‘कोइला’ एक नलेखिएको कला !
२०७६ असार २८ गते १९:४८ मा प्रकाशित
२८ असार, पोखरा । आगो बलिसकेपछि अन्तिममा बच्छ कोइला । मान्छे सोच्छन्, ‘आगो त बलिसक्यो । काम त टरिसक्यो । यो कोइलाको के काम ? बल्यो, सिद्धियो !’
तर, त्यही ‘कामविहीन’ कोइला कलाकार सुनिल सिग्देलको हकमा भने ठूलो अर्थ राख्छ । बलिसकेको कोइला उनलाई अत्यन्तै दार्शनिक लाग्छ । उनी त्यसैमा कथा भेटाउँछन्, कविता भेटाउँछन् । उनी कोइलामै कला भेटाउँछन् । ‘कोइला नलेखिएका अक्षर हुन् । पीडाका अक्षर हुन् । तपाईंहरु पनि पढ्नुस् कोइलाको अक्षर,’ उनी भन्छन् ।
आम मान्छेले कोइलालाई देखेजस्तो सामान्य ढंगले हेर्दैनन्, सिग्देल । उनलाई लाग्छ कोइलामा सिंगो चित्र छ । भन्छन्, ‘अरुका लागि कोइला सामान्य होला तर मैले कोइला कैयौं अक्षर कुच्चिएर बनेको एउटा सुन्दर चित्रजस्तो लाग्छ ।’
हो, कलाकार सिग्देल यस्तैयस्तै ‘कामविहीन’ चीजमा कथा भेटाउँछन् र त्यसलाई आफ्नो कलामा उतार्छन् ।
र्यान्डम रिडर्स सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार विभिन्न विधाका स्रष्टासँग संवाद र अन्र्तक्रिया गर्दै आइरहेको छ । सोही नियमित कार्यक्रम अन्तर्गत शनिबार सुनिल मञ्चमा उभिए र आफूले चिनेको आफूलाई चिनाउन थाले ।
कला र कलाकारिताका विविध पक्षबारे अनेकअनेक कुरा र आफ्ना अनुभव सबैसँग बाँडे । कलाकार सिग्देल चित्रकला मात्रै नभएर ‘पर्फमेन्स’ आर्टमा पनि पोख्त छन् । केही समयअघिमात्रै उनल एउटा पर्फमेन्स आर्टमा सिग्देलले प्रयोग भइसकेको कपासलाई पुनः प्रयोग गरेर कला देखाए । प्रस्तुतिका लागि उनले मेडिकलमा प्रयोग भइसकेको कपास बटुले आफ्नो शरीरबाट एक कचौरा रगत निकाले र भीडलाई देखाइदिए आफ्नो नविनतम् प्रस्तुति ।
‘सिर्जनशील युवा जत्ति खाडी मुलुक भाँसिन्छन् । नेपालमा रहने भनेको उनीहरुले मेडिकल जाँचका क्रममा रगत जाँच्दा प्रयोग भएको कपासमात्रै हो,’ उनले भने, ‘त्यही थिममा मैले सलाइको काँटी र प्रयोग भइसकेको कपास प्रयोग गरेर प्रस्तुति दिएँ ।’
युवालाई खाडी पठाएर आफूमात्र नेपाल बसेको कपासलाई विम्व बनाएर त्यसैबखत भीडलाई सन्देश पनि दिए, ‘मलाई कान बुज्न प्रयोग गर, मलाई सिँगान पुछ्न प्रयोग गर, मलाई सिरानी बनाऊ, मलाई तिम्रो बच्चाका लागि गुडिया बनाइदेऊ……’
कोइला कहाँ हुन्छ रफगत कोइलामात्रै ?
यी त नलेखिएका अक्षर हुन्,नभनिएका शब्द हुन्, पीडाका..
