साइकल, बालापन र बाबा


विकास रोकामगर । पोखरा 

साइकलसँग मेरो नजिकको सम्बन्ध छ । सानैदेखि अजीवअजीवका किस्सा जोडिएका छन् । साइकलकै मायाले कैयौं पटक घाइते भएको छु । कैयौं पटक सजायको भागीदार भएको छु ।

०००

कक्षा ६ पास भएर ७ जाँदा पहिलो पटक साइकल पाएको थिएँ । तत्कालीन ढिकपुर गाविस ६ अस्परीको प्राविमा स्कुले तह बिताएँ । प्रावि भने पनि २०६६ सालमा एक वर्षमात्रै  ६ सम्म पढाई भयो । प्रसंग भने रमाइलो छ । यसमा मैले घमण्ड गर्नैपर्छ ।

(एउटा कक्षामा बढीमा २३ जना हुन्थ्यौं । कक्षामा सबै विद्यार्थी थियौं । सरकारी स्कुल भएर पनि हामीबीच नम्बर ल्याउन प्रतियोगिता नै चल्थ्यो । म कक्षा १ मा पाचांै भएँ । २ मा चौथो, ३ मा तेस्रो, ४ मा दोस्रो ५ मा प्रथम । ६ मा स्कुल टपें । 

मैले जित्दै गएका र जितेका साथीहरुबीच त्यति ठूलो नम्बरको अन्तर हुँदैनथ्यो । शिक्षकहरुले हामीलाई त्यो स्कुलदेखि बिदाई गर्नै चाहेनन् । हामीले विरोध गर्दागर्दै पनि ६ कक्षा चलाए । पढ्यौं ।  टपें । पछि जिद्दी कसेर स्कुल छाड्ने भयौं । स्कुल फेरि ५ कक्षामा झ¥यो । यसमा मैले घमण्ड गर्नैपर्छ ।)

तत्कालीन नारायणपुर गाविस १ को स्कुलमा कक्षा ७ मा भर्ना भएँ । दिदीहरु पहिल्यै त्यही स्कुलमा पढ्नुहुन्थ्यो, कक्षा ९ मा । उहाँहरुको साइकल थियो । पहिले त गाउँकै साथीहरुसँग रमाइलो गर्दै हिँडेरै स्कुल जान थालें । 

नयाँ ठाउँ, नयाँ स्कुल, नयाँ पोसाक, नयाँ किताब, नयाँ साथी, नयाँ परिवेश । जिन्दगीमा नयाँपन आउनु पनि ‘मजा’ जिउनु रहेछ । एउटै कुरा दोहोरियो भने मान्छे पहिले हर्टअट्याक आउने गरी हाँसेको चुटकिलामा पनि मुर्मुरिन थाल्छ । पछि हिँडाइ त्यही मुर्मुरिने बाटो बन्यो ।

पहिले दिदीहरुले नै ‘चला’ भनेको साइकल चलाइनँ । साथीसंगीसँग बात मार्दै हिँड्छु भन्ने जिद्दी कसें । पछि एकहप्ता नबित्दै बाटो लामो लाग्न थाल्यो । गाडी चल्थ्यो एउटा तर समयको ठेगान थिएन । बिहानसाँझ ५÷५ रुपैयाँ तिर्ने मेरो हैसियत थिएन । 

बदलामा सोचें – ‘साइकल’ ।


०००

उसो त बाबासँग पहिल्यै सम्झौता भइसकेको थियो – स्कुलमा फस्र्ट भए साकइल किनिदिने । बाबाले हुन्छ नभन्दै आफूतिरबाट सम्झौता पत्रमा हस्ताक्षर गरिसकेको थिएँ । साथीहरुलाई सुनाइ पनि सकेको थिएँ – ‘ओई केटा हो । म फस्र्ट भएँ भने बाबाले साइकल किनिदिने रे’ ।
साथीहरु निन्याउरो पारामा भन्थे – ‘हामीलाई पनि चलाउन दिएस् है त ।’ 

धेरै दिनको जिद्दी पछि साइकल पाएँ । हर्कुलस् ब्रान्डको । ठूला र मोटा डण्डी । बाबा विदेशमा हुनुहुन्थ्यो । उतैबाट रेमिट्यान्स भएपछि साइकल पाएँ । करिब ५ हात्ति निल्यो । घरअघि ठूलो चौर थियो । कुदाउँन थालें । साथीहरु इष्र्याले मर्थे । 

