... र त्यसपछि पोखरा छोड्ने निर्णय गरें


ज्वाइँ खाना पकाउने सुरसार गर्दै हुनुहुन्थ्यो । काम सकेर भर्खर अफिसबाट कोठा आइपुगेको थिएँ म । थाकेको ज्यान भ्याट्ट बिस्तारामा फ्याँके । ५० किलोको शरीरले काठको खाटमा एकछिन सानो कम्पन ल्यायो । 

वाइफाईको ब्यालेन्स सकिने बेला भइसकेको थियो । ज्वाइँसँग मोबाइल मागें वाइफाईको ‘डेट’ कहिले सकिन्छ हेरें । एकदिन बाँकी रहेछ । ‘भोलि त ब्यालेन्स हाल्नुपर्छ, पैसाको जोरजाम गर्नुपर्छ’– ठीक यही सोचेर लो बेडको घर्रा उघारें । ह्वास्स कपुरको गन्ध नाकमा प¥यो ।

अस्तव्यस्त कपडाका थुप्रा । थुप्रै कागजपत्र । कपडा बाहिर निकालिसकेपछि सबै कागजपत्र एकएक गर्दै नियालें । देखिए – जन्मदर्ता, एसएलसी सर्टिफिकेट, १२ सर्टिफिकेट, नागरिकता, पासपोर्ट...र अन्तिममा हातमा प¥यो – एकवर्षे पुरानो राजिनामा पत्र ।

०००

एकवर्ष अघि म पत्रकारितामा आइसकेको थिइनँ । यो दुनियाँभन्दा पर थिएँ । अर्को कुनै एउटा संस्थामा ग्राफिक डिजाइनरको काम गरिरहेको थिएँ । बिहानैदेखि साँझसम्म एउटै काम । व्यस्तमाथि अस्तव्यस्त । बारबारको एउटै कामले मलाई फ्रस्ट्रेड बनाइसकेको थियो । 

एकदिन एउटा विज्ञापन डिजाइन गरिसकेपछि सोचें – ‘यसमा खुसी छैन म । अब यो जागिर छोड्नुपर्छ ।’ अफिसमै भएको फोटोकपी पेपरमा राजिनामा लेखें । म्यानेजरलाई दिऊँ कि रिसेप्सनमा छोडूँ ? दुविधामै अल्झिरहें । साँझ प¥यो । छुट्टि भयो ।

राजिनामा पत्र कसैलाई दिइनँ । पत्र गोजीमा राखेर घर आएँ । ठीक त्यही दिन बाआमासँगको फोटो ठूलो साइजमा प्रिन्ट गरेको थिएँ । त्यो पनि बोकेर आएँ ।

जागिर छोड्ने मनको जिद्दी अघि हारें । अफिस पुग्नै मन लागेन । 

म्यासेज लेखें, ‘दाइ अब अफिस आउँदिन है । फलानोफलानो डिजाइनको काम बाँकी छ । हेरिदिनू होला ।’ फेसबुकमा लेखेको त्यो म्यासेज आधिकारिक मान्छेलाई होइन । मसँगै काम गर्ने एकजना सिनियर ग्राफिक डिजाइनर दाइलाई लेखेको थिएँ । 

गोजीको राजिनामा पत्र अरु कागजपत्र भएकै ठाउँमा राखें । मोबाइल अफ गरें । दिनभर सुतें । लगातार ४ दिनसम्म सुतें । खाना पकाउने ध्याउन्न दिमागमै आएन ४ दिन भोकै बसें । चौंथो दिन फोन अन गर्दा अफिसदेखि आएको म्यासेजका लाम थियो । 

‘सरी दाइ’– म्योसेजको रिप्लाई पनि लेखें । तर, पठाइनँ । त्यो मेरो गल्ति थियो । 



घर्रामा भेटियो एकवर्षे पुरानो राजिनामा पत्र । तीखो ह्वास्स कपुरको गन्ध मिसिएको । धुलो लागिसकेको थियो । टक्टक्याएँ । हेरें र सम्झिएँ – उहिलेको आफूलाई । आफैंभित्र फिस्स हासें र पोखराबाट पनि बिदा हुनुपर्छ भन्ने सोचें ।


