अनिँदो भ्रम
![]() |
Pic Source : Google |
अचानक टाढा कतै मादल बजेको सानो आवाज सुनिन्छ । ‘यो मादल बजेको हो,’ गुञ्जिरहेको त्यो आवाज राम्ररी चिन्न नपाउँदै नजिक नजिक आउँछ । यसरी आउँछ कि मादलको त्यो धुन हिजो अस्तिमात्रै प्रिय लागेको अहिले कर्कश लाग्छ । बिल्कुल कर्कश ।
हातमा घडी हुँदैन । खातभन्दा अलिक मुन्तिर राखेको मोबाइलमा हेर्छु – स्क्रिनले रातको २ बजे देखाइरहेको हुन्छ ।
०००
निद्राले छपक्क छोपेको थियो । दिउँसै भन्न मिल्ने साँझको ५ बजे नै सुतें । त्यो भनेको महा अल्छिहरुको गतिलो उदाहरण थियो । जाँगरिलो मान्छेहरुको उदाहरण बन्न सकिनँ । तर ‘अल्छे’हरुको राम्रै उदाहरण भने पक्कै छु ।
निद्रा खुल्यो ।
निद्रा खुल्दा पेटमा भोकले लात्ता हिर्काइरहेको थियो – ड्यामड्याम.... । भोकको हिर्काइ कति गह्रौं हुन्छ भोग्नेलाई मात्रै थाहा हुन्छ । त्यसदिन घाइते भएँ । सुनसान थिएन, हल्ला थियो सबैतिर ।
अचम्म लाग्यो – आज किन मान्छेहरु बिहानै होहल्ला गर्दैछन् ?
(साँझ नपर्दै सुतेर साँझ परेपछि ब्युँझेको बिहानै भएको ठानेको रहेछु । लाज त्यतिबेला लाग्यो जतिबेला मोबाइल हेरें । त्यहाँ साँझ ८ बजेको समय देखाइरहेथ्यो ।)
भोक लाग्यो । खाना पकाउने सामथ्र्य पनि बाँकी छैन शरीरमा । यो भोक साला.. सबै जाँगर आफू लैजान्छ । र उसकै लागि काममा खटाउँछ । झनक्क रिस उठेर आउँछ । रिसाएर पनि के गर्नु ? भोक लाग्ने भनेकै त आफैंलाई हो । आफैंलाई भोक नलागे त कसरी चल्थ्यो र सृष्टि ?
अहो गल्ति गरेछु । बिहान पानी भर्न बिर्सेछु । थोप्पा पानी छैन । केले पकाउने खाना ? अर्को आपत् आइलाग्यो र ममाथि जाइलाग्यो । फिल्टर हेरें – अलिकति पानी रहेछ । कुन भाग्यले पानी फिल्टरमा राखेको रहेछु । हिजोअस्ति कहिले ।
भात तरकारी पकाउन त्यति पानी पर्याप्त थिएन । हुँदैन । जाउलो उमालें । खाएँ । सुत्छु भनेर फेरि ओछ्यानमा आएँ । तर निद्रा ? कठै कहाँ पर्छ र अब ? उहिल्यै पुगिसक्यो नि !
‘निद्रा नलागे फिल्म हेर्नू÷पढ्नू,’ कतै कसैले भनेको सम्झन्छु । त्यसपछि हेर्छु फिल्म – एअरड्रिफ्ट । राम्रो लाग्छ । एउटी केटी समुन्द्रमा आफ्नो प्रेमीसँग घुम्न निस्किएको हुन्छ । जहाँज दुर्घटनामा पर्छ । त्यसपछि त्यो केटीले २१ दिनसम्म समुन्द्रबाट बाहिर निस्किन गरेको संघर्ष गजब लाग्छ ।
फिल्म सकियो । तर निद्रा ? अहँ अझै पर्ने छाँटकाँट छैन ।
त्यसपछि ब्रजेश खनालको साइड हिरो नियाल्न थाल्छु । पोखरामा विमोचन भएकै बेला किनेको भएपनि पढेको थिइनँ । दिउँसोमात्रै ह्वाट द बुक क्लब संस्थाले लेखकसँगै अन्तक्र्रिया गरेको थियो । त्यसका सहजकर्ता थिए – सुदर्शन । उनले मसँग किताब लगेका थिए ।
दिउँसो कोठामा नभएपछि झ्यालबाटै कोठामा फालिदिएका रहेछन् । ओछ्यानमा बेवारिशे किताब देखेपछि त्यो किताब पढ्न थालेको थिएँ ।
आधाभन्दा बढी सकियो । कुकुरहरु पनि भुक्न छाडे । निद्रा पर्ने दूरदूरसम्म कुनै संकेट छैन । तनाव, चिन्ता र अनेकन कुराले एकैपटक मनमा जाल फ्याँक्यो । ‘सुत्नुप¥यो अब त,’ यही सोचेर किताब अर्को बेडमा फालेर पल्टिएँ ।
ठीक त्यही बेला त हो मादल बजेको आवाज सुनेको ।
०००
सपनामा पो छु कि ? एकछिन आफैंलाई नियाल्छु । निद्रामै उठिरहेको पनि त हुनसक्छु ? ढुक्क हुन एकछिनबाहिर हेर्छु । बाटो किनारमा रहेको ल्याम्पपोस्टको ठीक छेउमा छ मेरो कोठा । रात परेपनि ल्याम्पपोस्टको उज्यालो किरणि सधैं मेरो कोठामा परिरहन्छ ।
होइन निद्रामा छैन म । सब त थाहा छ । उठ्छु – पानी पिउँछु । फेरि सुत्न लाग्छु । तर आवाज र धुन आइरहन्छ । नजिक कतै पार्टी ब्रतबन्ध पो भइरहेको छ कि ? एक मनले यस्सो विचार गर्छ ।
आधारातमा को हुन सक्ला फेरि यसरी मादल बजाएर बस्ने ?