(कहिल्यै जल्याैं भनेनन् । उनीहरु छेउँ पर्दा धुवाँको गन्ध सँुग्धें । चर्चित अभिनेता अमीर खानको फिल्म थ्री इडियट्समा एउटा डाइलग छ – अगर दोस्त फेल होता तोह दुख होता हैं । लेकिन फस्र्ट होजा ता तो और दुख होता हैं । ठीक मलाई त्यसबेला त्यस्तै भएको थियो । फस्र्ट हुनु र साइकल पाउनु दुवै ।)

साइकल किरिङकिरिङ गर्दै टाढाटाढासम्म पुग्नु दैनिकीको एउटा हिस्सा भइसकेको थियो । कहिले बबई नदी त कहिले कुन खोला । साइकल हुनेहरुसँग जम्मा भएर चौरभरि (घर अगाडि अझै पनि ठूलो चौर छ । ऐलानी नै भएपनि अहिले घरहरु ठडिन लागिसकेका छन् ।) रनिङ बाजी पनि खेलियो । हस्याङफस्याङ गर्दै स्वास फुत्किने गरी चलाए पनि कहिल्यै जितिनँ उनीहरुलाई । यसमा मैले हार स्वीकार्नै पर्छ ।

त्यतिबेला पत्रिका खुब पढिन्थ्यो । साप्ताहिक, मुना र नारीको अघोषित वार्षिक ग्राहकजस्तै थियौं, ३ भाइबैना । किन्ने पैसा हुँदैन थियो । खाजा खर्च कटाएर किन्थ्यौं । आलोपालो गरेर दिदीहरु नारी र साप्ताहिक पालोपालो किन्नुहुन्थ्यो । मेरो भागमा प्राय मुना पथ्र्यो । महिनाको १० रुपैयाँ खर्च ।

सायद चैतको कुनै एउटा शुक्रबार थियो त्यो । शैक्षिक सत्र सकिएर बिदामा थियौं । साप्ताहिक आउने दिन । दिदीहरुले साइकल चढाएर मलाई घोराही पठाउनु भयो । त्यतिबेला साप्ताहिकको मूल्य १० रुपैयाँ भइसकेको थियो । पहिलो पटक स्वीकृती पाएर त्यति टाढा जान पाएको थिएँ । खुसीले आकाश छोयो । 

खुसी त्यतिबेला पनि मिल्दो रहेछ । जतिबेला लुकीलुकी वा डराइडराइ गरेको काममा स्वीकृती पाउछौं । मलाई खुसीको एउटा बहाना मिल्यो । गर्मी महिना भएकाले घरमा लगाइराखेको हाफप्यान्ट नै लगाएर घोराहीका लागि साइकल स्टार्ट गरें । १५ किलोमिटर टाढा । 

दिउँसो १२ बजेको समय । तराईको प्रचण्ड गर्मी । गाईबाख्रासमेत उग्राउन छाडेर आराम गर्ने त्यो समय । लु लागेर ढलिन्छ कि भन्ने एक मनको डर । तर डरलाई रहरले जित्यो । साइकल चलाउनु मेरो रहर बनिसकेको थियो । चलाएँ । जाँदा रमाइलो नै भयो । गर्मी–गर्मीजस्तो लागेन । शरीरबाट टप्पटप्प चुहिएको पसिना शीतजस्तो शीतल लाग्यो । रहरको अघि हार्दै थिएँ ।

किने साप्ताहिक, नारी र मुना । फर्किँदा बाटो ओरालो पर्छ । साइकल आएको भन्दा दोब्बर स्पिडमा कुदाउँन थालें । हाम्रो घरेदेखि घोराहीसम्म पुग्न २ वटा खोला तर्नुपर्छ, गुर्जेखोला र सेवार खोला । तुलनात्मक रुपमा गुर्जे खोला भन्दा सेवार खोला तर्दा बढी ओरालो झर्नुपथ्र्यो ।

गड्याम्म् ................ 

बेस्सरी बीच सडकमै लडें । एकछिन त बेहोस नै हुन्छु जस्तो लागेको थियो । एउटा ट्रक हुइँकिदै आयो र ढलपल गर्दै अको छेउँबाट गयो । अहिले अलि अलि याद आउँछ । ट्रकबाट कसैले टाउको  निकाल्दै भनेको थियो – ‘ओई फुच्चे राम्रोसँग चला है । मर्लास् बिना कालै ।’ 

म थर्रर कापें । तर दुखेको थिएन ।

झटपट उठेर साइकल हेरें । ह्यान्डिल पुरै बांगो भइसकेको रहेछ । दायाँतिरको ब्रेक भाँच्चिसकेको थियो । अब दुख्न थाल्यो । नदुखेको शरीरका अन्य भागपनि ज्यानै जाला जसरी दुखेर आयो । साइकल बिग्रियो । मेरो मुखबाट रगत आइरहेकै थियो । त्यता सोच्नुपथ्र्यो । सोचिनँ । बरु सोचें – ‘ला मलाई घरमा के भन्ने होलान् ?’ 