त्यो जागिर छोड्दै गर्दा बीचमा एउटा घटना घटेको थियो । भेट भएको थियो, अमृत सुवेदी दाइसँग । त्यतिबेला नै उहाँ समाधान दैनिक र अनलाइनखबरमा आबद्ध हुनुहुन्थ्यो । एकदिन मेरै कोठामा दुईभाइ सँगै बस्यौं । रमाइलो ग¥यौं ।

कुरैकुरामा उहाँले सोध्नुभएको थियो – ‘नेपाली टाइपिङ आउँछ ?’ 

– ‘आउँछ’

– ‘फिचर नि ?’

– ‘त्यो पनि आउँछ ।’

– समाचार आउँछ कि नाइँ ?’

– ‘प्रयोगै त गरेको छैन । तर, स्कुलमा नेपाली विषयमा लेख्नुपथ्र्यो । राम्रै गर्थें ।’

– ‘त्यसो भए शुद्ध लेख्न आउँछ ?’

– ‘आउँछ नि दाइ । एलएलसीमा नेपाली विषयमा ८० आएको हो । नेपालीमा राम्रो गरेर सम्मानित पनि भइसकेको छु ।’

– ‘ल त्यसो भए तिम्रो जागिर पक्का । समाधानमा म कुरा गर्छु । ढुक्क भएर बस ।’ 

– ‘लल भइहाल्छ नि दाइ । म फिचर लेख्न तयार छु ।’

त्यसपछि सुरु भयो, ग्राफिक डिजाइनरबाट पत्रकारिताको सुरुआत । सुरुमा समाधान टेक्दा अनौंठो लागेको थियो । सबै नयाँ अनुहार । समाधानका दाइहरुसँग सामान्य केही कुरा भए । काम कुरा फिक्स भयो । मेरो पहिलो रिपोर्टिङ पोखरा नाटकघरबाट सुरु हुने भयो । 

‘सिरुमारानीमा नारीका कथा’ शीर्षकमा पहिलो पटक प्रिन्ट मिडियामा बाइलान छापियो । 

मन ठूलो भएर आयो । लाग्यो ‘अब त पत्रकार भइयो यार !’ अफिसमा दाइहरुले छेउमै राखेर सिकाउनु भो, पत्रकारिताको नियम, भाषा, सुधार गर्नुपर्ने कुरा सबैसबै । अफिसका दाइहरुको साथ, माया र हौसलाले धेरै कुरा सिक्ने मौका पाएँ ।

यसैबीच पोखराबाट संवाददाताका रुपमा नियुक्त भएँ, नेपाललाइभमा । 

त्यतिबेला नेपाललाइभबाट जनक पौड्याल दाइले कामका लागि फोन गर्दा म लेकसाइडतिर साइकलमा डुल्दैथिएँ साथीहरुसँग । नेपाललाइभमा फेवातालसम्बन्धी स्टोरी गरें र पहिलो बाइलान दिएँ । 

खासै नचिनिएको, नभेटिएको, नसुनिएको म एकाएक राष्ट्रिय मिडियामा नाम देख्न थालेपछि धेरै अग्रजले नोटिस गर्न थाल्नुभयो । कुराकानी र हौसला दिन थाल्नुभयो । त्यसैबीचमा पोखराबाट अन्नपूर्ण ‘सम्पूर्ण’ साप्ताहिकमा पनि स्टोरी पठाउन थालें । 

कहिले कुन र कहिले कुन सम्बन्ध बनिरहेको थियो । पत्रकारिता गर्दै गर्दा धेरै प्रिय मान्छेहरुसँग भेट पनि भयो । पत्रकारितामा नआएको भए सायदै हुन्थ्यो होला । नेपाललाइभबाट पनि बिदा भएँ । फेरि अनलाइनखबरसँग जोडिएँ । पोखराका सटरभाडामा भइरहेको अनियमितताबारे स्टोरी गरेर पहिलो बाइलान छपाएँ । 