बाहिर निस्किन्छु । हेर्छु टाढाटाढासम्म । घरैघरको भीडमा जति टाढा हेरेपनि त्यही आफ्नै अगाडि आँखा छेकिने हो क्यारे । यसपटक आँखा होइन, कानलाई टाढा पठाउँछु ।
उसलाई अह्राउँछु – कहाँ छ त्यो आवाजको उद्घम विन्दु ? कहाँबाट बजिरहेको छ यो रात न विरात कर्कश आवाज ? कुन पागलले ठोकिरहेछ यति रातमा मादल छेउकुना ? जा पत्ता लगाएर आइज !
कान टाढा जान्छ÷जाँदैन । तर आवाज र त्यो धुन झनै कर्कश कर्कश हुँदै नजिक झन् नजिक आउँछ । कोठा अघिल्तिरको कोठा नियाल्छु । घर छेउको छिमेकी घर नियाल्छु । एकछिन बाहिरै टहलिएर घरघर नियाल्छु ।
तर कसैबाट त्यो अप्रिय र अकल्पनीय आवाजमा कुनै प्रतिक्रिया पाउँदिनँ ।
अर्थात् के मै मात्र सुनिरहेको रहेछु त्यो आवाज ? मनमा एकतमास त्रासको हावा फैलिन थाल्छ । र शरीरको तापक्रम एक्कासी ह्वाट्टै बढ्न थाल्छ ।
कि अझै निद्रा मै छु र ? फेरि फर्किन्छु कोठामा । ध्यान दिएरै ढोका बन्द गर्छु । बत्ति बन्द गर्छु । ल्याम्पपोस्टको उज्यालोले आँखा खाइरहेको हुन्छ । बिस्तारै पर्दा लगाउँछु । ओछ्यानमा पल्टिन्छु ।
तर त्यो धुन ? अहँ बन्द भएन । अब त झन् कानभित्रै बज्न थाल्यो । सबैतिर कालो देखिन थाल्यो । अलिपछि त दोहोरी नै सुरु हुन थाल्यो । गीतको भाका बिर्सिएँ । तर टुक्का क्या कडाकडा थिए भनेनी !
‘कपीमा टिपेको भए सायद खत्रै हुन्थे होला,’ यो लेख्दै गर्दा खुब सम्झिरहेछु ।
सोचें – ‘आजै मेरो अन्तिम दिन रहेछ । केही कुरा लेखेर राख्नु प¥यो ।’
उठेर डायरी निकाल्छु । कालो रङको कलम भेटिँदैन । भेटिन्छ त रातै । डायरीमा के लेख्नमात्रै आँटेको थिएँ – अक्षर रगतजस्ता लाग्छन् । अर्थात् रगतले म अक्षर लेखिरहेको छु । हठात् डायरी र कलम अर्कोतिर फ्याक्छु ।
पहिलो पटक डर यति लागेको हुन्छ कि शरीरबाट चित्चित् पसिना खसिरहेको आफैंलाई थाहा हुन्छ ।
‘पहिलेजस्तो तनाव पनि लिन्नँ । बिहान उठेर रिल्याक्सिङ धुन सुन्छु । मनका कुविचार सबै फालिसकें । सबैप्रति सकारात्मक छु । बिग्रिएका सम्बन्ध आफैं माफी मागेर पनि सुधार्ने कोशिस गरिरहेको छु । चाँडै दाङ आफ्नै घर फर्किँदैछु,’ आफैंलाई समीक्षा गरें एकचोटी ।
‘तर यो सब के भइरहेको छ मलाई ? अहो म त बौलिएँ । भोलिदेखि त केही थाहा पाउन्न होला !’ मनमा अर्कोथरि कुविचार पलायो, ‘मलाई चिन्नेहरु पोखरामा टन्नै कमाएको छु । बाटो बाटोमा भाइ भन्दै बोलाउने मस्तै दाइदिदी चिनेको छु । यसरी एक्कासी बोलिएँ भने मेरो हालत के होला ?’ मनमा थरिथरिका प्रश्नोत्तर उब्जिरहन्छन्, सेलाइरहन्छन् ।
फेरि घडी हेर्छु । रातको ४ बजेको हुन्छ । रात अर्थात् यो बिहान पो त !
कानमा अझै उही मादल बजिरहेको हुन्छ । झनै चर्कोचर्को श्वरमा दोहोरी चलिरहेको हुन्छ । यसपटक त बाँसुरी पनि थपिन्छ । ‘आखिर अब त केही थाहा पाउँदिन क्यारे । बरु दोहोरी सुनेरै बस्छु,’ आँखामा केही निद्रा आउलाआउला जस्तो हुन्छ । तर नसुत्ने हठ् लिन्छु ।
०००
ब्यूँझदा बिहानको १० बजेको थियो । आफैलाई राम्रोसँग हेरें, छोएँ, चिमोटें । पागल नभइसकेको रहेछु । रातमा फालेको डायरी उत्तानो थियो, किचेन ¥याकको तल । रातो कलम सुरुमा खोज्दा भेटिएन । तर, पछि फेला प¥यो डस्टबिनमा पुगेको रहेछ ।
जान्न मनलाग्यो । आखिर के लेखेको रहेछु डायरीमा ?
हेरें के लेखेको रहेछु – डियर जिन्दगी .......
०००
अहिले सोध्न मन लागेको छ । के तपाईंलाई पनि मजस्तो हुन्छ हो ?
Comments
Post a Comment