बल्लबल्ल घर पुगेर आरामले स्वास फेरें । गाली गर्नुभएन । आफ्नै माया लागेर आयो । अघि रुन नपाएको कोठामा गएर रोएँ । बाहिर आएर भनें – ‘केही भाको छैन । दुखेको त छैन ।’ अनुहार पूरै सुन्निएको थियो । दुख्यो भनेको भए सायद आमाको अभूतपूर्व गालि खान पनि सक्थें नखान पनि सक्थें । 

तर दुख्यो भनिनँ मैले ढाँटे । उसमा मैले झुठ बोलेको स्वीकार्नै पर्छ ।

१० कक्षासम्म साइकल खुब कुदाएँ । मूल्यको दोब्बर खर्च त पछि बिग्रदाँ तिर्नै सकें हूँला । कहिले चेन बिग्रथ्यो । कहिले टायर, ट्युब त कहिले के । दिनु दुख दियो । तर पनि साइकललाई मैले माया गरिरहें । बिग्रिरह्यो बनाइरें । बिग्रिरह्यो बनाइरहें । 

पछि समय फेरिँदै गयो । पहिले साइकल नचढेका साथीहरु मोटरसाइकल चढ्ने भए । आफ्नो नभएपनि साथीको मागेरै मेरो अघि भ्याँभ्याँ न भूँभूँ गर्न थाले । बाइक माग्ने हैसियत थिएन मेरो । न त पहिलाजस्तै फस्र्ट नै आउने पढाई थियो । सहरमा आइसकेपछि कमजोर हुँदै गएँ । परीक्षामा नम्बर घटाउँदै लगें । 


०००

प्लस टु पढ्न घोराही आएँ । प्रायको मोटरसाइकल हुन्थ्यो नभए पनि कोही साइकल नचलाउने । मलाई पनि पुरानो साइकल कुदाइरहन मन लागेन । इज्जतिलो सम्झें आफूलाई । बाइक चढ्ने साथीहरुको अगाडि वर्षौं पुरानो साइकल चलाउन लाज लाग्ने बेला भयो । बैंसले समाउन थाल्यो । बैंशले जित्यो । कुनै समय आफूभन्दा माया गरेको साइकल छुन पछि सम्म लाज लाग्ने बेला भयो । यो सत्य मैले स्वीकार्नुपर्छ ।

ब्याचलर तह पढ्न पोखरा आइपुगेपछि १ वर्षको अन्तरालमा घर गएँ । बाबा त्यही मेरो नाममा किनेको पुरानो साइकल चलाउनु हुँदो रहेछ । मर्मत सम्भार गरेर प्रिय बनाइदिनुभएको रहेछ । फेरि चलाएँ । त्यतिबेला एउटा साइकलमात्र होइन । पछिल्लो सिटमा मेरो बालापन चढाएर कुदाइरहें त्यो चौरभरि ...

सायद सबैका ‘बा’ यस्तै हुन्छन् होला । सन्तानका खुसी संगालेर राख्छन् । हामीले पुरानो भनेर छाडेका केही कुरा नयाँ झैं प्रेम गर्छन् । उनीहरुलाई थाहा छ परिश्रमको महत्व ...

बाबा 
समय परिवर्तन नहुँदो रहेछ । बरु हाम्रा सोच परिवर्तन हुँदोरहेछन् । कक्षामा पास भएको खुसीमा तपाईंले मलाई साइकल किनिदिनु भो । तपाईं जिन्दगीका सबै परीक्षा पास गर्नुभएको छ र पनि चिन्न ढिलो गरिरहेछु । 
आधुनिकताको नाममा म बिग्रिएछु । आफैंले प्रयोग गरेर पुराना बनाएका चिज मन पराउन छाडेछु । 

बाबा समय त उस्तै हाे । उही दिन हाे । उही रात हाे । उही घाम हाे । उही छायाँ हाे । उही शीत हाे । उही पानी हाे । उही पीडा हाे । उही खुसी हाे । उही धर्ती हाे । उही अाकास हाे । बाबा समय त उस्तै हाे । बद्लिएकाे त म पाे रहेछु । सधैं समयलाई दाेष देखाइरहें । फेसबुकमा

Comments

Popular posts from this blog

‘भाडाका गर्लफ्रेन्ड’

कार्यकर्ता होइन, नागरिक भएर सोच्नुपर्छ – नत्र रैती भइन्छ !

आँखा र आँखा हस्पिटल