अनिँदो भ्रम

Pic Source : Google विकास रोकामगर अचानक टाढा कतै मादल बजेको सानो आवाज सुनिन्छ । ‘यो मादल बजेको हो,’ गुञ्जिरहेको त्यो आवाज राम्ररी चिन्न नपाउँदै नजिक नजिक आउँछ । यसरी आउँछ कि मादलको त्यो धुन हिजो अस्तिमात्रै प्रिय लागेको अहिले कर्कश लाग्छ । बिल्कुल कर्कश । हातमा घडी हुँदैन । खातभन्दा अलिक मुन्तिर राखेको मोबाइलमा हेर्छु – स्क्रिनले रातको २ बजे देखाइरहेको हुन्छ । ००० निद्राले छपक्क छोपेको थियो । दिउँसै भन्न मिल्ने साँझको ५ बजे नै सुतें । त्यो भनेको महा अल्छिहरुको गतिलो उदाहरण थियो । जाँगरिलो मान्छेहरुको उदाहरण बन्न सकिनँ । तर ‘अल्छे’हरुको राम्रै उदाहरण भने पक्कै छु । निद्रा खुल्यो । निद्रा खुल्दा पेटमा भोकले लात्ता हिर्काइरहेको थियो – ड्यामड्याम.... । भोकको हिर्काइ कति गह्रौं हुन्छ भोग्नेलाई मात्रै थाहा हुन्छ । त्यसदिन घाइते भएँ । सुनसान थिएन, हल्ला थियो सबैतिर । अचम्म लाग्यो – आज किन मान्छेहरु बिहानै होहल्ला गर्दैछन् ? (साँझ नपर्दै सुतेर साँझ परेपछि ब्युँझेको बिहानै भएको ठानेको रहेछु । लाज त्यतिबेला लाग्यो जतिबेला मोबाइल हेरें । त्यहाँ साँझ ८ बजेको समय देखाइरहेथ्यो ।)...