एक ‘अ’नागरिक नेपालीको कथा
‘मर्नुअघि नेपाली हुन पाऊँ’
विकास रोकामगर
उनी नेपाली होइनन् । नेपाल उनको पुख्र्यौली बासस्थान पनि होइन । तर, नेपालकै ५३ औं भदौरे झरीमा भिजे । यहींको बसन्त गुराँसे पाखामा ५३ औं पटक रमाए । यहींका चराचुरुंगीका आवाज सुनेरै जवानी बिताए । उनी नेपालकै पुतलीसँग परिचित रहे र उनैको किताब लेखे । ठाउँठाउँमा पुतली संग्रहालयसमेत खोल्न अहोरात्र खटिए । नेपाली राजनीति र शिक्षा क्षेत्रका मुर्धन्य व्यक्तिको सफलतामा खुड्किलो बनेर उभिए ।
लामो समय नेपालमा बसेपछि बाजेलाई यतैको हावा प्रिय लाग्यो । यतैको भाषा प्रिय लाग्यो । यतैको गाउँघर प्रिय लाग्यो र प्रिय लागे यतैका फूलफूलमा उडी हिड्ने पुतली ।
उनी बेलायती नागरिक हुन् । सेतो छाला । सेतै फुलेका कपाल र दाह्री । सेतै पाइन्ट तर कहींकतै च्याटिएको र टालिएको, मैलो जमेको । खैरो कुना भएको पारदर्शी चस्मा । कुना भएको पार निलो पुुरानो जस्तो देखिने टिसर्ट । शीरमा नेपाली ढाका टोपी । अंग्रेज लवजमा प्रष्ट नेपाली बोली । यही हो भेट हुँदाको उनको खास हुलिया । उनी अर्थात कोलिन स्मिथ (८२) ।
स्मिथलाई नेपालमा कमैले चिन्छन्, उनको यही नामबाट । उनको वास्तविक नामले चिन्ने औंलामा गन्न सकिन्छ । एकाध उनले पढाएका विद्यार्थी र केही पत्रकारले मात्रै चिन्लान् । तर, कसैको मुखबाट ‘पुतली बाजे’ फुस्किहाल्यो भने सबैको दिमागमा उनको हुलिया याद आइहाल्छ । प्राय उनी एउटै हुलियामा भेटिन्छन् । ‘पुतली बाजे’ पुतलीको जाति तथा प्रजातिको खोज अनुसन्धान गर्दागर्दै उपनाम पाएमा हुन् उनले । कालान्तरमा धेरैले चिन्ने र सम्झिने नाम पनि यही रह्यो उनको ।
आजभन्दा ५३ वर्षअघि नेपालको माटो टेकेका थिए उनले शिक्षकका रुपमा । पोखरा लामाचौरमा रहेको नेपाली आदर्श विद्यालयमा पढाउन बेलायत छोडेर नेपाल आए । ‘त्यतिबेला मेरो प्रिन्सिपल मार्था मुखिया थिइन्, म शिक्षक थिएँ,’ उनी पोखरामा शिक्षक भएर आएपछिका ती पुराना दिन सम्झन्छन् र भन्छन्, ‘त्यहाँ मैले २ वर्ष उनले गणित र विज्ञान पढाएँ ।’
लामो समय नेपालमा बसेपछि बाजेलाई यतैको हावा प्रिय लाग्यो । यतैको भाषा प्रिय लाग्यो । यतैको गाउँघर प्रिय लाग्यो र प्रिय लागे यतैका फूलफूलमा उडी हिड्ने पुतली । उनी भन्छन्, ‘२०२२ सालमा नेपाल आएपछि बीचबीचमा बेलायत गएँ । तर, यतै (नेपाल)को माया लागेर फकिएँ ।’ उनी नेपाली प्रष्ट बुझ्छन् र बोल्छन् पनि । अंग्रेजी मै सोधेको प्रश्नका उत्तर समेत नेपाली मै दिन्छन् ।
‘पुतली बाजे’ गण्डकी (तत्कालिन नेपाली आदर्श विद्यालय)मा मात्रै पढाएनन् । नेपालको सबैभन्दा ठूलो सरकारी क्याम्पसका रुपमा चिनिएको पृथ्वीनारायण क्याम्पसमा पनि पढाए । ‘पिएनमा मैले साइन्स फिजिक्स विषय पढाएको थिएँ,’ उनी पुरानो दिन सम्झन खोज्दै भन्छन्, ‘त्यतिबेलाको प्रिन्सिपल थियो अहिले उति याद छैन, धेरै कुरा म सम्झन सक्दिनँँ ।’
