दशगजामा आँखा राखेर देशलाई नियाल्दा


दशगजामा आँखा राखेर देशलाई नियाल्दा

@बिकाश

- रहरहरु पनि कविता जस्ता लाग्छन् मलाई । प्रिय एकदम प्रिय ।   कविताले मनलाई छुन्छ। आँखालाई छुन्छ  । विचारलाई छुन्छ । रहरले आफ्नै रहरलाई छुन्छ । जसरी हो  छुन्छ छुन्छ । आखिर बाँच्न पनि कविता हो ।  सुखदुख यात्रा नियात्रा सबै कविताका सुन्दर सुन्दर हरफहरु ।

यसपटकको रहरले यात्रालाई छोयो । म हिड्ने भएँ पश्चिमाञ्चलको बस स्टेशनबाट सुन्दर सुदुरपश्चिम सम्म । महेन्द्रनगरको सदाबहार साहित्यिक मञ्चको खुल्ला गजल प्रतियोगितामा म थिएँ - कवितामा अतिथी बोलाईएको एउटा अराजक । मेरो अराजक यसपाली सुदुरपश्चिमले पनि भोग्यो । म कति स्वार्थी छु । आफ्ना रहरलाई शान्त पार्न शान्त कार्यक्रममा पनि हल्लाले महेफिल जगाउने  ।

पोखराबाट दुईबजे हुईक्किएको बस महेन्द्रनगरको बसपार्कमा अर्को दिन पुग्यो ठिक सात बजे अर्थात ठिक माघ आठ पंचमीमा  । शहरबजार र राजधानीमा ट्याक्सीले ओगटेको सडक ससाना बजार र नगरपालिकामा टुकटुके इलेक्ट्रिक रिक्साले लिन्छ ।  हामी चढ्यौं दंगाली गजलकारहरु संग चाँदनी दोधारा पुल हेर्न । यो यशियाकै दोश्रो लामो झोलुंगे पुल रहेछ । १४५३ मिटर लम्बाईको । महाकालीलाई जाँघमा राखेर उभिएको यो पुल सिमाना लफडाको एउटा प्रत्यक्षदर्शी पनि हो तर कस्ले सुनोस ? कसले बुझोस् ? यो कुरा । महाकाली आफैमा सुस्ताउँछ । आफैमा अस्ताउँछ ।


°°°°


बालुवामा लेख्यौँ "महाकाली" सुदर्शन भाई र म मिलेर । फोटो खिच्यौं । सोंचे - यो सुदुर पश्चिम नेपालको विकास र सिमा लफडा हल गर्छु भनेर राझधानीको हलमा कति नेताहरु गए होलान्  ? पठाईए होलान् ? ति हरु पनि आखिर बालुवामा लेखे जस्तै न हो - हावा, पानी, छाल या कसैको पैतलामा नै हराई जाने । बिलाई जाने । पोखरेली कवि तिर्थ श्रेष्ठको चर्चित कविता "हिउँमा लेखिएका नामहरू" पनि नसम्झिएको कहाँ हो र त्यो बगरमा उभिएर  ? घुमफिर पछि फर्कियौं कोठामा । रिक्सा चढेर ।  चालक दाजु भन्दैथिए - यो मेरो रिक्सा होईन बड्डाउ यो सुपर यसी बस हो मेरो लागि । लाग्न पनि लाग्यो  - जहाज चढे पनि रिक्साको मजा रिक्सा चढ्नु मै हुन्छ ।
शुक्लाफाँटा वन्यजन्तु आंरक्षण टाढाबाट हेर्यौं ।  नजर डुलायौं - बेलाबेलामा जंगली जनावर गाउँ पसेर सताउँदो रहेछ ।  महाकालीको बाढी जस्तै । भारतीय सिमा सुरक्षार्थ उभिएका सुरक्षाकर्मी जस्तै । 

नेपालीमा एउटा उखान छ - जहाँ पातलो त्यतै च्यातिन्छ लुगा । आफ्नै सरकारको नजर भन्दा पर उभिएको यो सुदुरपश्चिमले भोक्दै आएको पिडाको लेखाजोखा त को संग पो छ होला र ? इतिहास देखि नै भोग्दै आएको अनागरिक ब्यबहारको दुख अहिले नजिकको मित्र भैसकेको सुनाउँछन् सुदुरपश्चिमेलीहरु ।

