गन्थनमन्थन विद् माईसेल्फ यट् घाट

गन्थनमन्थन विद् माईसेल्फ यट् घाट 


                                                           @विकाश

          पहिलो चरणको प्रादेशिक चुनावको बिदा ।
बिहानै उठेर कलेज जानु नपर्ने । फुर्सदको समय छ । कोठा मै बसिरहन पनि मन भएन । कहि पुग्न हतार थिएन । खाना बिस्तारै खाएँ । ठुलो झोलामा ल्यापटप राखें । बिग्रिएको ठ्याक्कै बर्ष दिनभन्दा बढी भो । बनाउनु थियो – रुप्पे थिएन । र पनि बनाउन भनेर निस्किएँ । बजारमा गएँ – सामान भोलीपल्ट मात्र आईपुग्छ भन्यो मेन्टिनेन्सर ले । फर्किएँ उहि कोठातिर । तर यति छिट्टै फर्किनु पनि मन भएन । तर जाने कहाँ ? पोखरा लेखनाथ महा नगरपालिकाको कार्यलय अगाडि उभिएर यो सब सोंच्दो थिएँ । आँखा एउटा पसलमा पुग्यो । गएँ एक प्याकेट खुकुरी चुरोट र एक बोट्टल फ्रिजमा राखिएको पानी किनें। रुघाले ध्वस्त बनाएको शरिरसंग मतलव नै राखिन ।


सिधै हान्निएं रामघाटतिर ।
सेतीनदीको बहावले चिसो बतास देईरहेको थियो । यतिबेला आफ्नी प्रेमिकालाई सम्झिएँ । फोन गरें । ऊनि कतै जाँदै रहेछिन् । फोन राखेँ र बालुवामा थच्चक्क बसें ।

बगरको बालुवामा मानिसहरूका हजार पाईलाहरु थियो । थाहा छैन ति पाईलाहरु कहाँ सम्म पुग्न निस्किएका हुन् ?
आखिर कस्का होलान?
यसरी बगरमा अञ्जान छोडिएका बेवारिसे पाईलाहरु ?

खैर यो मेरो मतलवको कुरा थिएन । सायद कुनै कवि हुँदो हो त यिनै पैतलाका छापलाई पनि श्वास भरिदिन्थ्यो होला । टुकुटुकु हिड्न सिकाउँथ्यो होला । सजीव बनाएर सोध्थ्यो होला ? “मित्र तपाई जीवनतिर हिडेको कि मृत्यु तिर?” तर म कवि परिनँ । रहरले फोटो खिच्छु । आहा ! मन लोभ्याउने फोटो आएछ । फेशबुकको भित्तामा टाँसिदिएँ । मन आनन्द भो । यसर्थमा कि म बगरमा बालुवाहरु संग छु । धुलो संग छु । बग्दै गरेको पानी संग छु । बाँचिरहेको मृत्युसंग छु । मर्दै गरेको जीवन संग छु ।

आँखा अघि अजीव दृश्य देखिन्छ । एक कुनामा मुत्यु धुवाँ बालेर आगो ताप्दैछ । मान्छेहरूको रुवाई घतलाग्दो सुनिन्छ म पनि दुखें रुवाईमा । म पनि अझै ढुंगा नभई सकेको रहेछु । अलिअलि संवेदना म मा पनि बाँकी रहेछ ।
छेउमा अर्को पनि दृश्य छ । मान्छेहरु आफुले गरेको धार्मिक पुजाको पुष्पगुच्छाहरु सेलाउन आएका छन् । बाजागाजा र नाचगान छ । सबैको अनुहारमा मुस्कान देखिन्छ । सोंचे मान्छे को एकएक दैनिकी यही बगरले हेरिराख्दो रहेछ । र त हामि आउनु पर्ने यहीँ बगरमा रहेछ । स्वर्ग पनि यही। नरक पनि यही । देवता मान्छे । राक्षस पनि मान्छे । एकातिर लाशको शरिरको आगो र अर्कातिर मान्छेको हातको पुष्पगुच्छा बाजागाजा अशोभनीय लाग्यो ।

