मलाई बाँच्न सिकाउने साथीका नाममा‍‍.....


सहकर्मी भएर यात्रा सुरु गरेको एक वर्ष भइसकेको छ । तर उसको कोठामा पहिलो पटक छिरें । अस्तव्यस्त थियो कोठा । भताभुंग, लथालिङ सामान भएर पनि निकै सुन्दर लाग्यो । भित्ताभरि चित्र । झ्यालभन्दा बढी ढोका । हलजत्रो ठूलो कोठाको आकार ...

एक झ्यालमा सयौं क्यान बियरका बोटल । एउटा सानो सेतो रंगको बिरालो । २ वटा कुकुर । यिनै हुन् उसका साथी र आफन्त भन्नु । कुनै एकदिन उसले घर जान हतार गर्दै भनेको थियो, ‘घर छिटो पुग्नुपर्छ यार । कोठामा मेरो परिवार छ । उनीहरुले मलाई पर्खिबसेका छन् ।’

सँगै अफिसको एउटै कोठामा काम गरे पनि उसको र मेरो बालचाल सुरुको अवस्थामा भएन । ऊ पनि अरुसँग छिट्टै घुलमिल हुन नरुचाउने । म पनि त्यस्तै । कहिलेकाहीं दुवैको एउटै बानी भइदिँदा पनि फरक पार्दो रहेछ । एउटा आगो हुँदा अर्को पानी हुनै पर्दो रहेछ । नत्र सम्बन्धमा कि त आगलागी हुने कि बाढी पस्ने, पहिरो खस्ने ।

ऊ अफिसमा आउँछ । चुपचाप काम गर्छ र फर्किन्छ । मैले पहिलेदेखि उसलाई र उसको काम गराइ नियाली रहेको थिएँ । कसोकसो उसको बानी मलाई ममन पन लागिसकेको थियो । धेरै समयपछि बोल्यौं । औपचारिक परिचय ग¥यौं । अनौपचारिक हाइहेल्लो त उहिल्यै चलिसकेको थियो ।


...त्यसपछि हामी नजिकका साथी भयौं । तँतँ र ममको ठाउँमा पुग्यौं । उसले मेरो चित्र बनाइदियो । मेरो कुच्चिएको भाँडोजस्तो अनुहारलाई सुन्दर आकार दियो । एक ठाउँमा चुरोट र अर्को ठाउँमा कलम राखिदियो । म्यासेन्जरमा फोटो पठाइदियो । तर चित्रको क्यानभास कहिले ल्याइदिएन ।

सोध्दा उत्तरमा भन्थ्यो, ‘मैले बनाएको चित्र हो । मेरो अधिकार लाग्छ । मैले जहिले ल्याइदिएपनि तँलाई केके मतलब ?’ उसको झंगिने बानी पनि प्रिय छ ।

०००

भर्खरै उसले जन्मदिन मनायो । कतिऔं वर्षमा पाइला टेक्यो ? कतिऔं पटकको फागुन चिन्यो ? थाहा छैन । सोधिनँ । उसले मलाई आफ्नो कोठामा बोलायो । गएँ । सहकर्मी भएर यात्रा सुरु गरेको एक वर्ष भइसकेको छ । तर उसको कोठामा पहिलो पटक छिरें ।

ऊ राम्रो चित्र बनाउँछ । पेन्सिल, ब्रस, रङ र क्यानभास उसको एक्लोपनको साथी हो । भित्ताभरि कैयौं चित्र कोरेको छ । ऊ अत्यन्तै मेहनती र ‘क्रियटिभ’ पनि रहेछ भनेर उसको कोठामा छिरेपछि थाहा पाएँ । कोठामा एस्ट्रेदेखि बुक¥याकसम्म आफैं बनाएको छ । फलामका टुक्राटाक्री जोडेर । हो ऊ पहिले फलामको काम गथ्र्यौ ।


पोखरामा आइसकेपछि मलाई पनि सताउँछ कहिलेकाहीं एक्लोपनले । यो हल्लाको सहरमा घर याद आउँछ । आँगन याद आउँछ । त्यो ठूलो चौर र त्यसमा खेलिहिँडेको बालापन याद आउँछ । एक्लो हुँदा धेरैथोक याद आउँछ ।

तर अचेल कम तनाबमा छु । स्वार्थी भएको छु । अन्य साथी बिर्साइदिने साथी भेटेको छु । ऊ मलाई कत्ति पनि लाग्दैन कि हामी भर्खरैमात्र भेटेका हौं । ऊ र म नजिकको साथी भइसकेका छौं । अरुभन्दा फरक सोच्छ ऊ । त्यस्तै काम गर्छ । उसको बाँच्ने शैली मलाई औधी मन पर्छ ।

कहिलेकाहीं लाग्छ, – ‘म किन ऊ जसरी बाँच्न सक्दिनँ ?’

