झण्डा

विकास राेकामगर

बिस्तारै बिस्तारै
खुइलिदै जाने छ – कपडाको रंग ।
कुरुप कुरुप हुनेछ – एकदिन ।

कुनै एक्लो बूढो मानिसजस्तो
चिन्तित, भयभीत र थकित हुनेछ आदिम अनुहार ।
हलुङ्गो हुनेछ वजन । कमजोर हुने छ उचाई ।

हराइजाने छ सौन्दर्य
एकएक गर्दै छेउँकुनाबाट – काट्दैकाट्दै जानेछ मुसाले
कुनै छिमेकीले काटेजसरी देशको सीमाना ।
ध्वजाध्वजा बनेर उभिनेछ – देशको राष्ट्रियता ।

च्यातिदै च्यातिदै जानेछ तीनकुना
खस्दैखस्दै जानेछ – रातो, निलो र सेतोको मौलिकता झण्डाको हाँगाबाट
अटल, अडिक र निर्भीक चन्द्रसुर्यमा
लाग्न सक्छ कुनै डरलाग्दो ग्रहण ।

कसलाई के थाहा ?
युद्दकालमा ‘आमा’ बेपत्ता भएजसरी
हाम्रै आदरबाट बेपत्ता हुन सक्छ – हाम्रै राष्ट्रिय झण्डा ।
कसलाई के थाहा ?
बीच सडकमा लुटिएजसरी कुनै चेलीको अस्मिता
लुटिन सक्छ – यो तीनकुने झण्डाको पहिचान ।
एउटा स्वर्णीम इतिहास ।

यद्यपि त्यसभन्दा अघि
फ्याँक्नु छ – आफूभित्रको कुविचारको भण्डार
स्वार्थको पत्यारलाग्दो सञ्जाल
र मात्रै टाँस्नु छ बडो प्रेमले झण्डालाई मुटुमा –
कि प्रिय ‘स्वाभिमानी झण्डा’ धड्कनसँगै फर्फराइरहनेछ ।

Comments

Popular posts from this blog

‘भाडाका गर्लफ्रेन्ड’

कार्यकर्ता होइन, नागरिक भएर सोच्नुपर्छ – नत्र रैती भइन्छ !

आँखा र आँखा हस्पिटल