन दिन समितिले हटाउँछ कि भन्ने मनमा चिसो पसेको छ ।
कुराकानीकै क्रममा कुराकाकानीमा भनिन्, ‘छाप्रो जस्तो छ बावु, राम्रो बनाउन पनि दिन्न । यति पनि म आफैले गरेकी हुँ । थाहा छैन कुन दिन उठाउँछ ?’
अर्काइभ
Comments
Post a Comment