नेपाली शिक्षा क्षेत्रको विकासमा अतुलनीय योगदान पुर्याएपनि उनको बुढेसकालको साथी एक्लोपना भइदियो । पछिल्लो समय पोखराको सराङकोट क्षेत्रमा उनले सानो झुप्रो बनाएका छन् ।
बाजेले त्रिभुवन विश्वविद्यालयमा काठमाडौंमा पनि पढाए । त्यता रहँदा पनि उनले प्रकृतिकै बारे सोधखोजमा अग्रसर रहे । ‘त्रिविमा पढाउँदा पनि मैले प्राकृतिक विज्ञान संग्रहालय बनाउन पहल गरेको थिएँ,’ उनी सम्झन्छन् । अहिले पनि स्वयम्भूमा रहेको संग्रहालयमा उनले खिचेका र फेला पारेका पुतली देख्न सकिन्छ ।
उनको पढाइ देन काठमाडौं र पोखरामा मात्रै भएन । गोरखासम्म पुग्यो । त्यहाँ गए उनी अमरज्योती माविमा शिक्षक भएर । कक्षाका मेधावी विद्यार्थी थिए, तत्कालिन माओवादी पार्टी तथा हालका नयाँ शक्ति पार्टीका नेता बाबुराम भट्टराई । अर्का विद्यार्थी थिए, नेपालमै प्रख्यात चिकित्सक उपेन्द्र देवकोटा । दुबैलाई पढाउने मौका पनि पाए उनले । ‘त्यहाँ मैले दुबैलाई कक्षा ९ मा पढाएको थिए,’ उनी सम्झन्छन् त्यो बेलाको समय ।
नेपाली शिक्षा क्षेत्रको विकासमा अतुलनीय योगदान पुर्याएपनि उनको बुढेसकालको साथी एक्लोपना भइदियो । पछिल्लो समय पोखराको सराङकोट क्षेत्रमा उनले सानो झुप्रो बनाएका छन् । त्यतै हुँदा एकाध आएका छन् उनलाई भेट्न भट्टराई र देवकोटा ।
पोखरामा रहँदै पुतली बाजेको शरीरलाई क्यान्सरले समायो । अग्लो र डरलाग्दो उनको शरीर पातलिएर गयो । भर्ना भए मणिपाल अस्पतालमा । मणिपालले काठमाडौं पठायो । काठमाडौंमा उनको डाक्टर बने उनकै विद्यार्थी उपेन्द्र देवकोटा । निको भए तर त्यसपछि उनी पढाउन तिर लागेनन् । बरु सबथोक त्योगेर पुतली कै पुतली कै खोजमा लागे ।
पुतलीप्रतिको मोह
सानोमा स्मिथले काकालाई पुतलीको खोज र अनुसन्धानमा लागेको देखेका थिए । त्यसैबाट प्रभावित भएर नै उनी पुतली प्रति मोहित भएको बताउँछन् । खासमा उनलाई पुतली बाजे भनिनु पनि उनको पुतली प्रतिको मोह भएर नै हो । नेपालमा बसेको ५३ औं वर्षमा ४० भन्दाबढी जिल्ला घुमे । ‘पुतलीको खोज र अनुसन्धानमै लागेपछि मैले पढाउनै छाडें र लगाएर पुतली खोज्नतिर लागें,’ उनी भन्छन् । उनी फोटो खिच्नका पनि शौखिन हुन् ।
४० जिल्लामा घुमेर २५ हजारभन्दा बढी पुतली संकलन गरिसकेका छन् उनले । जसको प्रमाण पिएन क्याम्पस, प्राकृतिक विज्ञान संग्रहालय स्वयम्भू, काठमाडौं विश्वविद्यालयमा रहेको पुतली संग्रहालयमा देख्न सकिन्छ । ‘पुतली प्रति मेरो औधि रुचि छ, मैले पुतलीकै जातिप्रजाति बारे किताब पनि लेखेको छु,’ उनी सुनाउँछन् ।
बाजेको ३० भन्दा बढी वटा किताब प्रकाशित छन् । ती पुस्तक पुतली र झ्याउँकिरीका विषयमा अध्ययन र अनुसन्धान गरेर लेखिएका हुन् । ‘पुतली बारे प्राय नेपालमै अनुसन्धान गरेर लेखें, मैले लेखेका किताब नेपालमा मात्र नभएर विदेशमा पनि उत्तिकै बिक्री हुन्छ,’ उनी सुनाउँछन्, ‘मैेले पहिलोपटक निकालेको किताब बटरफ्लाइज अफ नेपाल इन सेन्टरल हिमालय हो ।’ सो किताब उनले सन् १९८९मा लेखेका थिए । उनको किताब केही रंगीनमा छन्, त केही स्वेत ।