अलिक परतिर आँखा डुलाएँ एकजोडी प्रेमीप्रेमिका रहेछन् । हातमा हात समाएर गफ्फिदै थिए । हास्दै थिए । एकलेअर्कालाई कुट्कुट्याउदै थिए । तर मेरो मस्तिष्कले गलत सोच्यो – जोडिहरु त कुनै पार्कमा जानु पर्ने । कुनै क्याफेमा जानु पर्ने । कुनै जंगलमा जानु पर्ने । कुनै होटेलमा जानु पर्ने । जता जता गए पनि हुने आखिर किन आएछन् यो घाटमा जीवनको कुरा गर्न ?
मोबाईलको ब्याकग्राउण्डमा प्रिय गायक विपुल क्षेत्रीको खोला बग्यो सललल बजिरहेको छ । आवाज बाहिर आएकोले हावालाई डिस्टर्ब भएको ठानें । झोलाबाट इएरफोन झिकें । कानमा ठोसें र चर्को भोल्यूममा सुनें । अब कसैलाई डिस्टर्ब छैन । मलाई पनि छैन । कुनै कुराको डिस्टर्ब नभए पछि सोचलाई पनि कुनै कुराको डिस्टर्ब नहुँदो रहेछ ।
बगरमा मान्छेहरुको आउजाउ चलिरहन्छ । ट्रक मिनीट्रक बालुवा ओसार्दैछन् । म किनारमा बसेर यी सब हेर्दैछु ।
चिसो हावा चल्यो । वालुवा उडेर आँखामा पस्यो आँशु झर्यो । यसलाई रोएको भन्न मिल्दैन । तर हेर्दैछु । बगरमा जीवन फूल फुलाउनेका सन्तानको आँखामा पनि मेरो जस्तै पानी छ । के उनिहरुको आँखामा पनि बालुवा मात्र पसेको होला ?

कामदारहरु निधारमा थुन्से बोकेर बालुवा बोक्दैछन् । बेल्चा समाएर बालुवा चाल्नेहरु पनि छन् । लाग्यो – यि मान्छेहरु मान्छे नभएर स्वयम् दुखलाई जितेर जिन्दगी चालिरहेका / बोकिरहेका ईश्वरहरु हुन् । यी मान्छेहरु दैनिकी यही बित्छ । रात पनि यहीँ बित्छ । लाग्छ – यि मान्छेहरु आकाश ओड्छन् र धर्ती बिछ्याउछन् । रातमा जुनताराको उज्यालोले रात कटाउँछन् । र औंशीको दिन आआफ्ना सुखदुःखका ससाना सिन्काहरु बटुल्छन् र संसारलाई उज्यालो दिन्छन् । शहरको महलमा झुमर पठाउछन् । बाटाहरुलाई ल्याम्पोष्ट पठाउँछन् । सांच्चै कति धन्य छन् यी मान्छेहरु । शहर त आफ्नै अँध्यारो दैनिकीको उज्यालो भ्रममा बाँच्दोछन् ।







चिसो हावा चल्यो । वालुवा उडेर आँखामा पस्यो आँशु झर्यो । यसलाई रोएको भन्न मिल्दैन । तर हेर्दैछु । बगरमा जीवन फूल फुलाउनेका सन्तानको आँखामा पनि मेरो जस्तै पानी छ । के उनिहरुको आँखामा पनि बालुवा मात्र पसेको होला ?

नानीहरुको आँखामा सपना छैन । पेटमा भोक भने जरुर छ । म बुझ्छु । एउटा ख्याउटे बाबु मेरो नजिक आउँछ । र मिनरल वाटर राम्ररी नियाल्छ । तर केही बोल्दैन । म आफै बोलाउँछु । झोलामा बिस्कुट रहेछ । पानी संग खान दिन्छु । अब उस्को आंखामा आँशु छैन । तृप्त नजरले मलाई हेर्छ । म खुशि हुन्छ । अहो! कस्तो प्रिय खुशी । यो खुशी कुनै पनि सम्पत्तिले किन्न सकिदैन । म आज खुब धनी भएको छु । अब गरिब भएको बेला यही बगरमा आउनु पर्छ म यहाँ सित्तैमा खुशी मिल्छ । कुनै लगानी चाहिदैन ।

-बाबु तिम्रो नाम के हो? म सोध्छु तर ऊ केही बोल्दैन । खाली फिस्स हाँस्छ । म पनि हांसेर साथ दिएँ । कतै पढेको या सुनेको थिएँ । खुशी बाड्दा बढ्छ ।
सायद यो केटो बोल्न जान्दैन । बोल्न नसिकेको पनि हुन सक्छ । नेपाली नबुझ्ने पनि त हुन सक्छ। सायद यो बगरको आदिवासी भाषा मात्र जानेको हुन सक्छ । जस्तो यो सेतिनदीको सुस्साहत । बालुवाको चाल । ढुंगाको गड्याङगुडुङ । या बतासको चिसो सिरेटो मात्रै ?
– दाई अरु बिस्कुट छ? ऊ एक्कासी बोल्यो । यसरि बोल्यो कि म झस्किएँ । मेरो सोचाईमा बम खस्यो – तर्सिएछु । आफैलाई देखेर बिचरा भन्न मन लाग्यो । कति सानो कुरामा तर्सिएको हुँला है?
-छैन त । अघि नै खाईसके । बस् यत्ति भन्न सकें ।
-ए । ऊ यत्ति बोल्यो र खुर्रर दौडिएर पर पुग्यो फर्क्यो र मुसुक्क मुस्कुराएर भन्यो । “भरे पनि बिस्कुट लेईदिनू है ।”
थाहा छैन उसले कसलाई भरे भन्यो। सायद साँझलाई? भोलीलाई? पर्सिलाई? या आगामी म यहाँ आउने दिनहरुलाई ?

