क्रान्ति

विकास राेकामगर

थाहा छैन
अब यसरी बगेको रगतले
कसको लेखिएला स्वर्ण इतिहास ?

हाम्रै पुर्खाको ईतिहासमा ताकिएको तरबार
तेर्साईएथ्यो भाला – हाम्रै भाषाको गर्धनमा
र हाम्रै पितृ पूजेको त्यस स्थानमा
राखिएको थियो –
रगतले लत्पतिएको महाराजको श्रीपेज ।

बाँधेर हाम्रो लिपीको आँखा
हिडाईएथ्यो – फरक राष्ट्र भाषाको अन्कन्टार बाटोमा ।
लर्खराउदै पनि हिडेकै हो हामि – हिडेकै जो छौं ।

गाडेर हाम्रो प्रिय भूमीमा – अजंग पिल्लर
खडा गरेकै हो तिमीले आफ्नो सम्राज्य ।
र घोकाइएकै हो –
हाम्रा संस्कृतिमाथी तिम्रो डरलाग्दो भक्ति श्लोक ।

एक युगको अन्त्य पछि
फेरी जब उदाउँदैछ – सभ्यताको नयाँ सूर्य – यो आकाशमा ।
त्यो पनि भन्दैछौ कि –
प्रथम पटक उदाउनु पर्छ मेरै घरमाथि ।
मेरै निधारको टिका जस्तो हुनुपर्छ – आकार ।

यद्यपि
अब चुपचाप हेरि बस्ने छैन – हाम्रो चिम्सो आँखा
नबोल्ने छैन – हाम्रो जिब्रो ।
नउठ्ने छैन – विचार क्रान्तिको धारिलो तरबार ।
र नबग्ने छैन फेरी – विद्रोहको नयाँ आलो रगत यहाँ ।

सत्य थाहा छैन
अब यसरी बगेको रगतले
कसको लेखिएला स्वर्ण इतिहास ?

Comments

Popular posts from this blog

‘भाडाका गर्लफ्रेन्ड’

कार्यकर्ता होइन, नागरिक भएर सोच्नुपर्छ – नत्र रैती भइन्छ !

आँखा र आँखा हस्पिटल