हुन त जीवनको ओकालीओरालीमा उसका पनि केही भोगाइ होलान् । सोचाइ होलान् । ठेस होलान् । दुखाइ होलान् । तर कहिले देखाउँदैन । कहिलेकाहीं अफिसमा मलाई थर्काउँछ, – तेरो गाउँले पारा नदेखा त ह्याँ ।

उसलाई ट्याटु बनाउन खुब रुचि छ । हातभरि थरीथरीका चित्र बनाएको छ । तर मलाई याद भएको भनेको उसको हातको कछुवाको ट्याटु हो । त्यसबारे जिज्ञासा राख्दा भन्छ, ‘मलाई कुनै हतार गर्नुछैन । म कछुवाजस्तै स्लो छु । कछुवाले मलाई प्रतिनिधित्व गर्छ ।’ साच्चै त्यसबेला बालापनमा पढेकाे खरायो र कछुवाको कथा दिमागमा अाइपुग्छ । 


उसले एकदिन मेरो कोठामा आएको बखत आफ्नो सपना सुनाएको थियो । भनेको थियो, ‘मलाई ट्याटु र बुकसपसँगै खोल्न कस्तो रहर छ यार ।’ त्यसदिन मैले उसलाई वचन दिएको थिएँ कि म पनि सहयोग गर्ने छु । साँच्चै उसलाई ट्याटु आर्ट र पुस्तकका अक्षरमा रुचि छ ।

बुक ¥याकमा अनौंठा किताबले भरेको छ । तर यो पढेको छु, त्यो पढेको छु – अहँ कहिले सुनाएन । सुनाउन आवश्यक ठानेन होला पनि....

दुखैदुखको पहाड उक्लेर यहाँसम्म आइपुगेको हो ऊ । उसले गरेका प्रत्येक कुरा र अनुभवबाट थोरैथोरै सापटी लिएर यो कुरा पत्ता लगाएको हुँ । किनकी ऊ कहिल्यै आफ्नो दुख बताउँदैन । ‘जे छ त्यसैमा खुसी हुनुपर्छ, जे सोचिन्छ त्यस्तै भइन्छ,’ बेलाबेला दार्शनिक बन्छ ।

उसको ठूलो कोठा एउटा कलाको संग्रहालय हो । उसले आफूलाई स्वतन्त्र छोडेको छ । त्यो कोठामा । जन्मदिनको छेको पारेर म उसको कोठामा गएको थिएँ । तर मलाई उसको जन्मदिन हो भन्ने हेक्का पनि रहेन । भन्न त कुनै एकदिन भनेको थियो, ‘फलानो दिन मेरो जन्मदिन हो है । आउनुपर्छ ।’ थाहा नभएपनि गइदिएँ । ऊ खुसी भयो ।

कोठाको दक्षिणतिर एउटा ठूलो प्लाइबोर्डको क्यानभास बनाएको छ । त्यसमा अनेकथरी चित्र छन् । अजिवोअजिव, रंगीबिरंगी, मूर्त अमूर्त सबैसबै .... त्यस क्यानभासमा एउटा चित्र उल्टो राखिएको थियो । सोचे, ‘यो खाली पाना होला । चित्र बनाउने तर्खरमा छ होला ।’

सायद त्यस खाली पानामा मेरो ध्यान गएको चाल पाइसकेछ क्यारे । भन्यो, ‘हेर् तेरो चित्र ।’ आफ्नो ठाउँबाट उठेर चित्र फर्खाएर हेरें – त्यो मेरो चित्र थियो । उसले आफ्नो जन्मदिनमा मलाई उपहार दियो । मेरो अनुहारलाई उसले कलाले भरिदिएको रहेछ । अवाक् बनें ।


म कहिल्यै कसैको उतिसारो प्रिय हुन सकिनँ । मभित्रको घमन्ड र अहमले अरुको लहैलहैमा लगाग् भन्यो । मन नपरेको कुरामा प्रतिक्रिया जनाइहाल् भन्यो । त्यसैमा खुसी थिएँ । तर उसले मलाई नजिकको मित्र मानेछ । उसले जन्मदिनमा मलाई मिठो उपहार दियो ।

उसको कोठामा बस्दै गर्दा मैले सोधको थिएँ – ‘तेरोबारेमा पक्का लेख्छु यार । मलाई कस्तो मन प¥यो तेरो बिन्दास शैली ।’

‘मलाई गुमनाम बस्नै ठीक छ । कुनै ठाउँमा पनि मेरो नाम ल्याइस् भने सकिन्छस्,’– उसले कडा प्रतिक्रिया दिएको थियो ।

मैले उसको कुरा मान्न सकिनँ । केही नलेखि बस्नै सकिनँ । लब यु दोस्त विथ अ बिग सरी ........


Comments

Post a Comment

Popular posts from this blog

‘भाडाका गर्लफ्रेन्ड’

कार्यकर्ता होइन, नागरिक भएर सोच्नुपर्छ – नत्र रैती भइन्छ !

आँखा र आँखा हस्पिटल