कार्यक्रम समय एघार बजे । हामि समयमै पुगेका पनि छौं । नेपाली बानी हो । सुरु ढेड घण्टा ढिलो भयो । भव्य रह्यो ।  राजधानीको भूगोल र नक्सा भन्दा टाढा यसरी सयौं जनाको उपस्थितिमा कार्यक्रम भव्य रुपमा सफल पार्नु चानचुने कुरो थिएन । हाँसिमजाकको कुरो थिएन । बधाई छ - सुदुरपश्चिमलाई - विपिन बुक्सलाई - सदाबहार साहित्यलाई-यो आँटको लागि ।  यो प्रयासको लागि । यो सफलताको लागि  ।

साँझ अबेर सकिएको कार्यक्रम पछि टाढा बाटट आएका पाहुना गजलकारहरु फर्किने भए । तर सुदर्शन भाई र म त्यो दिन त्यतै बस्ने भयौं । सुदुरपश्चिमलाई नियालेर अझै अगाएको थिएन आँखा । त्यसरात हामी गजलकार गगन चुम्बनको मा बस्यौं । आधारातसम्म सुनेको उनको गजलले अझै हिर्काईरहेको छ टाउकोमा । मगजमा ।  सोंचमा । विचारमा ।

अर्कोदिन अर्थात माघ ९

आकाश खुलेको छ बिहानै देखि । आशा दिदी भन्नु हुन्छ - भाईहरु तिमीहरु आएर खुल्यो यो मौसम । हिजो र आज नै हो यता हुस्सु हटेर घाम लागेको  ।  हामी मख्ख नपर्ने कुरै थिएन । उसै त मान्छे मपाईत्वको भोगी हुन्छ ।  म पनि त मान्छे ठहरिएँ ।


°°°°°

नाम आशा साँकी पेशा सिभिल ईन्जिनियर । घर डडेल्धुरा तर यत्तिले पुग्दैन उहाँको परिचय । सुदूरपश्चिमबाट महिला क्रिकेटबाट राष्ट्रिय स्तर खेलिसकेको खेलाडी । विद्यार्थी । गजलको माध्यमबाट आफ्नो छुट्टै पहिचान बनाउनु भएका साहित्यकार । देश विदेश घुम्नु भएका यात्री । सबैसबै भन्दा पनि अपूर्ण हुन सक्छ परिचय । 

°°°°

हामी आशा दिदीहरुसंगै नेपाल भारत सिमाना पुग्ने भयौं । सुदर्शन भाई र शर्मिला दिदी सहित चारजनाको जोडी टुकटुके रिक्सा चढ्यौं  र हुईकियौँ - गड्डाचौकी तिर - यो महेन्द्रनगरबाट  अन्तिम सडक हो नेपालको लागि। अन्तिम भूगोल हो । अन्तिम आँगन हो ।

हामि नेपालको अन्तिम चेकपोष्टमा थियौं । माईती नेपाल र थ्री एन्जल्स नेपालमा कार्यरत कर्मचारीहरुले शंकाको हिसाबले हामिसंग सामान्य सोधपुछ पछि हामिलाई जान दिईयो  । र यो सोधपुछ हुन पनि जरुरी थियो । म त अपराधी थिईन भनौं हामि त अपराधी थिईनौं तर यसरी व्यक्तिगत जिन्दगी छेउँमा राखेर चेलीबेटीको सुरक्षार्थ अनवरत यसरी सीमावर्ती क्षेत्रमा तैनाथ ति दिदीबहिनीहरुलाई कोटीकोटी जेदो । लाखलाख प्रेम र सम्मान छ ।

नेपाललाई छोड्दैछौं भन्ने त थाहा थियो तर कुन ठाउँमा उभिएर नेपालतिर नजर लगाउँछु भन्ने कुराबाट म अनविज्ञ थिएँ  ।

