मौसम-एउटा आफैसंग बार्तालाप

मौसम
@विकाश

मौसम । हामिले राखिदिएको एउटा नाम । मौसम । एउटा समयको नाम । मौसम । हाम्रो मष्तिष्क र विचार संग लुकामारी खेल्ने एउटा खेलाडीको नाम ।

म भावुक छु आफ्नो स्वभावले । आफैसंग रिसाउँछु र कुनो पसेर धेरै समय रोएको छु एक्लै - अकारण । म रुन र दुःखी हुन ठुला ठुला कुरा साना साना भैदिन्छन् । म छोईन्छु -  ससाना कुराबाट र रुन्छु।
आज आकाश धुम्म छ । निरस र निरास छ ।  यस्तो मौसम मलाई ननिको लाग्छ । म दुख्छु - निरस मौसमको चेहेराबाट । म साँच्चिकै भावुक बनिदिन्छु । रुन मन छ बेस्सरी । बेस्सरी । बेस्सरी । सायद म आफूले सोंचे भन्दा पनि बेस्सरी ।


कुरो सानो हो धेरै सानो ।  यो प्रकृतिको नियन हो एउटा ।  बद्लिने मौसम आफैमा बदलिरहन्छ । यो पोखरा शहरको मौसम नबदलिएको हप्तादिन बढी भो - जस्तो बर्षौं बद्लिएको छैन ।  हिडेको छैन । कुनै एक समयको चौतारामा बसेर निदाई बसेको छ । उठ्न अल्छि मान्दो छ ।

हुस्सु जस्तो केही चिज आँखाभरी । यस्तो मौसम दाङमा हुन्थ्यो ।  तराईमा हुन्थ्यो । स्कुलका ट्युसन जाने समयमा  - म निस्कन्थे अध्याँरो स्कुलको बाटो ।  जो टाढा थियो गाउँदेखि । हिडेर घण्टा बढी समय । मेरो एउटा साइकल थियो ।  कक्षा छ मा स्कूल प्रथम भए वापत पाएको एउटा उपहार  । म त्यही साईकललाई अंगालो हाल्थें र स्वार्थी पारामा बुईं चढेर छिचोल्थे अध्यारो कच्ची सडक । धेरै बर्ष साथि बन्यो साईकल ।  मलाई घर देखि उच्च शिक्षाको लागि शहरसम्म बिदाई गर्न आईपुग्यो र अन्त्यमा बा संग गाउँ फर्कियो ।  म शहरमा एक्लै भएं ।  न बा को आत्मियता मिल्छ न साईकलको बुईं चढे जस्तो आराम मिल्छ यो शहरको हरियो नगर बसको ठेलमठेलमा ।  बरु बदलामा तनाव मिल्छ थकान मिल्छ ।

म यो कुनै अमान्छे बस्ने जंगल जस्तो शहरमा एक्लो जस्तो छु । घरीघरी बदलाव भैजाने यो हुस्सु समयले मलाई बालापन पुर्याउँछ । मलाई उही गाउँको टिनले छाएको माटोको घरमा पुर्याउँछ । र समय एक्लै पठाउँछ मलाई यो सकस यथार्थमा घाईते बनाएर ।
मौसमको चुरीफुरी खुब छ अचेल  मन भहलाउन जाने कुनै ठाउँ पनि छैन ।  सबै ठाउँमा ओगेटेको छ यो हुस्सुले । लुकाएर उज्यालो आफ्नो खल्तीमा अँध्यारो पठाईदिन्छ मेरो कमजोर दैनिकीहरुमा । म कति दुखि हुन्छु ।  जान्दैन यो मौसम ।

म पुगेको छु उही सेवार खोला पत्रे खोला । जस्ले नुहाईदिन्थ्यो मेरो शरिर भिझाएर बालापन । अचेल त्यो पनि नेपथ्य छ । हराईगएको छ । कुनै लंगौटिया यार हराईगए जसरी यो उमेरबाट । आखिर सबैसबै छुटिजाने रहेछ । नछुट्ने - नमर्ने यो याद रहेछ । जो दुबो जसरी फैलिरहन्छ ।  प्रिय मित्र बिनय सरगमको कविता खुब सम्झिरहेको छु यतिबेला । अचेल दुबो झैं मौलिएको आफ्नै विगत सम्झनाहरुको तनावमा छु ।