कोइलामै त लुकेको हुन्छ –हजार शब्दका चित्रयसैमा त हुन्छ कथायसैमा त हुन्छ कविता ।
कोइला शब्द हुन्नभनिएका पीडाका ।#कोइला
सानैदेखि चित्र बनाउन रुचि भएपनि एसएलसी दिएपछि मात्रै आफू व्यवसायिक चित्रकलामा लागेको उनी बताउँछन् ।
‘एसएलसी दिने समयमा एग्रिकल्चर पढाउने एकजना सर हुनुहुन्थ्यो । उहाँ चित्रकलामा पनि पोख्त हुनुहुन्थ्यो,’ सुरुताका दिन सम्झँदै उनले भने, ‘उहाँले प्रायजस्तो हामीलाई विभिन्न चित्रबारे अथ्र्याउनुहुन्थ्यो । सायद उहाँबाटै पहिलो पटक प्रभावित भएँ कि ?’ ती शिक्षकले एउटी युवती नांगो उभिएर बांगो रुखलाई समाइराखेको सामान्य चित्रलाई अनेकथरिबाट अथ्र्याएपछि भने चित्र कोर्न अभिप्रेरित भएको उनले सुनाए ।
सिग्देलले त्रिभुवन विश्वविद्यालयबाट चित्रकलामा डिग्री गरेका छन् । ‘ध्यान चित्रकलामै थियो । कक्षा पनि खासै जाँदिनथेँ । बरु त्यो समयमा कलाकारको स्टुडियो घुम्दै नियाँल्दै बस्थेँ,’ उनले सम्झिए । उनले आफूले बुढी औंला प्रयोग गरेर चित्रकला अनुभव सुनाए ।
सुरुमा उच्च शिक्षाका लागि पोखराबाट काठमाडौं जाँदा त्यहाँ स्थापित हुनैपर्ने बाध्यताले कठोर मेहनत गरेको सिग्देलले सुनाए । ‘५-७ वर्षको अवधिमा पनि स्थापित भइएन भने पोखरामै खाली हात फर्किनुपथ्र्यो । त्यही भएर पैसाका लागि अरुको इच्छा बमोजिम ठमेलमा राति २ बजेसम्म बसेर चित्र बनाएर बेच्न थालें,’ उनले पुरानो दिन सम्झिँदै भने, ‘त्यसरी पैसाका लागि अरुको इच्छानुरुप काम गर्दा त मैले आफ्नै कला मारिरहेको रहेछु । पछि थाहा पाएर त्यो काम छोडिदिएँ ।’
कलाको कहिले पनि नियम नहुने सिग्देललाई लाग्छ । उनी भन्छन्, ‘यदि नियम हुँदो हो पनि त्यसलाई तोड्न कलाकार हरसमय उद्यत रहन्छन् ।’ उनले हरेक चीजको आफैंमा परिचय हुने भएकाले त्यसलाई चिन्न जरुरी रहेको उनले बताए । चीज समयअनुसार आफैं परिमार्जित हुँदै आउने भएकाले आफू व्यक्तिबाट भन्दा पनि माहोलबाट प्रभावित हुने सिग्देल सुनाउँछन् ।
चित्रकलामा सफल हुनुको कारण आफ्नो रुची र ‘नेचर’ मिलेको कलाकार सिग्देल सुनाउँछन् ।
‘पहिले आफूमा नेचर हुनुपर्छ । त्यसपछि मात्रै रुचीको कुरा आउँछ । अनि मात्रै काममा सफल भइन्छ,’ उनी भन्छन् । विदेशमा भन्दा नेपालमा कलालाई साँघुरो रुपमा हेर्ने परिपाटी रहेको उनको अनुभव छ । उनले नेपालले चित्रकला, संगीत र साहित्यमामात्रै अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने दाबी गरे ।
सिग्देलले एकल तथा सामूहिक रुपमा विभिन्न देशमा विभिन्न कला प्रदर्शन गरिसकेका छन् । जापान, डेनमार्क, बंग्लादेश, टाइवान, श्रीलंका, हङकङ र दक्षिण कोरियामा एकल चित्रकला प्रदर्शनी गर्दाको अनुभव सुनाउँदै उनले भने, ‘विदेशतिर सरकारी तवरबाटै चित्रकलालाई राम्रै महत्व दिएर संग्रहालय बनाइएको छ । तर हाम्रोतिर त्यस्तो छैन । कहिले बनाउलान् भन्ने आस पनि छैन ।’
Comments
Post a Comment