नेपाल एक्सप्रेस kavita

नेपाल एक्सप्रेस

@विकाश

धारामा चुहिरहेछ टप्प टप्प पानी
अब थाहा छैन कति बेला निस्कने हो रगतको छिटा ।
यस्तै त चल्दै छ अहिले समयको भित्ते घडी ।

बहूत शंकालु छ देशको कानुन
आमाहरूको सोंचलाई पनि कण्डम लाउन भन्छ ।
बोल्यो कि पिल्स चक्की निलिहाल् भन्छ ।

आँखा बन्द छ बुद्धको - ध्यानस्थ।
यशोधरा उठाउन खोज्दैछिन् बुद्धलाई ।
सुकरातको हेमलक बुद्धले पो पिएको हो कि  ? बडो शंका छ माया देवीलाई ।
हुन सक्छ आफुलाई यतैकतै शान्त ठाउँमा राखेर
हुन सक्छ बुद्ध कुनो पार्टीको झण्डा उचालेर चुनाव प्रचारप्रसारमा ।

ठिक यही समय
ईतिहासको पान्नामा बाघ बनेर बसेको जबरा बाजे
घरीघरी सपनामा आउँछन् र तर्साईरहन्छन् - निद्रालाई ।

बालक कलम झिक्छ झोला बाट
र केरमेर पारिरहन्छ होमवर्क कपीमा । कच्याककुच्चुक पारिरहन्छ - एकएकक पेजलाई ।
नेपथ्यमा उस्लाई पनि थाहा रहेछ - आफ्नै किर्रमिरे जीवनका हस्तरेखा ।

सडकमा हल्लिरहेको छ यही देशको एउटा नागरिक ।
उस्को बाटो पनि छैन । भूत पनि छैन । भविष्य पनि छैन ।
जसोतसो चल्दै गरेको बर्तमान पनि छैन ।

पाठशालाको ह्वाइट बोर्डमा ब्ल्याक मार्करले लेखिएको छ - फिलोसफी अफ इकोनोमिक्स ।
बिद्यार्थीहरु ज्ञानी एकदम ज्ञानी बनेर सुन्दैन् - प्रोफेसरको भाषण ।
र अन्तिम बेन्चमा बसेर एक हुल यूवाहरु गर्दैछन्
आफ्नै सहपाठी संग सहवासको परिकल्पना ।

नेताहरु यसी / हिटर बसमा चढेर जाँदैछन् राजधानी ।
राखेर जनताको सपना दाउमा खेल्दैछन् जुवा ।
एक्का गुलाम बादशाह मिस्सी....
हारे जनता जान्छन् जिते पनि जनतै जान्छन् - खाडीमा ।

विमानस्थल पर्खिरहेको छ नयाँनयाँ पासपोर्ट
अब उस्लाई अनुमान लगाउनु छ आउन सक्ने डेथबडीको संख्या ।
कर्मचारीको संख्या र बोनस रकमका सेता सेता सुगन्धित रकम ।

सबैसबै कुरा बाट अनविज्ञ बसेको छ गाउँ
अर्गानिक बादलको अर्गानिक धुँवाले मन्साउदैछ - प्रेत आँखालाई ।
र भनिबस्दैछ - कस्को चैं आँखा लागेछ हाम्रो गाउँ लाई ? शहरले हेर्दै हेर्दैन त ?

शहिद चौकबाट फरार छन् शहिदका मुर्तिहरु ।
सुनिन्छ राति नै खुत्ता पलायो - पासपोर्ट बनाउन हिडे ।
शालिकहरुले पनि देखेछन् सायद आफ्नो असुरक्षित भविष्य। 

ठिक त्रिशूलीको किनारैकिनार दौडिरहेको छ नेपाल एक्सप्रेस
ड्राइभर लाशको भोको छ । मृत्युको प्यासी छ ।
मुखमा माक्स छ - हामि सजिलै चिन्दैनौं ड्राईभरलाई?
आखिर चलाईरहेछ कस्ले यो नेपाल एक्सप्रेस  ?


गन्तव्य पुगिन्छ पुगिँदैन - हामिलाई पनि थाहा छैन ।
हे गौमाता हाम्रो रछ्छे अर । नेपाल एक्सप्रेस  । 

Comments

Popular posts from this blog

‘भाडाका गर्लफ्रेन्ड’

कुची, क्यानभास, कला र उनीहरु

पर्खाइ