@दशगजा

नाम नै डरलाग्दो छ यो ठाउँको करिब १२ बजेको आशपासमा थियौं । नेपालले मेरो भन्न नसकेको भारतले तेरो हो भन्न नचाहने यो भूगोल हेर्दामा मात्र पनि टिठलाग्दो छ ।  भनौं रुखहरु पनि दुख मनाऊँमा छन् कसैको हुन नपाएकोमा ।  पात झरेको कालाकाला रुखहरु दशगजा वरीपरी सुक्दैसुक्दै जाँदैछन् । दुख्ख छ । उसो त जंगल कसैको हुदैन । योत प्रकृतिको हुन्छ । र पनि यो क्षेत्रमा आईपुगे पछि रुखहरुको माया लागेर आउँछ  ।  अपनत्वको भोक छ यो ठाउँलाई । उजाड उजाड छ । एक्लो नितान्त एक्लो छ । बाटा भरी पानपराग र गुटखाका फोहोर । दाजुभाईको झगडापछि कसैको नभएको कुनै सम्पत्ति जग्गा जस्तो रहेछ दशगजा  ।  एकातिर नेपाली सुरक्षाबल र अर्को तिर भारतीय सुरक्षा टोली एसएसबी बीचको  एक्लो कालो निख्खर कालो रुखहरु भएको जमिन दशगजा रहेछ । म संचार माध्यम र पत्रपत्रिकामा छाईरहने दशगजामा उभिएको थिएँ ।
दशगजा पार गरेर हामि लाग्यौं बनबासा भारत तर्फ । महाकाली माथि बनेको निलो रंगको दुईतले लामोपुल भारतको रहेछ । ट्रेनको लिकको पुरानो निशाना हेरेरै भन्न सकिन्थ्यो - यहाँ केही बर्ष अघिसम्म ट्रेन कुद्ने थ्यो रहेछ । भारतिय झण्डा नजिक मेरा भारत महान लेखिएको ठाउँमा फोटो खिचेँ । भारतिय प्रहरीले बोलायो र सबै डिलिट गरिदियो - थाहा भयो यहाँ फोटो लिन मनाही रहेछ  छ ।

पुल माथि पनि पुल ।
माथिल्लो तलामा अफिसियल मान्छेमात्र जाँदा रहेछन् ।  हामि तल कै पुलबाट हिड्यौं भारतिय नम्बर प्लेटका रिक्सा र अन्य सवारी साधनबाट छेल्लिदै छेल्लिदै । पुल भयंकर ठुलो रहेछ । पुरै महाकाली वारपार गर्न सकिने । अझ भनौं शारदा नदी वारपार गर्न सकिने । पुलको माथिल्लो भाग भारतको जलमग्न । निलो पानी पौडूँ पौडूँ लाग्ने  । तर ठिक बिपरित नेपाल तर्फ हेर्यौं भने सुख्खा थियो ।  नदी पनि सुकेर खोला भएको थियो । बगर भएको थियो । खहरे जस्तै भएको थियो । आशा दिदीले निराश पारामा भन्नु भो - सधै यो यो ठाउँ यस्तै रहदैन । जब भारतको पानी बढी हुन्छ - बाँधहरु खोल्छ - महेन्द्रनगर जलमग्न हुन्छ  ।  खोला किनाराका गरिब बस्तीहरु उजाडिन्छन् । बकुल्लो चरा तैरिने यहाँ लाशहरु तेरिन्छन् बर्खा याममा । सरकारले बेच्यो हाम्रो नदीलाई । हामिलाई मार्न चाहान्छ हाम्रै सरकार । अनागरिक दोश्रो दर्जाको जस्तै छौं ।  टनकपुर लिपुलेक यी सुदुरपश्चिमका बढी चर्चामा आएका विवादास्पद भूमि  हुन् ।  महाकाली नदी लाई भारतमा शारदा नदीको नामले चिनिदो रहेछ बि.स. १९७७ मा शारदा सिंचाई आयोजना अन्तर्गत त्यतिबेला यो नेपालको बनबाशा भूभाग रु ५०००० मा बेचिएको कुरा ईतिहासकारहरु लेख्छन् । त्यतिबेला चन्द्र शम्सेर नेपालको तर्फबाट प्रधानमन्त्री थिए ।

शारदा नहर सिंचाई परियोजना केही समयका लागि भनिएर सम्झौता गरिएपनि हाल आएर नेपालको राजनैतिक अस्थिरताका कारण नेपालको गड्डाचौकी सम्म पनि भारतले आफ्नो हैकम जमाउँदो रहेछ ।  सीमा स्तम्ब सारिनु हराउनुका साथसाथै भारतमा श्रम गरेर आएका नेपालीहरु सीमामा लुटिनु सामान्य जस्तै भईसकेका रहेछन् । बेलाबेला मा एसएसबी नेपाली भूमिमा बाढी जस्तै निर्मम तरिकाले पस्दो रहेछ ।

