जनयुद्ध संस्मरण २ : कलमभन्दा पहिले बन्दुक समायौं
६० को दशकसम्म पनि रोल्पाको जेलबाङमा कलम पुगेको थिएन । सानासाना नानीबाबुहरु सेतो खरी ढुंगा या अंगारले अक्षर सिक्थे । मैले पनि जीवनको पहिलो सुन्दर अक्षर कालो पाटीमै त सिकेको हुँ - क । त्यही एउटा क को पछि दौडेर पछि धेरै पछि अरु पनि सिकें - एबिसी, एक दुई तीन...... ००० जिल्ला सदरमुकामदेखि उति टाढा पनि थिएन हाम्रो गाउँ । हिँडेर जम्मै त्यही एक दिनको बाटो त थियो । जम्मा एकदिनको बाटो त गाउँलेका लागि उधुम नजिक थियो । नत्र त नुन तेल ल्याउन हप्तौं हिँडेर मधेश झर्नुपर्थ्यो । कमाउन जाने कालापार (भारत) त झन् कहाँ पो नजिक हुनु ? अभावको खाल्डोमा रुमलिरहेको गाउँ भए पनि सबैको आँखामा सपना बाँकी थियो । सपना बाँकी छउञ्जेल बाँच्ने चाहना पनि त हुँदो रहेछ । मेरी आमा पनि त्यही सपनालाई अंगालो हालेर त हामीलाई हुर्काइरहेकी थिइन् । घरमा थियौं-आबैसहित २ नाना म र बूढो बाजे । बा ५४ सालमै साउदी हिँडिसकेका थिए । टुकीको उज्यालोमा आमा खै के आफैंसँग गुनगुन गर्दथिन् । अहिले धुम्मिल धुम्मिल सम्झना आउँछ - आबै त्यतिबेला फगत गुनगुनाउँदोमात्र थिइनन् रहेछ । उनी त कालो पाटी हातमा लिएर कखरा र गुणन पढ्दै हुँदो रहेछिन् ...