जेहोस् पत्रकारितामा खुसी थिएँ । नाम थियो, दाम थियो, पहुँच थियो, शक्ति थियो । सबथाेक थियाे । तर, एकाएक लोबेडको घर्राबाट भटियो एकवर्षे पुरानो राजिनामा पत्र । 

सोचें – ‘पोखरा मेरो लागि होइन रहेछ । अवसर देखाएर मेरो सपनाहरुको शिकार गरिरहेछ । र म फस्दैछु दलदलमा । यहाँदेखि चाँडो म भाग्नुपर्छ, नभागे कुन्ठित हुन्छु । डिप्रेस्ड हुन्छु ।’

ल्यापटप अन गरें । राजिनामा पत्र टाइप गर्न थालें ।

डियर इडिटर.....

पहिले जानेकुथेको अंग्रेजी प्रयोग गरेर लेखें । अलमार्क गरेर सबै हटाएँ । फेरि लेखें । चित्त बुझेन । 

‘जानेको त नेपाली हो नि ! म नेपालीमै लेख्छु ।’ – यत्ति सोचेर फेरि टाइपिङ गर्न थालें,

श्रीमान सम्पादक....

०००

ज्वाइँले खाना तयार पार्नुभयो । सबैभन्दा पहिले राजिनामा पत्र उहाँलाई नै देखाएँ । रहस्यमयी हेराइ आँखामा प्रष्ट थियो । तर, म काँपिरहेको थिएँ आफैंभित्र । मज्जा भएर पनि नमज्जा लागिरहेको थियो । पहिलो पटक गह्रौं वस्तु उचालेको जस्तो भान भइरह्यो ।

खाना खाइसकेपछि पनि मनमा चैन भएन । ज्वाइँलाई बियरको प्रस्ताव गरें । त्यही पिएर सुत्यौं । सपनामा पनि पोखरा छोडेर रुँदै दाङ फर्किरहेको देखें । हतारहतार उठेर पानी पिएँ । फेरि सुतें । ब्यूँझदा बिहानको ७ बजेको थियो ।

दिनभर कताकता भइयो । मेलमा राजिनामा पत्र तयार थियो । अफिसमै गएर मेल गर्छु सोचिसकेको थिएँ । साँझ अफिस पुगेर प्रिन्ट गरें । कार्यकारी सम्पादक भरत कोइराला दाइलाई बुझाएर अर्को कक्षमा फर्किएँ । मन अमिलो भएर आयो, थर्रर ओंठ काँप्यो । एक्लै रोएँ । 

त्यसदिन केही गरिनँ । न स्टाट्स, न कसैलाई जानकारी न त कुनै सूचना । चुपचाप घर फर्किएँ । तर जब अर्कोदिन बिहान भयो फोन बिहानैदेखि बज्न थाल्यो । दाजुभाइ, साथीसंगीहरुको फोन निरन्तर आउन थाल्यो । तर, कसैको फोन पनि उठाउन मन लागेन । 

उठाएको भए आँखाको आँशु रोक्न सक्ने अवस्थामा म थिइनँ । फेसबुकतिर म्यासेज आउन थाले लगातार । सिन गरिनँ । 

बेडको घर्रामा भेटिएको एकवर्षे पुरानो राजिनामा पत्रले मलाई दाङ फर्किने बहाना दियो । यसरी म पोखरा छोड्ने निर्णय गरें । उही हस्तलिखित पुरानो राजिनामा पत्रलाई टाइप गरेर नयाँ बनाएँ । मिति र संस्था परिवर्तन गरें । नाम उही तर, पद परिर्वतर्न गरें । 

राजिनामा पत्र बुझाइसकेको दोस्रो दिन स्टाटस लेखें – 

‘निर्णय गह्रौं थियो । तर, लिइसकेपछि यसले मनलाई हलुका मिल्यो । धन्यवाद पोखरा ........’ 

Comments

Popular posts from this blog

‘भाडाका गर्लफ्रेन्ड’

कार्यकर्ता होइन, नागरिक भएर सोच्नुपर्छ – नत्र रैती भइन्छ !

आँखा र आँखा हस्पिटल