वेपत्ता छोराको सम्झनामा एक घर – आमा

विकास रोकामगर

बाबु ! म त्यही थोत्रो घर हुँ
जो मक्किएको छ ।
उत्रिएको छ भित्ताका रंगिन रंगहरू
जसमा कोरिदिएका थियौ तिमीले – आशाका केही रहरलाग्दा चित्रहरू
तर उभिएको छ अहिले उजाड चाउरिएको अनुहारमा ।

जो चुहिरहन्छ –प्रत्येक दिन
बाबु ! यो घर चुहिन आकाश बर्सनु पर्दैन । गर्जनु पर्दैन ।
किनभने म त्यही थोत्रो घर हुँ –
जसरी पनि चुहिन्छु – छानो बिना

याद छ ?
तिमी घस्रेको आँगन यहीं छ – यो काख यहीं छ ।
जसमा फैलिएको छ हरियो दुबो ।
अब त यहाँ सर्पको डर हुन्छ – बिच्छीको डर हुन्छ ।
तिमिले ताते हिडेको बाटो पनि यहीँ छ ।
र यहीं छन् तिम्रा जवानी पैतलाका छापहरू ।

यहींको अध्याँरो एउटा कुनामा अझै त्यहीं छ चुलो – त्यहीं छ भान्सा ।
जहाँ मैले दिनहुँ पस्कन्थे तिमीलाई ढिंडो
यहि त हो त्यही ठाउँ – जहाँ तिमीलाई अन्तिम पटक पस्केको थिएँ खाना
र अन्तिम पटक नखाएर उठी गएका थियौ – तिमी ।

अब त खाऊ बाबू – म फकाउँला – त्यो दिन पनि आएन ।
कहिले आएन – तिमी त क्रान्तिमा हिडेको  मेरो महान छोरा ।

तिम्रो बचपन चिनेको आरूको रूख
पोहोर गलर््याम्म ढलेको छ असारमा
रूखका हाँगाहरूले पनि बिर्सिए जस्तो छ – तिमीलाई
अब त यही थोत्रो घर र म मात्रै छौँ – तिम्रो याद गरिरहने ।

जब जब पनि बाहिर निस्केर यो घरको हालत हेर्छु
उ पनि म जस्तै लाग्छ – तिमीलाई पर्खिए पर्खिए जस्तो ।
सरकार पुगेको बाटाहरूमा यो घरले पनि राखेको छ – आफ्नो आँखा ।
जुन आँखाबाट प्रत्येक साँझ बिहान चिसो शीत खस्छ ।

बाबु ! अब त म तिमीलाई चिन्दिन
बरू सट्टामा सम्झिबस्छु उही कलिलो न्यानो अनुहार
जुन अनुहारमा मेटिन्थ्यो कालापहाडले निलेको तिम्रो बाबुको न्यास्रो ।
बस् अब त तिमी पनि बेपत्ता छौ ।


कहिलेकाही छिमेकीको टिभीमा आउँछ – तिमी संगै क्रान्तिमा हिडेका साथिहरूको अनुहार
क्रान्ति त सिंहदरबारमा आउँदो रहेछ बाबु पालैपालो ।
यो थोत्रो घरमा कहिले आएन – जसरी तिमी आएनौ ।

बाबु ! जेल्बाङका यी खर्कैखर्क डाँडा उक्लेर
कताकता सम्म पुग्नु छ मलाई भन्थ्यौ – म सम्झन्छु
बस् सम्झिरहन्छु अचेल खै कुन खर्कमा के गरी बस्दो हौ एक्लै ?
तिमी ककस्लाई सम्झदो हौ ? बिर्सदो हौ ?

सम्झनाका आला पानाहरूमा तिमी धुम्मिल छैनौ
झन् झन् बन्दैछौ उजेलो – मेरो बाबु !

अब त एउटै डर छ –
कि यो घर पुरानो भैसकेको छ –
जो मक्किएको छ ।
उत्रिएको छ भित्ताका रंगिन रंगहरू
जसमा तिमिले कोरिदिएका थियौ – आशाका केही रहरलाग्दा चित्रहरू ।
र उभिएको छ अहिले उजाड चाउरिएको अनुहारमा ।

हो अब त एउटै डर छ –
तिमी फेरी फर्कि आउनु अगावै यो घर भत्कि पो जान्छ कि ?
(त्यतिञ्जेल मलाई माफ गरिदिनू मेरो प्रिय छोरा ।)

Comments

Popular posts from this blog

‘भाडाका गर्लफ्रेन्ड’

कार्यकर्ता होइन, नागरिक भएर सोच्नुपर्छ – नत्र रैती भइन्छ !

आँखा र आँखा हस्पिटल