पहिले नेपालको भूभाग पछि भाडामा भारत सरकारलाई जिम्मा र पछि चाबी संगै उसैको अस्तित्व । यो दुखको कुरा भारत र नेपालको सीमानामा घरखेत हुनेहरुलाई मात्र थाहा छ । सुतियो - उठ्न पाउने ठेगान छैन ।  उठ्यो भोली बिहान आफु कुन देशमा भईन्छ थाहा छैन । बाँके बर्दिया विरगंज दाङ सप्तरी कैलाली कञ्चनपुर सबै यस्तै दुखहरुबाट गुज्रिरहेकाछन् सदियौं देखि । नदी आफ्नो पानी आ-आफ्नो - चाबीताल्चा अरुको  यो पनि कहिं घर जस्तो घर हुन्छ ?

°°°°°

@बनबासा

बनबासा भारतको भूमी हो यहाँ नेपाली नोट चल्दैन ।  कसरी चलोस् ? नेपालकै भूमीमा त चल्न गाह्रो छ । हजार रुपियाँको नेपाल यहाँ छ सयको भाउमा कमसेकम चल्दोरहेछ । पानी किन्दा थाहा भो । चुरोटको बट्टा किन्दा थाहा भो । बनबासा सफा छ ।  यहाँबाट पनि नेपाल देखिन्छ । दशगजा देखिन्छ ।  आकाश एउटै हो । तर टेकेको जमिनको मालिक मात्र फरक ।
कहिलेकाहीँ छिमेकीको आँगनमा उभिएर पनि हेर्नु पर्दो रहेछ आफ्नो घरको चित्र ।
चाहेजत्ति नै टाढा म पुगूँ आँखामा त नेपाल नै रहेछ । मनमा नेपाल नै रहेछ । एकछिनका लागि खुल्ला सिमाना पार गरेर पन्ध्र मिनेट ढिलो घडीको सुईं चल्ने भूगोलमा पुगे पनि प्रेम जन्मभूमि कै रहेछ  मनमा । मैले नेपाल सम्झिएँ ।  आमालाई सम्झिएँ । आमा जस्तै सम्झिने रहस्यमयी प्रेमिकालाई सम्झिएँ ।
परदेश भूमीमा नेपाल नानीमा आएर बस्दो रहेछ दृश्यदृश्यमा देश प्रेम  । जय नेपाल । राजनैतिक चपेटामा कालो निलो भए पनि नेपाल आखिर नेपाल नै हो । आफ्नो त आफ्नै हुन्छ  । लाग्यो - राजधानीमा बसेर देशभक्ति गफ र भाषण हाँक्नु भन्दा मात्रै एकहप्ता सीमामा गएर मिचिएका स्तम्भ खोज्न सके या लुटिएका नेपालीहरुको सुखदुख सुन्न सके मात्र पनि नेपाल नेपाल भई बाँच्ने रहेछ । नत्र ईतिहासका पन्नामा बहादुर चिनिने नेपाल काँतरको पंक्तिमा नअटाउला भन्न नसकिने अवस्था पनि त रहेछ ।  हाय! कति प्रेम पूर्वक सम्झिए पनि मगज उही नेता प्रति थोत्रो विचार पलाइहाल्छ । मगज पनि अब उल्टो चल्न लागेछ ।
°°°°
घुमघाम सकियो ।  बस नम्बरको बस बसपार्कमा हाम्रै पर्खाईमा छ । देशभित्र पनि परदेश बाँचिरहेको यो सुदुर पश्चिमका मान्छेहरु भने धेरै अर्थमा मिजासिलाछन् । कृषि व्यापार वैदेशिक रोजगार यहाँको मुख्य आयश्रोत हो । भाषा एवं रहनसहनको विविधता सुदुरपश्चिमको गहना हो भन्दा फरक नपर्ला ।  यसका लागि सरकार र सम्बन्धित निकायको नजर पुग्न पनि झरुरी छ ।


थ्याङ्क्यू सुदुरपश्चिम   :) वि विल मिट अगेन । बाईबाई । 

Comments

Popular posts from this blog

‘भाडाका गर्लफ्रेन्ड’

कार्यकर्ता होइन, नागरिक भएर सोच्नुपर्छ – नत्र रैती भइन्छ !

आँखा र आँखा हस्पिटल