झोला बाट प्रिय कवि डा. निरज भट्टराईको धुवाँको धागो कविता संग्रह निकाले र पढ्न थाले । यो कृति मलाई मन पर्ने कविता संग्रहहरुमध्ये एक हो । यो किताब मैले मागेर फिर्ता दिएको छैन । चोर भएँ कविता कृतिको मामिलामा । प्रेमिका बुकहोलिक भएको फाईदा यो हुँदोरहेछ ।
म यहाँ आफ्नै पुरानो कविता सम्झिएँ जुन कविता यहीँ घाटमा बसेर लेखेको थिएँ ।

सोंच

म नदी किनारमा उभिएको छु-म संगै उभिएको छ मेरो छायाँ ।


छायाँ – जो खसेको छ नदीको तेज बहावमा ।लुछिरहेको छ धुम्मिल बाढीले ।ठोक्किरहेको छ ढुंगाहरूमा ।लत्रिरहेको छ-आफ्नै अस्तित्वको कमजोर हाँगाहरूमा ।

उस्लाई पनि त दुखेको हुनुपर्छ ।


र टुक्राटुक्रामा चोईटिएर पनिठिक सकुशल जस्तै उभिएको छ मेरो छायाँ ।


यतिबेला किनारमै उभिएर सोंच्दैछु कि –आखिर यो बगरमा खसेको आफ्नै छायाँलेखै कुन संकेत दिईरहेछ मलाई ?

आज पनि प्रिय लाग्यो यो कविता आफै वाचन गरें । आफै श्रोता बनें। आफै दर्शक बनें । आफैले आफैलाई ताली पड्काएर सहमति जनाएँ । कहिलेकाहिँ कोहि आफ्ना नहुदा आफै आफ्नो होइने रहेछ ।

उसो त म जीवनवादी हुं । जीवनलाई खुब प्रेम गर्छु । जीवनकै औंला समाएर हिड्न मन पर्छ यिनै जीवनका ससाना गल्लिहरुमा । मृत्यु नसोचेको पनि होईन । कुनैबेला डोरी समाएर बुईगल पनि उक्लिएकै हुं । सुसाईड नोट अझै पर्समा जीवित छ । तर जबजब पनि म बगरमा आईपुग्छु कसो कसो जिन्दगी प्यारो लागेर आउँछ । सायद आगो देखि खुब डर लाग्दो हो मलाई । यति चाँडै खरानी बनेर बिलाईजानु छैन ।

अब आखा दृश्यमा जान्छ – एक बुढी आमा निधारमा नाम्लोले बालुवा बोकिरहेकी छिन् । श्रीमान हुनुपर्छ सायद बालुवा चाल्दैछ । बेल्चाले बालुवा भरिदिदै छ आमाको थुन्सेमा । मंसिरको यो जाडोमा पनि टप्प टप्प चुहिरहेको छ पसिना । यो खोलाले कतिको पसिना निल्यो होला? कतिको जिन्दगी निल्यो होला? कतिको सन्तान निल्यो होला? कतिको सपना निल्यो होला ? कतिको यौनांग पुछ्यो र विर्य निल्यो होला ?

प्रिय मन ! जहाँ बाट अँध्यारो निस्कन्छ । ठिक त्यहाँ बाट उज्यालो प्रकाश पनि निस्कन्छ । म पनि अहिले यही घाटमा उभिएर उज्यालो अँध्यारो सोंचिरहेको छु । तपाई आफ्नो सोंचलाई मर्न नदिनुहोस् । किनभने त्यो अधिकार खोला बगर र किनारालाई मात्र छ । हामि त मान्छे हौं मान्छे । जिन्दगि लाई जिऊन निस्किएको यात्री । अब उठ्नु पर्छ बसेको ठाउँबाट हामि र टक्टक्याएर आफुमा लागेको धुलो । हिड्नु पर्छ । हिड्नु पर्छ । हिड्नु पर्छ । आखिर कुनै दिन फेरी आइपुग्ने त यही घाट हो ।

                                                     चियर्स जिन्दगी ।

Comments

Popular posts from this blog

‘भाडाका गर्लफ्रेन्ड’

कुची, क्यानभास, कला र उनीहरु

पर्खाइ