यो शहरमा एकपटक मात्र खुशी लाग्छ  । केही नसम्झने होउन्जेल रक्सी पिउनू । पल्टिनु बाटोमा धुलाम्मे कोठामा फर्कनु । यो शहरमा एकपटक मात्र खुशी लाग्छ तर खुब बिरानो छ यो शहर । एक्लै न पिउन मजा छ न जिउन । संसारमा म सम्मान कविहरुलाई गर्छु । त्यसपछि जोगीहरुलाई गर्छु । त्यसपछि उच्च सम्मान म पागलहरुलाई गर्छु - निस्फिक्री बोलिदिन सक्छन् । हासिदिन सक्छन् । रोईदिन सक्छन् । तर म आफ्नै अहमको पासोमा बाँधिएको अपराधी जस्तो छु । न कराउन सक्छु । नरिसाउन सक्छु । न मनलाग्दो हासिदिन सक्छु । बस् आफुमा कुन्ठा पालेर चुपचाप बाँचेजस्तो गरिदिन्छु ।

कालो बादल जो आकाशलाई ढाकेको छ । मेरो हृदयको आकाशलाई पनि ढाकेको छ । म पनि दुखि छु । अब त म कसैसंग पनि रुन सक्दिन । मेरो आँशुको मोल शुन्य छ शुन्य ।

"कसैले उपहारमा दिएको उपहार जस्तो जिन्दगी
अब बाँच्नु छै मलाई कसगरी -
म निस्फिक्री समाउँछु आगोको हात
र राखिराख्छु आफुमा ।

जब तिम्रो नजरमा मुस्कान फुल्ने छ
त्यसबखत भैसकेको हुनेछु खरानी "

म कविता लेख्न सोंच्छु सक्दिन पुरा गर्न । जसैगरी पनि यो सोंच उही धमिलो आकाशमा गैजान्छ । उही कालो बादलमा गैजान्छ । म कविता लेख्न सोंच्छु सक्दिन पुरा गर्न । म लेख्दिन ।

धेरैपछि खोतल्छु आफ्नो पर्स । दुई रुपियाँ र केही कागजातहरु छन् । म उहिले लेखेको सुसाईड नोट फेरी पढ्छु । रहर त हो मन भन्छ - केही काँटछाँट हुनुपर्छ यो शब्दमा ।  तर म गर्दिन  - यस्तै हो सोंच मौसम अनुसार फरक फरक भैरहने । म चुपचाप पर्छ त्यस्कै ठाउँमा राख्छु ।

मौसमले निर्धारण गर्छ मेरो बाँच्ने तरिका । मौसम मुस्कुराउँदा म बिशाल हुन्छु  । मौसम अँध्यारो बस्दा म खुम्चिन्छु । मेरो हर्कतहरु पनि खुम्चिन्छन् । आगोमा परेर पोलिथिन खुम्चिए जसरी-कच्याककुचुक ।

*ओ आकाश
तिम्रो हत्केलामा छ मेरो आयूको धर्सा ।*

आज पनि मर्ने रहर जागेको छ । थाहा छैन म चुपचाप बोट्टल रक्सि खाएर बिस पिउन सक्छु । चक्कु छ नशा काट्न सक्छु । नजिक तेज नहर छ हाम फाल्न सक्छु ।  मर्ने उपाय धेरैछन् तर आँट छैन । सायद आँट आउँदो हो त............

Comments

Popular posts from this blog

‘भाडाका गर्लफ्रेन्ड’

कार्यकर्ता होइन, नागरिक भएर सोच्नुपर्छ – नत्र रैती भइन्छ !

आँखा र आँखा हस्पिटल