नेपालमा पाइने ६ सय ६० प्रजाति बारे नेपाली भन्दा उनी नै बढी जानकार छन् । लोपोन्मुख अवस्थामा रहेका विभिन्न जातिप्रजातिका पुतली तथा झ्याउँकिरी बारे अध्ययन गर्नै उनले जीवन लगाए । त्यसैको पुस्तक लेखे, फोटो खिचे ।
नेपाली हुन पाऊँ
नेपालमै रहँदा कोलिनको बावु र आमा दुबै बिते । त्यसपछि भने उनलाई झनै स्वदेश पर्किने रहर नै पलाएन । उनलाई पोखरा टेकेदेखि नै ‘नेपाली’ बन्ने इच्छा थियो । त्यसका लागि जिल्ला प्रशासन कार्यालयमा पटकपटक नदिएका पनि होइनन् । जुन कार्य अहिले पनि जारी छ । पटकपटक पोखराबाट सिफारिस भइसकेको नसुनेका पनि होइनन्, तर, गुमनाम हरायो त्यो खबर ।
उनले पहिलो पटक सन्् १९९०मा नागरिकताका लागि निवेदनद दिएका थिए । तर पछि के भयो त्यो निवेदन उनलाई नै थाहा छैन । उनलाई मात्रै होइन, प्रशासन र मन्त्रालयका कर्मचारीलाई समेत थाहा छैन, आखिर कुन कुनामा माकुरोका जाल या मुसाको आहारा बनेर बसेको छ उनले नेपाली नागरिकताका लागि दिएको सिफारिश ?
नागरिकताका लागि निवेदन दिँदा एकपटक जिल्ला प्रशासनका कर्मचारीले लाख घुस मागेका रहेछन् । ‘नागरिकता देऊ भनेर एप्लिकेसन दिँदा पनि पैसा दिनुस् न मिलाइदिन्छौं भने कस्ता मान्छे ?’ उनी प्रश्न गर्छन् । सबै कागजपत्र मिलाउँदा पनि बाजे आफूले नागरिकता नपाएको गुनासो गर्छन् ।
‘म क्रिस्चियन हुँ तर पनि म मरें भने मेरो लाश सेतीमा जलाइदिनू ।’
जीवनभर नेपालका लागि काम गरे । तर, जब उनलाई नेपालको आवश्यक पर्याे तब न सान्त्वना दिएको छ न त सहयोग नै । ‘बुढो भयो ज्यान राति निद्रा लाग्दैन । पटकपटक पिसाब फेर्न जानुपर्छ । राम्रोसँग हिड्न सकिदैंन,’ उनी दुखेसो पोख्छन् । मनले नेपाली भइसके पनि बैधानिक रुपमै नेपाली हुने मन छ उनलाई । त्यसैले बेलाबेला नागरिकता निवेदन दिन कार्यालयकार्यालय धाइरहेका छन् । नतिजा भने शून्य छ ।
नागरिकताकै लागि धाएको मात्रै ३० वर्षभन्दा बढी भयो । पछिल्लो समय उनलाई मैले जिल्ला प्रशासन कार्यालयमै भेटेको हुँ । हातमा पुरानो लठ्ठीको सहारामा लर्खराउँदै आएर नागरिकता कै बारे बुझ्न आएका रहेछन् ।
बाजेले बिहे पनि नेपाली ‘बज्यै’लाई नै गरे, २०६५ सालमा । तर, सँगै बस्दैनन् । बिहे दर्ता पनि छ । तर, कागजी बिहे मात्रै भएको हो । सारा जीवन नेपाली माटोको सुगन्धमा बिताएका उनै ‘कुइरे’ बाजेको अब एउटै रहर छ ‘नेपाली हुन पाऊँ’ । ‘नेपाली भएर मर्ने मन छ,’ स्मिथ भावुक हुँदै भन्छन्, ‘म क्रिस्चियन हुँ तर पनि म मरें भने मेरो लाश सेतीमा जलाइदिनू ।’
फाेटाे साभार – कृष्णमणि बराल÷अन्नपूर्णपाेस्ट पाेखरा
Comments
Post a Comment